गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादी झापाको चेतावनी

अर्जुन राजवंशी

बिर्तामोड — झापाको पाँच दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ । भागबन्डाप्रति असहमति जनाउँदै नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । गठबन्धले बिहीबार भागबन्डालाई अन्तिम रुप दिने जनाएको थियो । 

गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादी झापाको चेतावनी

१५ पालिका र एक सय ३१ वडाको भागबन्डा मिलाउन गठबन्धनले कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईंको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले तय गरेको भागबन्डाप्रति एकीकृत समाजवादीले असन्तुष्टि जनाएको हो । कार्यदलले एकीकृत समाजवादीलाई जिल्लामा बढीमा दुई पालिकामा उपप्रमुख र बढीमा ५ वटासम्म वडाध्यक्ष दिन सकिने तय गरेको थियो ।

कार्यदलको तयारीप्रति आपत्ति जनाउँदै सम्मानजनक सहभागिता नभए गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले जानकारी दिए । ‘बुधबारसम्म हामीलाई ४ वटा उपप्रमुख र १५ वटा वडाध्यक्ष दिने करिब करिब सहमति भइसकेको अवस्था थियो । तर, आज (बिहीबार) कार्यदलले दुईवटा मात्र उपप्रमुख र ४ वटा मात्र वडाध्यक्षको कुरा ल्याएपछि हामीले आपत्ति जनाएका हौं‚’ रेग्मीले भने ।

उनले कार्यदलको तयारीप्रति मात्र असन्तुष्टि राखेको तर गठबन्धन नै छाडिनसकेको बताए । ‘गठबन्धनबाट बाहिरियो भन्ने कुरा गलत हो । कार्यदलको तयारीप्रति हाम्रो असन्तुष्टि हो । गठबन्धनको बैठक बसेको छैन । बैठक बस्यो र हामीलाई सम्मानजनक भागबन्डा भयो भने अघि बढ्ने अवस्था जीवितै छ‚’ उनले भने । कार्यदल प्रमुख हुमागाईंका अनुसार एकीकृत समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख तथा ५ वटासम्म वडाध्यक्ष दिने सहमति जुटेको बताए ।

उनले भने, ‘जिल्लामा उहाँहरूको मतभार खासै छैन । अहिले एक जना मात्र वडाध्यक्ष हुनुहुन्छ । तर, हामीले हाम्रो मतभार भएको वडा पनि दिन खोजेका हौं‚’ हुमागाईंले भने, ‘जित्नै नसक्ने पालिका र वडामा दाबी गरेपछि गठबन्धनमा विवाद उत्पन्न भएको हो ।’

प्रकाशित : वैशाख ८, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?