गठबन्धनले जाजरकोटका ७ पालिकामा टुंग्यायो सिट भागबन्डा - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

गठबन्धनले जाजरकोटका ७ पालिकामा टुंग्यायो सिट भागबन्डा 

हरिहरसिंह राठौर

जाजरकोट — सत्ता गठबन्धनले जाजरकोटमा स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाएको छ । गठबन्धन सुर्खेतमा बसेको प्रदेशस्तरीय गठबन्धन संयन्त्रले आइतबार जाजरकोटका ३ नगरपालिकासहित ७ वटा स्थानीय तहको उम्मेदवारी र पद बाँडफाँट गरेको हो । जिल्ला संयन्त्रले नसकेपछि प्रदेश संयन्त्रलाई जिम्मा लगाइएको थियो । 

पश्चिमको छेडागाड नगर प्रमुखमा नेपाली कांग्रेसका रत्नबहादुर खड्कालाई उम्मेदवार बनाइने भएको छ । अघिल्लो निर्वाचनका प्रत्यासी खड्काले दोस्रो स्थान पाएका थिए । सोही नगरको उपप्रमुख भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले उम्मेदवार टुंग्याएको छैन ।

यस्तै जिल्लाको पूर्वीभेग नलगाड नगरपालिका प्रमुखमा माओवादी केन्द्र र उपप्रमुख पदमा कांग्रेसले साझा उम्मेदवार खडा गर्ने भएको छ । भेरी नगरपालिकामा भने नेकपा (एकीकृत समाजवादी) का कमानबहादुर खड्कालाई गठबन्धनले अघि सारेको छ । उक्त नगरमा कांग्रेसले उपप्रमुखमै चित्त बुझाएको छ ।

शिवालयमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले भाग पाएको छ। वारेकोट गाउँपालिका प्रमुखमा कांग्रेस र माओवादीलर् उपाध्यक्ष पदमा उम्मेदवार उठाउने छ ।

कुशे गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार उठाउने निर्णय भएको छ । कुशे गाउँपालिकाको अध्यक्ष र अन्य वडास्तरको गठबन्धनका लागि बैठक जारी रहेको नेताहरुले जनाएका छन् ।

प्रकाशित : वैशाख ११, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारीमा गएकाको पुँजी लगानी गर्न कोष

'गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा लाग्ने छैन । नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट दिने व्यवस्था गरिने छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीले वैदेशिक रोजगारीमा गएकाको कमाइ लगानी गर्नका लागि कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा वैदेशिक रोजगारीबाट आर्जिक पुँजी लगानीका लागि वातावरण बनाउने प्रतिबद्धता गरिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा लेखिएको छ, 'वैदेशिक रोजगारमा गएका युवाहरूको व्यक्तिगत सुरक्षा, उनीहरूले कमाएको पुँजी जलविद्युत्, उद्योगधन्दाजस्ता योजनामा सेयर लगानी गर्न पाउने उचित व्यवस्था गरिनेछ । यसको लागि एउटा छुट्टै कोष खडा गरिने छ ।'

त्यस्तै, पार्टी निर्वाचित स्थानीय तहको बजेट युवा र लैंगिक मैत्री रूपमा व्यवस्थापन गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ । जसपाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने, एकल, असहाय वा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकको लागि स्याहारसुसार गर्ने व्यवस्थासहितको विशेष आवास गृह स्थानीय तहबाट निर्माण गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

जसपाले यातायात सेवामा विभिन्न समूहलाई पनि छुटको व्यवस्था हुने भनेको छ । 'गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा लाग्ने छैन । नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छूट दिने व्यवस्था गरिने छ,' घोषणापत्रमा भनिएको छ, ' जसपाको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित : वैशाख ११, २०७९ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×