कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीके राउतको पार्टीद्वारा डेढ सय पालिकामा उम्मेदवारी

सन्तोष सिंह

धनुषा — सीके राउत नेतृत्वको जनमत पार्टीले मुलुकभरका १ सय ५० भन्दा बढी पालिकामा उम्मेदवारी दिएको जनाएको छ । मधेस प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहसँगै बाँके, बर्दिया, कञ्चनपुर, नवलपरासी, चितवन, उदयपुर, झापालगायतमा समेत उम्मेदवारी दिइएको पार्टीले जनाएको छ । 

सीके राउतको पार्टीद्वारा डेढ सय पालिकामा उम्मेदवारी

‘१२ सयभन्दा बढी वडामा उम्मेदवारी परेको छ तर विवरण पूरै आइसकेको छैन,’ जनमत पार्टी सचिवालय प्रमुख राजेशकुमार मण्डलले भने ।

पार्टी अध्यक्ष राउतले झापादेखि बर्दियासम्म डेढ सय पालिकामा उम्मेदवारी दर्ता गराएको बताए । उनले गठबन्धन र अन्य दलले उम्मेदवारी दर्ताकै क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगका कर्मचारी मूकदर्शक बनेको आरोप लगाए । धनुषाको सबैला नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका बीपी साहले ग्रामीण क्षेत्रका मतदाताले आफ्नो पार्टीलाई पुरानो पार्टीको विकल्पका रूपमा लिएको दाबी गरे ।

‘हामीले उठाएको किसानको समस्या र स्थानीय तहमा जनप्रतिनिधिले गरेको भ्रष्टाचारविरुद्ध आन्दोलनले ग्रामीण क्षेत्रमा सकारात्मक छाप परेको छ,’ उनले भने, ‘मतदाताको झुकाव हामीतिर बढेपछि अन्य पार्टीले भ्रम फैलाउने चुनौती छ ।’

पुराना दलहरू डर, त्रास देखाएर मतदाता प्रभावित पार्न सक्रिय भएको आरोप पनि उनले लगाए । उनले निर्वाचन कार्यालयमाथि पनि टिप्पणी गर्दै भने, ‘हाम्रा उम्मेदवारको कागजातमा कैफियत देखाउने निर्वाचन अधिकृतले अन्यको मनोनयनपत्र अध्ययन नगरी दर्ता गरेको देखियो ।’

प्रकाशित : वैशाख १३, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?