१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाजागाजासहित अबेरसम्म मनोनयन

हेटौंडा उपमहानगर प्रमुखमा १७ जनाको उम्मेदवारी 
रामेछापमा गठबन्धन भत्कियो
नुवाकोटमा एकीकृत समाजवादी एउटा वडामा सीमित
प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तह निर्वाचनमा वाग्मती प्रदेशका केही जिल्लामा सत्तापक्षीय गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिएका छन् भने केहीमा बागी उम्मेदवारी परेको छ । नुवाकोटमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन गर्ने सहमति भए पनि ४  वडा एकीकृत समाजवादीले दाबी गरेपछि अन्तिममा एक वडामा सीमित भएको छ ।

बाजागाजासहित अबेरसम्म मनोनयन

मकवानपुरमा सत्तारूढ गठबन्धन र एमालेले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनीहरू दलबल र बाजागाजासहित पुगेका थिए । मकवानपुरका १० वटै स्थानीय तहमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राप्रपाले उम्मेदवारी दर्ता गराए ।

हेटौंडा उपमहानगर प्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) बाट मीना लामा र उपप्रमुखमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दिएका छन् । एमालेबाट प्रमुखमा अनन्त पौडेल र उपप्रखुममा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनले केही वडाबाहेक सवै स्थानमा दलगत रूपमा भागबन्डा गरी एउटै चुनाव चिह्नमा उम्मेदवारी दर्ता गराएको छ । एमालेले राप्रपा नेपालसँग सहकार्य गर्दै उम्मेदवार दर्ता गराएको छ । राप्रपाबाट दीपक सिंहले प्रमुखमा उम्मेदवारी दिएका छन् । थाहा नगरपालिकामा चार जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका विष्णु विष्ट र उपप्रमुखमा कांग्रेसका भरत गोपालीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट प्रमुखमा अच्युतम ढकाल र उपप्रमुखमा कल्पना बलामीले उम्मेदवारी दिएका छन् ।

रामेछापमा भने गठबन्धन भत्किएको छ । कांग्रेसले एक्लै उम्मेदवारी दिँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् । कांग्रेसबाट मन्थली नगर प्रमुखमा विनोद कार्की र उपप्रमुखमा यशोदा श्रेष्ठ, रामेछाप नगरप्रमुखमा लबश्री न्यौपाने र उपप्रमुखमा बालकुमारी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट खाँडादेवी र सुनापति गाउँपालिकामा आइतबार नै उम्मेदवारी दर्ता गरिएको थियो ।

एमालेबाट मन्थली नगर प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा ईश्वरी बस्नेत र रामेछाप नगरप्रमुखमा रोशन पाख्रिन र उपप्रमुखमा सीता खत्रीले उम्मेदवारी दिएका छन् । मन्थली नगरप्रमुखमा माओवादी केन्द्रका दीपक प्रसार्इं र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापा, रामेछाप नगरप्रमुखमा माओवादीका नरेशबाबु श्रेष्ठ र उपप्रमुखमा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले उम्मेदवारी दिएका छन् ।

सिन्धुली सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा गठबन्धनबाट प्रमुखमा कांग्रेसका उपेन्द्रकुमार पोख्रेल र उपप्रमुखमा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुखमा महेन्द्रदेव श्रेष्ठ र उपप्रमुखमा मञ्जु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट प्रमुखमा मुकुन्द गजुरेलको उम्मेदवारी दर्ता भएको छ । दुधौली नगरपालिकामा गठबन्धनबाट प्रमुखमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार र उपप्रमुखमा कांग्रेसका चन्द्रकिशोर थारूको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुखमा लक्ष्मण कार्की र उपप्रमुखमा बालकुमारी अधिकारी दनुवारले उम्मेदवारी दिए ।

दोलखाका नौ स्थानीय तहमध्ये ४ कांग्रेस, ३ माओवादी र २ नेकपा एकीकृत समाजवादीले भागबन्डा गरेका थिए । कांग्रेसको भागमा परेको भीमेश्वर नगरपालिकामा ईश्वर मानन्धरले प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी संगीता पाख्रिनले मनोनयन दर्ता गराइन् । जिरी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका लाक्पा शेर्पा प्रमुख र उपप्रमुखमा माओवादीका तेजबहादुर गोलेले मनोनयन गराएका छन् । वैत्यश्वरमा गठबन्धनबाटै नेपाली कांग्रेसका छवि लामाको उम्मेदवारी परेको छ । कालिञ्चोक प्रमुखमा कांग्रेसका अर्जुन शिवाकोटी र उपप्रमुखमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

नुवाकोटको विदुर नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रको गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुखमा राजनलाल श्रेष्ठ र उपप्रमुखमा प्रभा बोगटीले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयर बोगटी स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी हुन् । एमालेले विदुर नगरप्रमुखमा सञ्जु पण्डितलाई दोहोर्‍याएको छ । माओवादी केन्द्रले बेलकोटगढी नगरपालिकामा जगत तामाङ र उपप्रमुखमा शिव दाहालले उम्मेदवारी दर्ता गराएको कांग्रेस सचिव श्रीराम श्रेष्ठले बताए । नुवाकोटमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन गर्ने सहमति थियो । कांग्रेससँग विदुर नगरपालिकामा ४ वटा वडा एकीकृत समाजवादीले दाबी गरेपछि अन्तिममा एक वडामा सीमित भएको थियो ।

रमेशकुमार पौडेल (चितवन), नगेन्द्र अधिकारी (काभ्रे), सुवास विडारी (मकवानपुर), राजकुमार कार्की (सिन्धुली), केदार शिवाकोटी (दोलखा), टीकाप्रसाद भट्ट (रामेछाप) र कृष्ण थापा (नुवाकोट)

प्रकाशित : वैशाख १३, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?