२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विराटनगरमा गठबन्धनलाई सकस

कांग्रेसको महानगर समितिले कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनमा खटपट
धरान र इटहरी उपमहानगरमा पनि जुटेन सहमति

विराटनगर, धरान, इटहरी — सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुने र त्यसमा पनि महानगर र उपमहानगरको टुंगो केन्द्रले गर्ने भनिएपछि विराटनगर महानगरपालिकामा सत्ता साझेदार दलमा चुनावी सरगर्मी खासै रन्केको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्तामा प्रमुख र उपप्रमुख कसको भागमा पर्ने भन्ने अन्योल छ । ती दलका कार्यकर्ता उम्मेदवारको नामको पर्खाइमा छन् ।

विराटनगरमा गठबन्धनलाई सकस

कांग्रेसको विराटनगर महानगर समितिले कुनै पनि दलसँग तालमेल नगर्ने र केन्द्रले जबर्जस्ती लादे मान्य नहुने निर्णय गरेपछि सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ । उनीहरू बिनाउम्मेदवार मतदाताको घर पुग्न सुरु गरेका छन् । एमालेले पनि उम्मेदवार टुंगो लगाएको छैन । ऊ पनि उम्मेदवारबिनै मतदाताको घरदैलोमा हिँड्दै छ । कांग्रेसले गत शनिबार प्रमुखमा ७ र उपप्रमुखमा १२ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेपछि सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो । कोइराला पक्ष विराटनगरमा तालमेल गर्नै नहुने अडानमा छ । मोरङ कांग्रेसको जिल्ला र महानगर समितिमा कोइराला पक्षको बहुमत छ ।

कांग्रेसले प्रमुखमा केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला र हालका प्रमुख भीम पराजुलीसहित उपप्रमुख इन्दिरा कार्की, जिल्ला उपसभापति नागेश कोइराला, नगर सभापति दीपक चापागाईं र प्रदेश सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरेको छ । तीमध्ये केन्द्रीय सदस्यत्रय अर्याल, संग्रौला, पराजुली र प्रदेश सदस्य रेग्मी सभापति शेरबहादुर देउवा समूहका हुन् । त्यसैगरी उपप्रमुखमा राजु मास्के, गीता सिलवाल, नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, सुची चौधरी, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला र सीता घिमिरेको नाम सिफारिस भएको छ । तीमध्ये गच्छदार, मण्डल, सिलवाल, कोइराला र चौधरी विजय गच्छदार समूहका हुन् ।

महानगर समिति र १९ वटै वडाका सभापतिले विराटनगरमा चुनावी तालमेल नगर्ने र केन्द्रले बलजफ्ती लादे मान्य नहुने महानगर सभापति चापागाईंको अडान छ । उनले भने, ‘केन्द्रले जबर्जस्ती गरे विद्रोह हुन्छ ।’ जिल्ला सभापति डिगबहादुर लिम्बूले भने केन्द्रको निर्णय अन्तिम हुने बताएका छन् ।

राप्रपा नेपालसँग चुनावी तालमेल गरेको एमाले मोरङले पनि उम्मेदवार टुंगो लगाएको छैन । उसले सर्वसम्मत प्रमुखमा ५ र उपप्रमुखमा ३ जनाको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । एमालेले प्रमुखमा महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो । एमाले प्रदेश कमिटी स्रोतका अनुसार प्रमुखमा सागर थापाको एकल नाम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने तयारी छ । उपप्रमुखमा एमालेले शिल्पा कार्की, विमला घिमिरे दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरेको छ ।

केन्द्रले महानगरको तालमेल टुंगो लगाउने भएपछि सत्ता गठबन्धनका बाँकी तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख र उपप्रमुखको नाममा खासै गृहकार्य गरेका छैनन् । माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय विश्वासका अनुसार केन्द्रको जिम्मामा रहेको महानगरमा स्थानीयस्तरबाट उम्मेदवारको खासै गृहकार्य गरिएको छैन । तालमेल भए कांग्रेसलाई प्रमुख र जसपालाई उपप्रमुख हुँदा सबै दलले चित्त बुझाउने स्थिति रहेको उनले बताए । एकीकृत समाजवादीका महानगर अध्यक्ष पारुल क्षत्रीले भने कांग्रेससँग तालमेल नभए गठबन्धनका तीन दल मिलेर जाने तयारीमा रहेको बताए । ‘कांग्रेस चुनावी तालमेलमा नआए माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल हुनेछ,’ क्षत्रीले भने, ‘जसपालाई प्रमुख दिएर एउटै चुनाव चिह्नमा तीन दल सहभागी हुने तयारी छ ।’ अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुख र उपप्रमुखसहित ८ वटा वडा, जसपाले ६ वटा वडा, एमालेले ३ वटा वडा, माओवादीले एक वडा जित्दा एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१, एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ र जसपाका उमेश यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए । ।

उपमहानगरमा पनि खटपट

स्थानीय तहको चुनावी माहोल बढिरहेका बेला १ लाख ३ सय २४ मतदाता रहेको धरान उपमहानगरपालिकामा सत्तारूढ गठबन्धन दल भने सोमबार साँझसम्ममा पनि उम्मेदवार भागबन्डामा तालमेल नमिलेर छलफलमै व्यस्त छन् । कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङका अनुसार सत्तारूढ गठबन्धन दलमा चुनावी तालमेलको सहमति नभए एक्लाएक्लै प्रतिस्पर्धा गर्ने विकल्पमा छलफल भएको छ ।

धरानमा कांग्रेसलाई एक्लै जाने कि केन्द्रीय नीतिअनुसार गठबन्धन गरेर जाने भन्ने विषयमा टाउको दुखाइ भएको छ । पञ्चायतकालदेखि २०७४ को अद्यावधिक निर्वाचनसम्म कम्युनिस्टले लगातार जित्दै आएको धरानमा २०७६ मंसिरको उपनिर्वाचनमा ऐतिहासिक रूपमा प्रमुख जितेकाले कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको छ । धरानमा माओवादीले कि प्रमुख कि उप्रमुखसहित ३, ४, १५, १७ र २० वडा आफ्नो भागमा हुनुपर्ने दाबी गर्दै आएको छ भने जनता समाजवादी पार्टीले उपप्रमुख दिनुपर्ने, नत्र ११, १५ र १९ वडा आफ्नो भागमा हुनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादीले पनि वडा ४, ५, ६, ११ र १५ दिनुपर्ने प्रस्ताव राखेको छ । कांग्रेस नेता तामाङले भने, ‘सहमति जुट्न सकेको छैन । छलफलमै छौं ।’

कांग्रेसमा नगर प्रमुख तिलक राई, पूर्वनगर सभापति तथा एन्फाका उपाध्यक्ष किशोर राई, प्रदेश महासचिव उमेश थापा, क्षेत्रीय सभापति सुजेन्द्र गोले प्रमुखका आकांक्षी छन् । माओवादीले आफ्नो भागमा परे प्रमुख पदमा संविधानसभा सभासद किरण राई, उपप्रमुखमा नगर इन्चार्ज फोक्वाहाङ मेन्याङ्बो चोत्लुङ र नगर अध्यक्ष मनोज भट्टराईलाई उठाउने तयारी गरेको छ ।

गठबन्धन दल भागबन्डामा अलमलिइरहेका बेला एमालेले प्रमुख पदमा ११ जना र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरिसकेको छ । अधिकांश वडाध्यक्ष र सदस्यको नामावाली पनि सर्वसम्मत टुंग्याइएको नगर अध्यक्ष हर्कजंग एभेङले बताए । सिफारिस गरिएकामध्ये पूर्वनगर प्रमुख मनोजकुमार मेन्याङ्बो र हालकी उपप्रमुख मञ्जु भण्डारीमध्ये एकले टिकट पाउने प्रबल सम्भावना रहेको एमालेका एक स्थायी समिति सदस्यले बताए । ती सदस्यले भने, ‘केन्द्रमा दुवैको रिपोर्टिङ आइसकेको छ । एमालेका लागि धरान प्रतिष्ठा र विरासतको इतिहास जोडिएकाले लोकप्रिय र जित्ने उम्मेदवारले टिकट पाउँछ ।’

सुनसरीकै इटहरी उपमहानगरपालिकामा प्रमुख दलहरूले आसन्न निर्वाचनमा गठबन्धन गरी अघि बढ्ने संकेत गरेका छन् । चार दलले गठबन्धन गर्ने तयारीमा जुटिरहँदा एमाले इटहरीले पनि गठबन्धन गर्ने बताएको छ । एमाले इटहरी नगर अध्यक्ष यामकुमार सुब्बाले गठबन्धन गर्ने आधिकारिक निर्णय भएर आएको बताए । एमालेले सहकार्यका लागि राप्रपासँग वार्ता सुरु गरिसकेको छ । एमालेले प्रमुख र उपप्रमुखका आकांक्षीको नामावाली गत चैत २४ मै माथिल्लो कमिटीमा पठाइसकेको छ । द्वारिकलाल चौधरी, लक्ष्मी गौतम, यामकुमार सुब्बा, बनुलाल चौधरी, रामप्रसाद चौलागाईं, अमृता सुब्बालगायतले प्रमुखमा दाबी प्रस्तुत गरेका छन् । रुक्मिणी कोइराला, विष्णु शर्मा, अम्बिका चौधरी र गायत्री चौधरी भने उपप्रमुखको आकांक्षी छन् ।

कांग्रेस इटहरीले समीकरण गरेर अघि बढ्ने बताए पनि मुख्य पदमा भने आफ्नो दाबी रहने बताउँदै आएको छ । कांग्रेस नेता रोहित प्रसाईंले समीकरणको नाममा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पद छाड्न सम्भव नभएको बताए । उनले भने, ‘समीकरणको नाममा मुख्य पद दिन सक्ने अवस्था छ कि छैन, त्यो बुझ्नुपर्छ कि पर्दैन ? मलाई त्यो सम्भव लाग्दैन ।’

प्रकाशित : वैशाख ६, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?