उम्मेदवार छनोट गर्दै दलहरू


काभ्रे — आसन्न स्थानीय तहको चुनाव केन्द्रित प्रचारप्रसारमा तल्लीन प्रमुख दलहरू उम्मेदवार छान्न पनि जुटेका छन् । उम्मेदवारको टुंगो लगाउन आन्तरिक रूपमा तयारी भइरहेको जनाए पनि सत्ता गठबन्धनमा रहेका दलहरू केन्द्रीय तहको निर्णय पर्खिरहेका छन् भने प्रमुख प्रतिपक्षी एमालेले पनि धमाधम उम्मेदवार छनोट गरिरहेको छ ।

अधिकांश वडामा वहालवाला वडाध्यक्ष र २०७४ सालको स्थानीय निर्वाचनमा प्रत्यासी रहेका नै प्राथमिकतामा परेका छन् । कांग्रेस, एमालेलगायत दलले जिल्लाका १३ स्थानीय तहका १ सय ३५ वडामध्ये केहीमा अध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेका छन् ।
कांग्रेसले ६ वडामा सर्वसम्मत उम्मेदवार टुंगाएको जनाएको छ । धुलिखेल–५ मा भवसागर रञ्जितकार, ६ मा सञ्जय कोजू, बनेपा–७ मा हिटलर शाक्य, पाँचखाल–४ मा सुन्दर तामाङ, भुम्लु–५ मा अञ्चल लामा र १० मा चित्रबहादुर तामाङ सर्वसम्मत उम्मेदवार चुनिएका हुन् । सञ्जय, सुन्दर र अञ्चल वहालवाला अध्यक्षसमेत हुन् ।
चित्रबहादुर यसअघि वडाध्यक्षका प्रत्यासी थिए । कांग्रेसको केन्द्रीय नेतृत्वले चैत २१ सम्म वडाध्यक्षको प्रत्यासीका रूपमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । सिफारिस भएका नाम गाउँपालिका/नगरपालिका समितिले आफ्नो रायसहित प्रदेश कार्यसमितिमा र प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ । प्रतिनिधिसभा संसदीय बोर्डले निर्णय गरेपछि उम्मेदवार टुंगो लाग्नेछ ।
कांग्रेसले नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/ उपाध्यक्षको उम्मेदवार को बन्ने विषयमा पनि छलफल चलाएको छ । चैत २५ सम्म प्रत्यासीको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्न केन्द्रको निर्देशन छ । गाउँपालिका अध्यक्ष/उपाध्यक्षबारे जिल्ला संसदीय बोर्ड र नगरप्रमुख/उपप्रमुखबारे प्रदेश संसदीय बोर्डले निर्णय गर्ने कांग्रेसको विधानमा छ । जिल्ला सभापति तीर्थ लामाले तालमेल सम्बन्धमा यहाँको स्थितिबारे केन्द्रलाई प्रतिवेदन बुझाउने र केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।
एमाले काभ्रेले चैत २० भित्र वडा तहको र २५ भित्र पालिकाका उम्मेदवार टुंग्याउन तल्लो तहलाई निर्देशन दिएको छ । चैत मसान्तसम्ममा प्रदेशमा नाम सिफारिस गर्ने
जिल्ला अध्यक्ष अशोकुमार व्याञ्जू श्रेष्ठले जानकारी दिए । एमालेले केही वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ । बनेपा–८ मा श्याम मानन्धर, मण्डन देउपुर–७ मा विष्णु पौडेल, पनौती–१ मा वीरमान तामाङ, पाँचखाल–४ मा ओमकार श्रेष्ठ र भुम्लु–३ मा ज्ञानु तामाङ वडाध्यक्षका उम्मेदवार हुने भएका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला अर्यालले केही दिनमा उम्मेदवारीबारे टुंगो लाग्ने बताए । नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव दीपक गौतमले चैत २२ सम्म वडा तहका उम्मेदवार सिफारिस गर्न भनिएको बताए । ‘गठबन्धन गर्ने कुरा पनि भइरहेकाले त्यसकै आधारमा अघि बढ्छौं,’ उनले भने ।
प्रकाशित : चैत्र २६, २०७८ ०८:४८