कांग्रेस जनकपुर नगर सभापति साहले दिए राजीनामा - स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार

कांग्रेस जनकपुर नगर सभापति साहले दिए राजीनामा 

मेयरमा स्वतन्त्र उम्मेदवारी दिने    
श्यामसुन्दर शशि

जनकपुर — नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति मनोज साहले पार्टीबाट राजीनामा दिएका छन् । विद्यापति चोकमा रहेको घरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले वैशाख ३० गते हुने निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाको मेयर पदमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने पनि बताए । 

‘सत्ता गठबन्धन दलको निर्णयप्रति हाम्रो असहमति छ । उपमहानगरपालिकाका २५ वटै वडासमितिका पदाधिकारी, कांग्रेस नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको सल्लाहअनुसार पार्टीबाट राजीनामा गरेको छु । असली कांग्रेस हामी हौं । कांग्रेसीहरु मलाई नै मतदान गर्छन् भने विश्वास छ,’ उनले भने ।

मनोज साहसँगै जनकपुरधाम उपमहानगर पालिका १५ रामपुरका वडासभापति नन्दलाल साहसहित सिंगै कार्यसमिति, वडाका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा शुभेक्षुक संघ संस्थासँग आबद्धहरुले पदबाट लिखित राजीनामा दिएका छन् । २५ वटै वडाका कांग्रेस नेता कार्यकर्ताहरुले राजीनामा दिने मनस्थितिमा छन् ।

बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादीको भागमा परेको थियो ।

प्रकाशित : वैशाख ९, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरको मेयर पद जसपालाई दिएपछि कांग्रेसमा असन्तुष्टि

निर्णय नसच्याए सामूहिक राजीनामा दिने
श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टीको भागमा परेपछि नेपाली कांग्रेसभित्र असन्तोष चुलिएको छ । बुधबार कांग्रेस समर्थित युवाहरूले सत्तागठबन्धन दलका शीर्ष नेताहरूको पुत्ला दहन गरेका थिए भने कांग्रेस नगर समितिले प्रेस विज्ञप्ति प्रकाशित गरी निर्णय सच्याउन अपिल गरेको थियो । बिहीबार कांग्रेस नगर समितिका सभापति तथा मेयरका प्रत्यासी मनोज साहले निर्णय नसच्याए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

बुधबार सत्तागठबन्धन दलका शीर्ष नेताहरूको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका लागि मेयर र उपमेयरको पद बाँडफाँट गरेको थियो । बाँडफाँटको क्रममा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेको हो ।

नगर सभापति साहले आफूसहित नगर समितिका २५ वटै वडा सभापति, पार्टीका समर्थक, शुभेच्छुकहरू गठबन्धनको विरोधमा रहेको बताए । कान्तिपुरसँगको भेटमा उनले भने‚ ‘जनकपुरधाम उपमहानगरपालिकाका मेयरले पाँच वर्षसम्म गरेको पापको भारी हामी उठाउन सक्दैनौं । कांग्रेस केन्द्रीय समितिले निर्णय सच्याएन भने २५ वटै वडामा स्वतन्त्र उम्मेदवारी दिन्छौं ।’

काठमाडौंमा पद बाँडफाँटका लागि गठबन्धन दलका शीर्ष नेताहरूको निर्णयक बैठक बसिरहँदा जनकपुरमा कांग्रेस नगर समितिको पनि बैठक बसिरहेको थियो । बैठक चल्दै गर्दा पद बाँडफाँटबारे विज्ञप्ति सार्वजनिक भयो । लगत्तै जनकपुर कांग्रेस नगर समितिका सचिव लालबाबु मिश्रले प्रेस विज्ञप्ति प्रकाशित गरी निर्णयको भर्त्सना गरेका थिए ।

विज्ञप्तिमा भनिएको छ‚ ‘पाँच दलीय गठबन्धनले जनता समाजवादी पार्टी नेपालको भागमा जनकपुरधाम उपमहानगरपालिका परेको समाचार सुनेर २५ वटै वडाका कांग्रेस सभापतिहरू, नगर सदस्यहरू, नगर पदाधिकारीहरू र बैठकमा सहभागी भएका सम्पूर्ण नेतागण तथा कार्यकर्ताहरू आक्रोशित बन्नुभयो । केन्द्रीय गठबन्धनको निर्णयको घोर भर्त्सना गर्दै आफूहरूले नमान्ने बैठकको आवाज प्रस्ट रुपमा मुखरित भयो ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाका प्रत्यासी लालकिशोर साहले २१ हजार ९ सय ३ मत ल्याई विजयी भएका थिए भने कांग्रेस प्रत्यासी मनोज साह ११ हजार २ सय मत तथा त्यतिबेला उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमका उम्मेदवारले ३ हजार ३ सय मत प्राप्त गरेका थिए ।

प्राप्त मतभारको आधारमा पदको बाँडफाँट गर्नुको सट्टा गठबन्धन दलहरूले व्यक्ति विशेषको आधारमा पद बाँडफाँट गरेको आरोप मनोज साहको छ । ‘अहिले लालकिशोर साहजी उपेन्द्र यादव नेतृत्वको जसपामा हुनुहुन्छ । त्यतिबेलाको फोरम र आजको जसपा एउटै हो । मतभारको आधारमा जनकपुर उपमहानगरपालिकामा कांग्रेसले मेयर पाउनुपर्ने हो‚’ साहको तर्क छ ।

चुनावको पूर्वसन्ध्यामा दलबदल
जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साह र सेवानिवृत्त डिभिजनल ईन्जिनियर तथा मैथिल ब्राह्मण समाजका अध्यक्ष भगवान झा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी मंगलबार अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गरेर एमालेमा प्रवेश गरे । बुधबार बिहान जनकपुरधाम-१ का वडाध्यक्ष शत्रुघ्न साह लोसपा परित्याग गरी जनता समाजवादी पार्टी प्रवेश गरेका थिए ।

दुई दिनभित्रका यी तीन प्रतिनिधि घटनामात्र हुन् । यसअघि जनकपुरधाम-२ मा स्वतन्त्ररुपमा वडाध्यक्ष जितेका शिवु साह एमालेमा प्रवेश गरिसकेका छन् भने समाजवादी पार्टीकी नेतृ तथा हंसपुर नगरपालिकाकी उपमेयर लोसपा परित्याग गरी जसपा प्रवेश गरिसकेकी छन् । उम्मेदवारीअघि अन्य केही नेता कार्यकर्ता दलबदल गर्ने सम्भावना छ ।

प्रकाशित : वैशाख ८, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×