उम्मेदवारी दर्तामै शक्ति प्रदर्शन  - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवारी दर्तामै शक्ति प्रदर्शन  

ठाकुरसिंह थारु

नेपालगंज —  गठबन्धन दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले) ले आफ्नो उपस्थिती बलियो देखाउन उम्मेदवारी दर्ताकै क्रममा शक्ति प्रदर्शन गरेका छन् । दुबै पक्षले बाजागाजासहित सकेसम्म बढी कार्यकर्ता सडकमा उतार्ने प्रयास गरेका छन् ।

गठबन्धन दल मध्येको जसपाले सोमबार दिउँसो साढे दुईबजेसम्म उम्मेदवारी दर्ता गराएको थियो । त्यसलगत्तै एमालेले कार्यकर्ता सडकमा उतारेर नाराबाजीसहित उम्मेदबारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको छ ।

एमालेले पशुपति दयाल मिश्रालाई प्रमुख र उपप्रमुखमा शान्ति ढकालको उम्मेदावारी दर्ता गराएको छ । एमालेको उम्मेदवारी जुलुसको पछिपछि कांग्रेसले पनि सयौं कार्यकर्तासहित उम्मेदवारीका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । उम्मेदवारी दर्ताका लागि दलहरुले सयौं कार्यकर्ता सडकमा उतारेपछि नेपालगन्ज कोहलपुर फोरलेन सडकको ट्र्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । भिडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे भइरहेको छ ।

प्रकाशित : वैशाख १२, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले बाँकेले दुई पालिकाको प्रमुखमा मधेसी महिलालाई उम्मेदवार बनाउने

ठाकुरसिंह थारु

नेपालगन्ज — नेकपा (एमाले) बाँकेले आठ पालिकामध्ये दुई पालिकामा मधेसी महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । उसले आठ वटै पालिकाको प्रमुख र उप्रमुखको उम्मेदवारी टुंगो लगाउँदै मधेसी महिलालाई उम्मेदवार बन्ने अवसर दिएको हो ।

मधेसी र मुस्लिम बहुल क्षेत्र नरैनापुर गाउँपालिकाको प्रमुखमा पदमावती यादव र उप्रमुखमा रामकुमार दिक्षितलाई उम्मेदवार बनाइएको छ । त्यस्तै मधेसी बहुल डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र उपप्रमुखमा शकिल खानलाई उम्मेदवारी दिएको छ ।

नरैनापुरमा जनता समाजबादी र डुडुवा कांग्रेसले यसअघिको निर्वाचनमा विजय भएका थिए ।

यसअघि नेपालगन्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्रालाई प्रमुख र शान्ति ढकाललाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । कोहलपुर नगरपालिकामा खिलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिका प्रमुखमा घननाथ खनाल, उपप्रमुखमा प्रेमपुर्ण योगी, जानकी गाउँपालिकाको प्रमुखमा हिमन्सु यादव र उपप्रमुखमा भुमिसरा धिताल, खजुरा गाउँपालिकाको प्रमुखमा सुमन मल्ल र उपप्रमुखमा नजिरा बेगम र राप्ती सोनारी गाउँपालिकाको प्रमुखमा रामदास थारु र उपप्रमुखमा चमेली वाकवललाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिस निरौलाले सबै जातजाती, समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवारी दिएको बताए ।


प्रकाशित : वैशाख ११, २०७९ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×