२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुदूरपश्चिममा कतै गठबन्धन, कतै प्रतिस्पर्धा

८८ स्थानीय तहमा सोमबार मनोनयन दर्ता
उम्मेदवार तामझामसहित निर्वाचन कार्यालयमा
प्रदेश ब्युरो

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेस, एमाले, माओवादीसंँगै कांग्रेसको विद्रोही समूहका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन । कांग्रेसको विद्रोही समहूले एमालेसंँग सवै स्थानीय तहमा तालमेल गरेर उम्मेदवारी दिएको छ । ७ स्थानीय तह रहेको डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसको चुनाव चिह्नमा एमालेसँग तालमेल गरी सबै स्थानीय तहमा विद्रोही उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । डडेलधुरामा सत्ता गठबन्धनबीचतालमेल हुन सकेको थिएन ।

सुदूरपश्चिममा कतै गठबन्धन, कतै प्रतिस्पर्धा

आसन्न निर्वाचनमा अछामका १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । अछाममा मनोनयन दर्ता उल्लासपूर्ण वातावरणमा बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ता भएको हो । जिल्ला सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकामा अन्तिम अवस्थामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । जिल्लाका अन्य ७ तहमा भने कांग्रेसले नेकपा माओवादी केन्द्रसँग र एउटामा समाजवादीसँग तालमेल गर्दै नेकपा एमालेसँग प्रतिस्पर्धा गर्दैछन् ।

अछामका ४ वटा नगरपालिकामध्ये दुईमा महिला प्रमुखका लागि उम्मेदवारी दर्ता भएको छ । पञ्चदेवल विनायक नगरपालिकामा निवर्तमान उपप्रमुख अम्बिका चलाउनेलाई कांग्रेसले प्रमुखको उम्मेदवार बनाएको हो । त्यस्तै जिल्लाको प्रमुख व्यापारी केन्द्र साँफेबगर नगरपालिकामा एमालेले महिला नेतृ पशुपति कुँवरलाई प्रमुखको उम्मेदवार बनाएको हो ।

मनोनययको दोस्रो दिन बैतडीमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकृकीत समाजवादीलगायतका दलले मनोनयन दर्ता गराएका छन् । यस्तै केहि पालिकामा राप्रपा र जसपाले पनि मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा १० वटै पालिकामा एमाले, कांग्रेस, माओवादी केन्द्र र एकृकीत समाजवादीले प्रमुख, उपप्रमुखसँगै वडा अध्यक्ष र सदस्यहरूको उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा एमालेले टिकट नदिंदा सन्तोषप्रकाश जोशी स्वतन्त्रका उम्मेदवार बनेका थिए । यस्तै अन्य पालिकामा पनि केहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विस्तृत जानकारी आउन समय लाग्ने छ । बैतडीको सिगास–९ मा एमालेबाट वडा अध्यक्ष जितेकी लक्ष्मी चन्द सिगास गाउपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवका बैतडी सुर्नया इन्चार्ज माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा विप्लव सुमूहका सुर्नया इन्चार्ज अम्बा दत्त अवस्थी सोमबार पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी छाडेर आएका अवस्थीलाई माओवादी केन्द्रले वडा ६ को अध्यक्ष पदका लागि उम्मेदवार बनाएको माओवादी केन्द्रका सुर्नया गाउँकमिटि अध्यक्ष रामबहादुर विष्टले बताए ।

बैतडीका ३ वटा पालिकामा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् । डिलाशैनी गाउपालिका, दोगडाकेदार गाउपालिका र पञ्चेश्वर गाउँपालिकामा उनीहरूको गठबन्धन भएको छ । गत स्थानीय तहको चुनावमा एमालेले जितेका पालिकामा उनीहरूले गठबन्धन गरेका हुन् । अन्य पालिकामा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गरेका छन् । जिल्लाका कुनै पनि पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी परेको छैन । उपप्रमुखमा पनि गठबन्धनले महिलाको संख्या घटेको छ ।

दार्चुलामा स्वतन्त्रसहित विभिन्न दलबाट मनोनयन दर्ता गराएका छन् । गठबन्धन दलहरूले संयुक्त र एमालेको एकल दलका उम्मेदवारहरूले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् । केही स्थानीय तहमा गठबन्धन दलमध्येको समाजवादी पार्टी केही पदहरूमा उम्मेदवारी दिएको छ । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दार्चुलामा अधिकांश उम्मेदवारहरूले सोमबार मनोनयन गराएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सबै राजनीतिक दलहरूले उम्मेदवारी दिएका छन् । प्रमुख दलका उम्मेदवारहरू ढिलो गरि निर्वाचन अधिकृतको कार्यालयमा फुगेका कारण अबेर साँ सम्म मनोनयनको काम चलिरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार साँझ ५ वजेसम्म प्रमुखमा ३२ र उपप्रमुखमा १९ जनाको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाको प्रमुखमा साँझ ५ वजेसम्म प्रमुखमा १० र उपप्रमुखमा ९ जनाको उम्मेदवारी दर्त्ता भएको छ । यसैगरि समाजबादीका तर्फबाट प्रमुखमा राजेन्द्र पाण्डेय र उप्रमुखमा माओवादीबाट कृष्ण जोशी बोक्सर पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । कञ्चनपुरमा माओवादी र समाजवादीले गठबन्धन गरेका छन् । जसअनुसार भीमदत्तमा प्रमुख समाजवादी र उपप्रमुख माओवादीले पाएको छ ।

प्रमुख दलका उम्मेदवारहरू ढिलो गरि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका कारण उम्मेदवारी दर्त्तामा ढिलाइ भएको हो । जिल्लाका अन्य पालिकामा पनि अहिले उम्मेदवारी दर्त्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेसबिरुद्ध अन्य दल भिड्दै

डोटीको केआईसिंह गाउँपालिकामा कांग्रेसबिरुद्ध अन्य दल उभिएका छन् । माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाले संयुक्त प्यानल खडा गरी वडाध्यक्ष देखि अध्यक्ष उपाध्यक्षमा भागवण्डा गरेर उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएपनि स्थानीय स्तरका नेताहरूवीच कांग्रेसबिरुद्ध निर्वाचनमा जाने रणनैतीक सहमती भएको एकिकृत समाजवादीका एक नेताले बताए ।

सत्तारुढ दलहरूबीच गठबन्धन गर्ने सहमती हुन नसकेपछि मुख्य तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस र नेकपा एमालेले जिल्लाका ९ वटै स्थानीय तहमा एक्ला/एक्लै उम्मेदवारी दिएका छन् भने एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने संयुक्त प्यानल खडा गरेका छन् । हिजो नै राष्ट्रिय जनमोर्चाले दुई नगरपालिकाहरूमा नगरप्रमुखमा मनोनयन दर्ता गराइसकेको छ ।

कैलालीका १३ स्थानीय तहमा गठबन्धन

कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा सत्ता गठबन्धनका तीन दलले मेयर र उप–मयेरमा मिलेर उम्मेदवारी दर्ता गराएको छ । सहमति जुटाउन नसकेको वडामा भने उनीहरू मित्रगत प्रतिस्पर्धामा उत्रेका छन ।

धनगढी उपमहानगरपालिको प्रमुखमा कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन । उनी निवर्तमान नगर प्रमुख हुन् । उप मेयरमा माओवादी केन्द्रकी शान्ती अधिकारीले उम्मेदवारी दर्ता गराएका छन । सहमति जुट्न नसकेको १९ वटा वडामा तीन दलले मित्रगत प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन् । धनगढी उपमहानगरसहित १३ स्थानीय तहमा कांग्रेसले ७ , माओवादीले ४ र समाजवादीले २ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । समाजवादीले घोडाघोडी दडक रावत नगरपालिकामा मेयर र चुरे गाउँपालिकामा लोकबहादुर सारुमगरले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । उपमेयरमा गोदावरीमा रत्ना कठायतले उम्मेदवारी दर्ता गराए ।

विपक्षी एमाले १३ वटै स्थानीय तहका सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । धनगढी उपमहानगरमा रणबहादुर चन्द मेयरमा र उपमेयरमा नन्दकला राना उम्मेदवार बनाएको छ ।

कैलाली जिल्लामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि केही स्थानीय तहका प्रमुख उपपमुख पदसहित वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । उन्मुक्ति पार्टी सबैभन्दा बढी प्रभाव क्षेत्र मानिएको जानकी गाउँपलिकामा कान्तिपुरका पूर्वपत्रकार गणेश चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

बाजुरामा उम्मेदवार छनोटकै किचलो

बाजुरामा सबैजसो प्रमुख राजनीतिक दलहरूमा अन्तिम समयसम्म उम्मेदवार छनोटको किचलो चलिरह्यो । दलहरूले सोमबार निर्धारित समय ५ बजेपछि मात्रै उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दिने समय दुई दिन तोकेको निर्वाचन आयोगले सोमबार पाँच बजेभित्र कार्यालय हातामा प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्था गरेको थियो । विभिन्न पालिकास्थित निर्वाचन कार्यालयमा राति ८ बजेसम्म पनि उम्मेदवारहरू दर्ता प्रक्रियामै रहेका थिए । उम्मेदवारी दर्ताको समय घर्किने बेलासम्म सबै दल वडा तहमा उम्मेदवार छनोट गर्न नसकेर अल्झिएका थिए । अन्तिम समयसम्म पनि विभिन्न ठाउँमा उम्मेदवारको नामावली फेरबदल भइरहेको थियो ।

अर्कोतिर उम्मेदवार चयनका क्रममा आफ्नै दलको किचलोमा फसेको पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र अन्य दलबीच अधिकांश ठाउँमा कुरा मिल्न सकेन । दुईवटा पालिकामा भने आंशिक तालमेल भएको छ । स्वामीकार्तिक गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तालमेल भएको छ । सो पालिकामा अध्यक्ष एकीकृत समाजवादीले लिएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ । यस्तै, जगन्नाथ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । त्यस पालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पद भागबन्डा गरेको छ । ४ नगरपालिका र ५ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको यस जिल्लामा विभिन्न दलबाट गरी नगरप्रमुख पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उप प्रमुख पदमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ५ वटा गाउँपालिकामा विभिन्न दलबाट ११ जनाले अध्यक्ष पदमा र ११ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

डीआर पन्त (डडेलधुरा), मोहन बुडाऐर (धनगढी), अर्जुन शाह (बाजुरा), भवानी भट्ट (कञ्चनपुर), मोहन शाही (डोटी), तृप्ति शाही (बैतडी), मेनुका ढुंगाना (अछाम) र मनोज बडु (दार्चुला)

प्रकाशित : वैशाख १३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?