२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सत्ता गठबन्धनमा सोरु गाउँपालिका बाधक

राजबहादुर शाही

मुगु — मुगुमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्नका लागि सोरु गाउँपालिका बाधक बनेपछि गठबन्धन गर्ने विषयमा अन्योलता छाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीलाई सोरु गाउँपालिकाको वडादेखि पालिकातहमा भागबन्डाको कुरा नमिल्दा अन्य छायाँनाथ रारा नगरपालिकासहित मुगुम कार्मारोङ र खत्याड गाउँपालिकामा तालमेल गर्न सत्तागठबन्धनले छलफल अघि बढाउन सकेको छैन । 

सत्ता गठबन्धनमा सोरु गाउँपालिका बाधक

अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले अध्यक्षसहित तीनवटा वडा जितेको सोरु गाउँपालिकामा अहिले नेकपा एकीकृत समाजवादी अध्यक्षको दाबी गरेको र कांग्रेसले अध्यक्ष दिन नमानेपछि तालमेलमा सकस परेको छ ।

अध्यक्ष पाउनुपर्छ भन्ने आफूहरूको दाबी रहेको र कांग्रेस नमानेपछि तालमेल गर्न कठिन भएको एकीकृत समाजवादीका अध्यक्ष धर्मबहादुर शाहीले बताए । सोही गाउँपालिकामा सहमति जुटाउन सत्ता गठबन्धनको छलफल जारी रहेको उनको भनाइ छ । सोरु गाउँपालिकामा भोटको आधारमा पहिलो कांग्रेस‚ दोस्रो समाजवादी र तेस्रो स्थानमा माओवादी केन्द्र छ ।

सोरु गाउँपालिकामा तालमेल गर्ने विषयमा माओवादी केन्द्र भने तीन दलीय सत्ता गठबन्धन गरेरै जाने अडानमा देखिएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक मंगलबहादुर शाही भन्छन्‚ ‘सोरु गाउँपालिकामा कसैलाई बाहिर नराखौं । तीनवटै पार्टी मिलेर जाऔं भन्ने पक्षमा माओवादी छ ।’

उनले एउटा मात्र स्थानीय तहमा गठबन्धन टुटे‚ त्यसको असर तीनवटै पार्टीलाई पर्ने बताए । अर्कोतर्फ कांग्रेस र एकीकृत समाजवादी पार्टीबीच सहमति नभए अध्यक्ष आफ्नो भागमा पार्न सकिन्छ कि भन्ने माओवादीको आश छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्षसहित तीनवटा वडा कांग्रेसले जितेको थियो भने उपाध्यक्षसहित ६ वडामा एमाले र माओवादीले तीन वडामा जितेकोमा २ वटामा वडाअध्यक्ष जितेको छ ।

सोरु गाउँपालिकामा तालमेल गर्न तीन दलको चार पटक बैठक बसेर पनि सहमति जुट्न नसकेपछि आफूहरू अझै प्रयासमा रहेको पाँच दलीय गठबन्धन संयन्त्र संयोजन समितिका सभापति ऐनबहादुर शाहीले बताए ।

प्रकाशित : वैशाख ५, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?