जसपाको जोड कम खर्चिलो चुनाव

मधु शाही

काठमाडौँ — वैकल्पिक राजनीतिक पार्टीको दाबी गर्दै आएको जनता समाजवादी पार्टीले स्थानीय तहको चुनावी घोषणापत्रमा खासै नयाँ आधार देखाउन सकेको छैन । अरू पार्टीका घोषणापत्रको तुलनामा कम खर्चिलो चुनावमा भने जोड दिएको छ । 

जसपाको जोड कम खर्चिलो चुनाव

जसपाले राजधानीमा आइतबार एक कार्यक्रम गरी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रको पहिलो खण्डमा पार्टीको नीतिगत सिद्धान्तको व्याख्या गरिएको छ भने दोस्रो खण्डमा स्थानीय तहका योजना तथा कार्यक्रम समेटिएको छ । भौतिक पूर्वाधार विकासअन्तर्गत पालिका केन्द्र, वडा जोड्ने लिंक रोड बनाउने, खानेपानीमा दुई सयसम्मको बिल निःशुल्क गरिने, सिँचाइमा जोड दिने, सहरीकरण, आर्थिक करिडोर र भूउपयोगका कार्यक्रम छन् । त्यस्तै, जसपाले एक पालिका एक मोडल स्कुलको अवधारणा अघि सारेको छ । हरेक पालिकाको केन्द्रमा कम्तीमा विशेषज्ञ सेवासहितको स्वास्थ्य संस्था खोलिने घोषणापत्रमा उल्लेख छ । जसपाले प्रत्येक महानगरपालिकामा कम्तीमा दुईवटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने उल्लेख गरेको छ । किसानले बर्सेनि भोगिरहेको मलको समस्या समाधान गर्ने र माटोको अवस्था सुधार्न स्वदेशमै भर्मी कम्पोस्ट, हरियो मल र बायो फर्टिलाइजर उत्पादन प्रयोगमा जोड दिने उल्लेख छ । ‘नागरिक हितलाई केन्द्रित गर्दै दुर्गम क्षेत्रमा आवश्यक परेको खण्डमा जनताको घरदैलोमा पुगेर सरकारी सेवा प्रदान गरिनेछ,’ जसपाले भनेको छ । अधिकांश जनता दुर्गम क्षेत्रमा भएकाले उनीहरूको सेवालाई ध्यान दिँदै जनताको घरदैलो पुग्ने विषयलाई जसपाले मूल आधार बनाएको पार्टीका वरिष्ठ नेता अशोक राईले बताए । त्यस्तै, घर–घरमा सोलार सिस्टम जडानदेखि लिएर गर्भवती महिलालाई स्वास्थ्य तथा यातायात सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था हुने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा महिला हिंसाको अन्त्यका लागि ‘फास्ट ट्र्याक महिला न्याय युनिट’ को व्यवस्था गर्ने भनिए पनि दलित समुदायको हित केन्द्रित ठोस योजना छैनन् । त्यस्तै, मधेसी समुदायको भावना समेट्ने योजना पनि कमै छ । पार्टीकी एक जना केन्द्रीय कार्यकारिणी सदस्यले भने भनिन्, ‘समानताको बहस गर्ने पार्टीमा दलित र सीमान्तकृत समुदायलक्षित योजना छैनन् ।’

केन्द्रीय कार्यकारिणी सदस्य रेखा यादवका अनुसार मधेसका मुद्दा पार्टीको केन्द्रीय घोषणापत्रमा नसमेटिए पनि स्थानीय समितिले आफ्नो क्षेत्रअनुकूलको चुनावी घोषणापत्र बनाएर मतदातासमक्ष जानेछन् । ‘राष्ट्रिय घोषणापत्रले सीमान्तकृतको भावना कम समेटेको महसुस गरेका छौं,’ उनले भनिन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपेन्द्र यादवले जसपाको स्थानीय तह विकासको मूल आधार कृषि र शिक्षा रहेको बताए । उनले तराई केन्द्रित समस्यामा भने खासै सम्बोधन गरेनन् । कार्यक्रममा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्‍याउने, जनतालाई नै विकासमा सरिक बनाउने बताए । उनले आफ्नो पार्टीमा लगानी कम, व्यवस्थापनमा बढी जोड दिइएको सुनाए । ‘हामी अरू पार्टीभन्दा फरक प्रतिबद्धता लिएर चुनावमा आएका छौं,’ उनले भने, ‘अरू पार्टीका घोषणापत्र खर्चिला छन्, हामी व्यावहारिक छौं ।’

प्रकाशित : वैशाख १२, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?