कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महानगर प्रमुखमा १५५, उपप्रमुखमा ८० उम्मेदवार

प्रदेश ब्युरो

काठमाडौँ — स्थानीय तह निर्वाचनअन्तर्गत देशका ६ वटै महानगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवारले उत्साहका साथ प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदमा सोमबार मनोनयन दर्ता गराएका छन् ।

महानगर प्रमुखमा १५५, उपप्रमुखमा ८० उम्मेदवार

उम्मेदवारहरू बाजागाजा र नाराबाजीसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए । महानगर प्रमुखमा १ सय ५५ जना र उपप्रमुखमा ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबै महानगरमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै छ तर महिला उम्मेदवार न्यून छन् ।

काठमाडौं महानगर प्रमुखमा ५६ उम्मेदवार
काठमाडौं महानगरपालिकाको प्रमुख पदमा राजनीतिक दल र स्वतन्त्र गरी ५६ जनाले र उपप्रमुखमा ३१ उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृहमा सोमबार भएको उम्मेदवारी दर्तामा महानगर प्रमुखका दाबेदार ५६ जना पुगेका निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।

सत्तारूढ गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना श्रेष्ठ र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, एमालेबाट प्रमुखमा केशव स्थापित र उपमेयरमा पूर्वमिस नेवाः सुनीता डंगोलले उम्मेदवारी दिएका छन् ।

राप्रपाले प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनीता मगैयालाई उम्मेदवार बनाएको छ । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा समीक्षा बाँस्कोटाले उम्मेदवारी दर्ता गरेकी छन् । त्यस्तै, उपप्रमुख पदका लागि कीर्ति तुलाधरको उम्मेदवारी दर्ता भएको छ । बालेन शाह, राजन कार्कीसहित ३५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको प्रमुख पदका उम्मेदवार स्थापितले ०५४ सालमा महानगरपालिका प्रमुख भएर काम गरेको अनुभवलाई कार्यान्वयन गर्ने बताएका छन् । उनले काठमाडौंका जनताले भोग्नुपरेको महँगीप्रति व्यंग्य गर्दै पिसाब फेर्न पनि पैसा तिर्नुपर्ने बाध्यता हटाउने योजना आफूसँग भएको बताए । ‘कविले कविता लेखेर पेट पाल्ने, संगीतकारले संगीत भरेर, गायकले गीत गाएर बाँच्ने अधिकार सुनिश्चित गर्ने, कामअनुसारको माम पाउने वातावरण सिर्जना गर्छु,’ उनले भने, ‘हरेक नागरिकले आफ्नो क्षमता प्रदर्शन गरेर बाँच्न पाउने अवस्था सिर्जना गर्छु ।’ मनोनयन दर्तापछि पत्रकारले यौन दुर्व्यवहार आरोपका बारेमा गरेको प्रश्नमा उनले आरोप लगाउने महिलालाई ‘पागल’ को संज्ञा दिएका थिए ।

सत्ता गठबन्धनकी उम्मेदवार श्रेष्ठले विद्यार्थीबाट राजनीति सुरु गरेकी हुन् । उनी महिला संघ काठमाडौंकी सल्लाहकारसमेत हुन् । पछिल्लो समय उनी सक्रिय राजनीतिबाट ओझेलमा थिइन् । ‘काठमाडौं नेपालको राजधानी हो, यो नेपालको मुटु हो, एउटा ऐतिहासिक सहर हो,’ उनले भनिन्, ‘यसलाई अब नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा समेत थप चिनाउनुपर्नेछ । हामी महिलाले जसरी घर सफा राख्छौं, आगामी पाँच वर्षमा काठमाडौंलाई पनि त्यसैगरी सफा र स्वच्छ पार्ने योजनासहित अगाडि आएकी छु । मेरो सम्पूर्ण ध्यान यो सहरलाई सफा र सुरक्षित बनाउनेमा केन्द्रित हुनेछ ।’ आफ्नो उम्मेदवारीले काठमाडौंका महिलामा उत्साह छाएको उनले दाबी गरिन् । ‘म लोकतन्त्र र प्रजातन्त्रका लागि जीवनभर संघर्ष गरेर आएको परिवारको एउटा सदस्य हुँ, गणेशमान र मंगलादेवीकी बुहारी, प्रकाशमानकी श्रीमती हुँ,’ उनले भनिन्, ‘तर प्रकाशमानलाई चिन्नुभन्दा अघि म आफैंले पनि प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेको छु ।’

एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी पूर्वमिस नेवाः सुनीताका ८ बुँदे चुनावी योजना छन् । २०११ मा मिस नेवाः को ताज पहिरिएकी ३० वर्षीया सुनीताले परिवारमै पहिलो पटक राजनीतिक नेतृत्वमा उम्मेदवार बनेको बताइन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिभन्दा बाहिर छ । उनले एमालेबाट उपप्रमुखमा सिफारिस हुनुअघि स्वतन्त्र रूपमा प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । ‘एमाले पार्टीले युवाको भावना समेट्ने बाचा गरेपछि यही पार्टीबाट चुनाव लड्न तयार भएकी हुँ,’ उनले भनिन्, ‘यसअघि पार्टीसँग मेरो कुनै चिनजान थिएन ।’ उनले महानगरपालिकाको समृद्धिमा जोड दिएकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल, युवा खेलकुद, रोजगार तथा उद्यमशीलता र अध्ययन–अनुसन्धानमा जोड दिने उनका चुनावी एजेन्डा हुन् । सत्ता गठबन्धनका तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारको विषयमा जोड दिएका छन् । काठमाडौंलाई फोहोरमुक्त बनाउनेदेखि सरकारी विद्यालयलाई गुणस्तर बनाउने उनका योजना छन् । त्यस्तै महानगरपालिकाभित्र गरिब जनता पनि भएको बताउँदै उनीहरूका लागि रोजगारीलक्षित कार्यक्रम ल्याउने उनले सुनाए ।

ललितपुरमा फेरि महर्जन र व्यञ्जनकार आमनेसामने
ललितपुर महानगरको प्रमुख पदका लागि फेरि चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकार आमनेसामने हुने भएका छन् । महर्जन र व्यञ्जनकारसहित महानगर प्रमुखमा १४ र उपप्रमुखमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले पाँच वर्षपछि पुनः महर्जनलाई नै अघि सारेको हो । प्रमुखका लागि कांग्रेसबाट महर्जनसहित महानगर कार्यसमिति सभापति शुभानन धाख्वा, उपप्रमुख गीता सत्याल, प्रेमकृष्ण महर्जन, भरतलाल न्याछो, राजेश महर्जन र चन्द्र महर्जनको नाम सिफारिस भएको थियो । अन्ततः चिरीबाबु नै सत्तारूढ गठबन्धन दलबाट साझा उम्मेदवार बने । सोमबार दिउँसो जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गराएका छन् ।

उपप्रमुखमा भने गठबन्धनबाट माओवादी केन्द्रका बाबुराजा वज्राचार्य उम्मेदवार बनेका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकारले प्रमुख र आस्था शाक्य (मन्जली) ले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा २४ हजार ६ सय ४२ मत पाएका महर्जनले व्यञ्जनकारलाई ३ सय ३६ मतान्तरले पराजित गरेका थिए । महर्जनले ५ वर्षे कार्यकालमा आफूले राम्रो काम गरेकाले पुनः टिकट पाएको दाबी गरे । व्यञ्जनकारले भने २०७४ को निर्वाचनमा धाँधली गरेर हराइएको दाबी गरेका छन् । आफू चुनिए शिक्षा, स्वास्थ्य तथा पूर्वाधारको विकास गरी समृद्धि महानगर बनाउने उनले बताए ।

ललितपुर पार्टी सभापति जितेन्द्र महर्जनले सुरुमा प्रेमकृष्ण महर्जनलाई अघि सारेका थिए । तर, दुई पटक उपप्रमुखमा हार बेहोरिसकेकाले प्रेमकृष्णलाई पार्टीले टिकट नदिएको कांग्रेसनिकट स्रोत बताउँछ । प्रदेश कमिटीले पूर्वसांसद चन्द्र महर्जनको नाम पनि सिफारिस गरेको थियो । तर २९ वटै वडा समितिले त्यसको चर्को विरोध गरे । त्यसपछि चिरीबाबुले अवसर पाएको कांग्रेसका एक जिल्ला नेताले बताए । ललितपुरको कांग्रेसमा मदनलाल अमात्य र उदयशमशेर राणाबीच चर्को प्रतिस्पर्धा छ । पूर्वसांसद अमात्य चिरीबाबुको पक्षमा खुलेर लागेका थिए भने राणा कुनै पनि हालतमा दोहोर्‍याउन नदिने पक्षमा थिए । आफ्नो कार्यकालमा राम्रो काम गरेको, जनताले रुचाएको र अधुरो काम पूरा गर्ने अपेक्षा व्यक्त गरेकाले उनलाई पुनः दोहोर्‍याइएको एक थरीको विश्लेषण छ । तर, जिल्ला सभापति जितेन्द्र भने सिफारिस भएका सबै मेयर बन्न लायक भए पनि बाँकी काम पूरा गर्न पार्टीले चिरीबाबुलाई टिकट दिएको बताउँछन् ।

वडामा भने कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छैन । एकीकृत समाजवादीले वडा २, ३, १५, १९, २४ र २५ मा उम्मेदवारी दिएको छ । समाजवादीका जिल्ला सभापति हरिकृष्ण थापाले महालक्ष्मी नगरपालिका प्रमुख र गोदावरी नगरपालिका उपप्रमुख दिने सहमति भएकाले ललितपुर महानगरमा उम्मेदवारी नदिएको बताए ।

भरतपुरको प्रमुखमा ३०, उपप्रमुखमा १३ जनाको उम्मेदवारी
चितवनको भरतपुर महानगरपालिकामा सोमबार सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनसहित अन्य दल र स्वतन्त्र उम्मेदवारले तामझामसाथ मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खासै भीड थिएन । अन्तिम दिन सोमबार भने साँझ अबेरसम्म पनि मनोनयन दर्ताका लागि कार्यालय परिसरमा भीडभाड थियो ।

भरतपुरमा कांग्रेस–माओवादी र एमाले–राप्रपा तालमेल भएको छ । प्रमुखमा एमालेका विजय सुवेदी र उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता तथा कांग्रेस नेता जगन्नाथ पौडेलले प्रमुख पदमै स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेल कांग्रेसको झन्डा र चुनाव चिह्न बोकेर बाजागाजा र जुलुससहित उम्मेदवारी दर्ता गर्न गएका थिए । सत्तारूढ गठबन्धनले प्रमुखमा माओवादीकी रेनु दाहाललाई उम्मेदवार बनाएपछि चितवन कांग्रेसभित्र असन्तुष्टि तीव्र छ । असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले उम्मेदवारी दिएका हुन् । उनी ०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा कांग्रेसबाट विजयी भएका थिए । ०६० सालमा राष्ट्रिय सभामा मनोनीत भएका पौडेलको उम्मेदवारी दर्ता गर्दा पार्टीका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासमेत साथमा थिए । पौडेलको उम्मेदवारी दर्ता भएलगत्तै गठबन्धनबाट प्रमुखमा दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी बाजागाजासहित जुलुस लिएर निर्वाचन कार्यालय पुगेका थिए ।

राप्रपा नेपालका उम्मेदवार लक्ष्मण अधिकारीले प्रमुख पदमा मनोनयन दर्ता गरेर भ्याउँदा साँझको सवा ७ भएको थियो । अधिकारीको दर्तासँगै प्रमुख–उपप्रमुख पदको उम्मेदवारी दर्ता सकिए पनि अन्य पदको बाँकी नै थियो । भरतपुरमा प्रमुखमा ३० र उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १६ जना दलका र अन्य स्वतन्त्र उम्मेदवार छन् । उपमेयरमा नौ जना दलबाट र चार जना स्वतन्त्र छन् । प्रमुखमा महिला उम्मेदवार एक जनामात्रै छिन् । उपप्रमुखमा नौ महिला उम्मेदवार छन् । तालमेलका बारेमा दलहरूबीच लामो समय छलफल चल्दा र समयमा निर्णय हुन नसक्दा बेला घर्केपछि उम्मेदवारी दर्ता गर्न भीड लागेको हो । ‘हामी एमालेसँग तालमेल गर्ने सोचले

मध्याह्नसम्म छलफलमा बस्यौं, त्यहाँ कुरा नमिलेपछि एकल उम्मेदवारी दर्ता गर्न आउँदा अबेला भयो,’ राप्रपा नेपालका उम्मेदवार लक्ष्मण अधिकारीले भने । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले वडाका पदहरूको मनोनयन ढिला मात्रै सकिने बताए ।

पोखरा महानगरः शक्ति प्रदर्शनसहित उम्मेदवारी
मनोनयन दर्ताको पहिलो दिन पोखरा महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर सुनसानजस्तै भए पनि सोमबार भने उल्लासमय भयो । साना दल र केही स्वतन्त्र उम्मेदवारले आइतबार मनोनयन दर्ता गरे पनि ठूला दलले सोमबार मात्रै उम्मेदवारी दिए । एकैपल्ट मुख्य दलका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मनोनयन दर्ता गर्न पुग्दा निर्वाचन अधिकृतको कार्यालयमा ठेलमठेल भएको थियो । पोखरा महानगर प्रमुखमा २६ र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार रातिसम्म एमालेका तर्फबाट प्रमुखमा पार्टीका गण्डकी प्रदेश सदस्य दीपक पौडेलले उम्मेदवारी दिने तयारी थियो । उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरे पनि उनले अनिच्छा व्यक्त गरेकी थिइन् । सोमबार बिहानैदेखि प्रमुखको उम्मेदवारमा केन्द्रीय सदस्य एवं बहालवाला प्रदेश सांसद कृष्णबहादुर थापाको नाम एकाएक चर्चामा आयो । गुरुङ पनि उपप्रमुख लड्न राजी भइन् । थापाले सोमबार प्रदेश सांसदबाट राजीनामा बुझाए । गुरुङले तीन दिनअघि नै राजीनामा बुझाएको सोमबार मात्रै खुल्यो ।

दुवै उम्मेदवारले सोमबार मनोनयन दर्ता गराए । उम्मेदवारी दर्ता गर्न थापा र गुरुङ बाजागाजासहित पुगेका थिए । प्रमुखका उम्मेदवार थापा २४ वर्षअघि नै तत्कालीन पोखरा उपमहानगरको प्रमुख भइसकेका हुन् । उनी एमालेका पूर्वजिल्ला अध्यक्ष पनि हुन् । मनोनयन दर्ता गर्दै उनले फेरि एकपल्ट महानगर सम्हाल्ने अवसर आएको बताए । उनले केही वर्षअघि जातीय विभेदको अभियोगमा हिरासतमा रहेकालाई बिनासर्त रिहा गर्न विज्ञप्ति निकालेपछि व्यापक आलोचना भएको थियो । पोखरा–१६ बाटुलेचौरमा दलित समुदायलाई सार्वजनिक स्थलमा बनेको किरियापुत्री भवन स्थानीय क्षेत्री समुदायले प्रयोग गर्न नदिएको घटनामा उनले क्षेत्री समुदायको पक्षपोषण हुने गरी ०७७ वैशाख २४ मा विज्ञप्ति निकालेका थिए ।

गठबन्धनका तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्यले कांग्रेस र माओवादीका नेतालाई दायाँबायाँ राखेर मनोनयन दर्ता गराए । उनी पुगेको केही बेरमा उपप्रमुख उम्मेदवार कांग्रेसकी कोपिला रानाभाट पुगिन् । कांग्रेसले दिउँसो १ बजेसम्म उपप्रमुखमा सुरेन्द्रमान बिजुक्छेलाई उम्मेदवार तोके पनि पछि परिवर्तन गरेको थियो । कांग्रेसले केन्द्रबाटै बिजुक्छेलाई पाखा लगाउँदै रानाभाटलाई अघि सारेको हो । आचार्यले पोखराको समुन्नति र आमपोखरेलीको अपेक्षाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अनेरास्ववियुबाट राजनीतिमा आएका उनी पछिल्लो समय प्रकाशन गृह, जलविद्युत्लगायत व्यवसायमा आबद्ध छन् । उनी एकीकृत समाजवादीको जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य छन् । कांग्रेस र माओवादीले पोखराको मेयरमा समाजवादीलाई समर्थन जनाए पनि जिल्लामा कांग्रेस कार्यकर्तामाझ चर्को असन्तुष्टि छ । महानगरका वडामा भने कांग्रेस, माओवादी, जसपाले आ–आफ्नै उम्मेदवार उठाएका छन् ।

राप्रपाले प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेललाई उम्मेदवार बनाएको छ । खराल विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष हुन् । विवेकशील साझा पार्टीले गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य सुशीला केसी अधिकारीलाई प्रमुख र केन्द्रीय सदस्य माधव भण्डारीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । यसअघि आइतबार अटेरी समूहका खडकराज पौडेल (गनेस) ले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पोखरामा चन्द समूहले पनि प्रमुखमा किसानसिंह गुरुङ र उपप्रमुखमा सोममाया विकलाई स्वतन्त्र रूपमा उम्मेदवार उठाएको छ ।

विराटनगरको प्रमुखमा नयाँ अनुहार
विराटनगर महानगरको प्रमुखमा राप्रपाबाहेक दलबाट नयाँ अनुहारले उम्मेदवारी दिएका छन् । महानगर प्रमुखमा ११ र उपप्रमुखमा १० जनाले मनोनयन दर्ता गराएका छन् । गठबन्धन दलबाट प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । कोइराला कांग्रेस मोरङका उपसभापति हुन् भने यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रले विधि विज्ञानमा स्नातकोत्तर गरेपछि पार्टीको युवा फोरमबाट राजनीति सुरू गरेका थिए । उनी आईक्यापका युथ विङ्सका अध्यक्ष भएर डब्लूएचएको सभामा प्रतिनिधित्व गरिसकेका छन् ।

कोइरालाले विराटनगरवासीले चाहेको विराटनगर बनाउन शिक्षा, स्वास्थ्य, स्वच्छता, पूर्वाधार, उद्योगलगायतका क्षेत्रको विकास गर्नुका साथै करको दर घटाएर दायरा बढाउने र भ्रष्टाचारमुक्त विराटनगर बनाउने चुनावी एजेन्डा अघि सारेका हुन् । पार्टीमा निकै रस्साकसीबीच सोमबार टिकट पाएका उनले पार्टीभित्र सबैलाई मिलाएर चुनावी अभियान सुरु गर्ने बताए । उनले भने, ‘निर्वाचित भएँ भने समुन्नत, समृद्ध, शान्त, सुखी र सन्तुष्ट विराटनगर बनाउने उद्देश्य पूरा गर्छु ।’ उपप्रमुखका उम्मेदवार यादवले औद्योगिक नगरी सफा, स्वच्छ, बस्नयोग्य विराटनगर बनाउनुका साथै मेडिकल र शैक्षिक उद्योगका रूपमा विकास गर्ने चुनावी एजेन्डा अघि सारेका हुन् ।

महानगर प्रमुखमा एमालेबाट सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमालेका महानगर कमिटी अध्यक्ष र कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । थापाले समृद्ध महानगर निर्माणका लागि विराटनगरलाई शिक्षा र मेडिकलको हब, डुबान र सुकुम्बासीमुक्त बनाउनुका साथै करको दर घटाउने, प्रदेश १ राजधानीका लागि आवश्यक पूर्वाधार विकास गर्ने चुनावी एजेन्डा अघि सारेका छन् । कार्कीले महानगरका महिलालाई शैक्षिक र आर्थिक रूपमा सक्षमता प्रदान गरी समानताको संवैधानिक अधिकार कार्यान्वयन गर्ने चुनावी एजेन्डा अघि सारिन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रमुखमा मृत्युञ्जय झा र उपप्रमुखमा सहनाज खातुन, राप्रपाबाट प्रमुखमा प्रह्लाद साह र उपप्रमुखमा बबिता आचार्य, नेपाली कांग्रेस (बीपी) बाट प्रमुखमा रामचन्द्र गौतम र उपप्रमुखमा माया ओझाले मनोनयन दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले स्वतन्त्रबाट विराटनगर महानगरको प्रमुखमा आइतबारै उम्मेदवारी दर्ता गराइसकेका छन् । यादवले महानगरवासीको मनोभावनाअनुकूल शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास, डुबान, सुकुम्बासी समस्याको समाधानका साथै औद्योगिक नगरीको शाख जोगाएर उद्योगमा महानगरलाई पहिलो स्थानमा ल्याउने एजेन्डा अघि सारेका छन् ।

वीरगन्जमा १८ जनाको दाबी
वीरगन्ज महानगरपालिकाको प्रमुखका लागि १३ स्वतन्त्रसहित १८ र उपप्रमुखमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनबाट प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् । एमालेबाट प्रमुखमा विजय सराबगी र लोसपाबाट उपप्रमुखमा पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी राप्रपाबाट प्रमुखमा पत्रकार तथा लेखक गिरीश गिरी र उपप्रमुखमा बिना देवीको उम्मेदवारी दर्ता भएको छ । जसपाको उम्मेदवारी दर्ताका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमेत मुख्य निर्वाचन कार्यालयको मुख्य गेटसम्म पुगेका थिए ।

नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार र नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि उम्मेदवारी दर्ता भएको छ । प्रमुखका लागि स्वतन्त्रबाट प्रभात सिंह, जमिलराय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमदसगिर अली, फिरोज आलम, महमद रियाज उल हक, सञ्जीवकुमार यादव, विक्कीराज पटेल, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह र राजेश सिंहले पनि उम्मेदवारी दिएका छन् । उपप्रमुखमा लोसपाकी महिला नेतृ रम्भा सिंहले बागी उम्मेदवारी दिएकी छन् । एमाले र लोसपाको गठबन्धन भएपछि महिलाले स्थान नपाएको भन्दै सिंहले स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दिएकी हुन् । प्रमुख र उपप्रमुखमा गठबन्धन भए पनि वडाहरूमा हुन सकेन ।

प्रमुख–उपप्रमुखमा को को ?

काठमाडौं महानगरपालिका
प्रमुख
सिर्जना श्रेष्ठ, (गठबन्धन–कांग्रेस) केशव स्थापित (एमाले), मदनदास श्रेष्ठ (राप्रपा), समीक्षा बाँस्कोटा (विवेकशील साझा), सुरेशरत्न वज्राचार्य (आधुनिक नेपाल समाजवादी), सरिता घिमिरे (नेपाल जनता), सीता तामाङ (मंगोल नेसनल), आनन्दराज जोशी (राष्ट्रिय यथार्थवादी), रामबहादुर खड्का (नेपाल समावेशी), मनोजराज आचार्य (मौलिक जरोकिलो), डिल्लीराम राजभण्डारी (सचेत नेपाली पार्टी), सुरज श्रेष्ठ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), रुपा सुवाल (आमूल परिवर्तन मसिहा), भक्तराज भुसाल (नेका बीपी), दानिन्द्र जोशी (लोसपा), विजयप्रकाश सैंजू (नेपा राष्ट्रिय), सुरेन्द्र महर्जन (नेमकिपा), काजीलाल श्रेष्ठ (नेकपा समाजवादी), पियरत्न महर्जन (परिवार दल), प्रेमसागर कर्माचार्य (उन्नत लोकतन्त्र), निश्चल जोशी (नेपाली जनता दल), वालेन्द्र साह, ज्ञानु लामा तामाङ, सुमन सायमी, अमोट महर्जन, विपीनराज वैद्य, राजन कार्की, रविकान्त मानन्धर, सूर्य थापा, जेठा महर्जन, स्वइट थापा, न्हुज मानन्धर, सुशील थापा क्षेत्री, दीपक सिलवाल, बच्पनराज श्रेष्ठ, शैलेन्द्रमान श्रेष्ठ, विजय मानन्धर, किरण रञ्जित, निमकान्त पाण्डे, मधुसूदन खड्का केसी, सन्देश शाक्य, सुरेन्द्र वज्राचार्य, सुनील श्रेष्ठ, इन्द्रमणि कपाली, रञ्जितमान शाक्य, राहुल मानन्धर, कान्ति तुलाधर वज्राचार्य, उमेशकुमार सिंह, विनय स्थापित, रोशन शाही, शैलेश ढुंगाना, मनीष श्रेष्ठ, प्रणेशबहादुर मल्ल, बाबुराजा संगत, महेन्द्र प्रजापति, राजेन्द्र बस्नेत (स्वतन्त्र)

उपप्रमुख
सुनीता डंगोल (एमाले), रामेश्वर श्रेष्ठ (गठबन्धन, एकीकृत समाजवादी), विनीता मगैया (राप्रपा), कीर्ति कंसाकार (विवेकशील साझा), गुणबहादुर बन्जारा क्षेत्री (आधुनिक नेपाल समाजवादी), उदय खड्गी (लोकतान्त्रिक समाजवादी), इन्दिरा अधिकारी थापा (नेका बीपी), पुष्पा खरेल (नेपाल सुशासन), कल्पना ओझा (मौलिक जरोकिलो), सविता श्रेष्ठ (नेमकिपा), संगीता आचार्य (सचेत नेपाली), बन्दना वज्राचार्य (नेपाली जनता दल), विश्वविजय श्रेष्ठ, विद्या श्रेष्ठ महर्जन, कृष्ण तण्डुकार, आशिष महर्जन, जुगल तण्डुकार, सहेम खड्गी, रवि नापित, मोहनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, आशिषचन्द्र तुलाधर, नरेन्द्रमान डंगोल, रञ्जन डंगोल, बेन्जी सिंह महर्जन, रिङ्कु श्रेष्ठ, उमा गुरूङ, सानु महर्जन, राजेश शाही, रमेशप्रसाद जोशी, अम्बरबहादुर खत्री (स्वतन्त्र)

विराटनगर महानगरपालिका
प्रमुख
नागेश कोइराला (गठबन्धन, कांग्रेस), सागर थापा (एमाले), प्रह्लाद साह, (राप्रपा), रामचन्द्र्र गौतम (नेका बीपी), डा. नागेश्वर सिंह राजपुत (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), महेश निरौला (परिवार दल), अरूणकुमार मण्डल (राष्ट्रिय जनमत), टंकप्रसाद गौतम (राष्ट्रिय जनमोर्चा), मृत्युञ्जयकुमार मिश्र (लोसपा), देवी पौडेल (नेकपा), अमलेशकुमार कर्ण (विवेकशील साझा), उमेशकुमार यादव, सक्रिय गौतम, केमुना ओडारी (स्वतन्त्र)

उपप्रमुख
अमरेन्द्रकुमार यादव (गठबन्धन जसपा), शिल्पा निराला कार्की (एमाले), बिन्दा लुइँटेल आचार्य (राप्रपा), माया ओझा (नेका बीपी), दीपा पोखरेल (परिवार दल), सहनाज खातुन (लोसपा), श्रृजु पराजुली (विवेकशील साझा), बसुन्धरा ओझा, उद्धवप्रसाद कोइराला, नमिता न्यौपाने (स्वतन्त्र)

ललितपुर महानगरपालिका
प्रमुख
चिरीबाबु महर्जन (गठबन्धन कांग्रेस), हरिकृष्ण व्यञ्जनकार (एमाले), अष्टबहादुर महर्जन (राप्रपा), अशोक महर्जन (नेमकिपा), मोहनराज शाक्य (नेकपा माले), राम महर्जन (मंगोल नेसनल), वासुदेव अमात्य (जनमत पार्टी), राजेन्द्र थापामगर, सुरेश महर्जन, सरिना लाखे जोशी (स्वतन्त्र)

उपप्रमुख
बाबुराज वज्राचार्य (गठबन्धन माओवादी), आस्था शाक्य (एमाले), सपना महर्जन (आमूल परिवर्तन मसिहा), सपना श्रेष्ठ (मौलिक जरोकिलो), स्वर्णिमा शाक्य (राप्रपा), उज्ज्वलकृष्ण श्रेष्ठ (विवेकशील साझा), ममिता श्रेष्‍ठ (नेमकिपा), सरमिस्ता श्रेष्ठ (नेकपा माले), खेमप्रसाद श्रेष्ठ (मंगोल नेसनल), कुसुम वज्राचार्य (जनमत पार्टी), सनि कपुर महर्जन (राजपा), जानकी प्रधान (नेपाल सुशासन), रत्न व्यञ्जनकार, सुबिनकुमार शाक्य, राजन खड्का, अजरमान जोशी, वसन्त खड्का (स्वतन्त्र)

वीरगन्ज महानगरपालिका
प्रमुख
राजेशमान सिंह (गठबन्धन जसपा), विजय सराबगी (एमाले), गिरीश गिरी (राप्रपा), विजयकुमार रौनियार (नेसपा), गोकर्णप्रसाद कोइरी (नेमकिपा), प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्रप्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्कीराज पटेल, सञ्जीवकुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह, राजेश सिंह, रोज मियाँ अन्सारी (स्वतन्त्र)

उपप्रमुख
इम्तियाज आलम (गठबन्धन कांग्रेस), पुरूषोत्तमलाल झा (लोसपा), बिना देवी (राप्रपा), रम्भा सिंह (स्वतन्त्र)

भरतपुर महानगरपालिका
प्रमुख
विजय सुवेदी (एमाले), रेनु दाहाल (गठबन्धन माओवादी), गणेश गिरी (लोसपा), प्रवीन काफ्ले (विवेकशील साझा), भक्तिराम पौडेल शर्मा (राजमो), हरिप्रसाद दुवाल (नेमकिपा), सूर्यप्रसाद रेग्मी (नेकपा माले), ज्ञानबहादुर गुरूङ (राजपा), टेकबहादुर पुनमगर (मंगोल नेसनल), पूर्णबहादुर गुरूङ (राष्ट्रिय नागरिक), सञ्जयकुमार ठाकुर (जनमत पार्टी), विनोदकुमार गिरी (मौलिक जरोकिलो), लक्ष्मण अधिकारी (राप्रपा नेपाल), दीपेन्द्र बाँस्तोला (उन्नत लोकतन्त्र), सुरेन्द्र परियार (नेकपा माओवादी समाजवादी), खेम प्रसाईं (सामाजिक एकता), रूद्रप्रसाद सापकोटा, उद्धव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, डोगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, यामकान्त शर्मा कँडेल, हरिश्चन्द्र घिमिरे (स्वतन्त्र)

उपप्रमुख
चित्रसेन अधिकारी (गठबन्धन कांग्रेस), पुष्पा सापकोटा (विवेकशील साझा), हिमला गुरूङ (राप्रपा), देवी शर्मा (राजमो), इन्दिरा शर्मा गौली (नेकपा माले), मीना मगर (राजपा), सुष्मा तामाङ (मंगोल नेसनल), कल्पना थापा (राप्रपा नेपाल), कौशिला खत्री (नेकपा माओवादी समाजवादी), रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ, भोजराज कौडाल (स्वतन्त्र)

पोखरा महानगरपालिका
प्रमुख
कृष्णबहादुर थापा (एमाले), धनराज आचार्य (गठबन्धन–नेकपा एस), शंकर खराल (राप्रपा), गोविन्द गुरूङ (राप्रपा नेपाल), भोजराज खनाल (सचेत नेपाली), प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल), सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो), मुक्तिनाथ सुवेदी (नेपाली जनता), मुना बानिया (आमूल परिवर्तन मसिहा), आशिष थापा (उन्नत लोकतन्त्र), भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी), शरणसिंह मोक्तान (पुरूष जनमत), रनबहादुर दमै (देशभक्त समाज), रोशनी बानिया (नेपालका लागि नेपाली), गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी), खडकराज पौडेल गनेश, विमलबहादुर कार्की, डिलबहादुर गुरूङ, नवराज बाँस्तोला, किसानसिंह गुरूङ, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषिराम सापकोटा (स्वतन्त्र)

उपप्रमुख
मञ्जुदेवी गुरूङ (एमाले), कोपिला रानाभाट (गठबन्धन–कांग्रेस), रञ्जनाकुमारी सेन पौडेल (राप्रपा), शीतला थापा (नेकपा समाजवादी), रामबहादुर तामाङ (मंगोल नेसनल), चिना दवाडी (राप्रपा नेपाल), पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा), इन्द्र सुनार (नेकपा माओवादी समाजवादी), सोममाया विक (स्वतन्त्र)

मधु शाही (काठमाडौं), प्रशान्त माली (ललितपुर), रमेशकुमार पौडेल (चितवन), दीपक परियार (पोखरा), देवनारायण साह (विराटनगर) र भूषण यादब (वीरगन्ज)

प्रकाशित : वैशाख १३, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?