१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मतान्तर फराकिलो पार्दै फोरम

पर्सा, राजपाका प्रभावशाली नेताहरूको जिल्ला भए पनि १४ मध्ये एउटा तहमा पनि उक्त पार्टीका उम्मेदवार विजयी भएनन्
भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवारले मतान्तर फराकिलो पार्दै गएका छन् ।

मतान्तर फराकिलो पार्दै फोरम

८४ हजार ४ सय ६४ मत खसेकोमा मतगणनाको सातौँ दिन साँझसम्म ६७ हजार २ सय ७६ मत गन्दा फोरमका विजय सरावगीले १५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् । कांग्रेसका अजय द्विवेदीले १४ हजार २ सय ५७ मत हासिल गरेका छन् । मतगणनाको सुरुवाती पाँच दिनसम्म कांग्रेसले अग्रता लिएको थियो । 

उपमेयरमा भने कांग्रेसकी शान्ति कार्कीले अग्रता कायमै राखेकी छन् । फोरमका तर्फबाट उपमेयर उम्मेदवार पिंकी यादवभन्दा उनी १ हजार ५ सय ६३ मतले अगाडि छिन् । कार्कीले १६ हजार चार सय ८३ र फोरमकी यादवले १४ हजार नौ सय बीस मत ल्याएका छन् । मेयरमा फोरमका उम्मेदवार सरावगी भने एक हजार तीन सय ७८ मतले अगाडि छन् । 

मतगणना बाँकी रहेका वडामा पनि आफ्नो पार्टीको अग्रता कायमै रहने फोरम जिल्ला अध्यक्ष प्रदीप यादवको दाबी छ । कांग्रेसको पूरानो भोट बैंक मानिएको वीरगन्जको माइस्थान, आदर्शनगर, विर्ता र रामटोल क्षेत्रबाट भोट नआएपछि आफ्ना उम्मेदवार पछाडि परेको नेताहरूले बताए ।

मतगणनामा सहभागी कांग्रेसका एक नेताका अनुसार ती टोलमा मेयर बाहेकका पदमा कांग्रेसका उम्मेदवारलाई मत आए पनि मेयरमा भने अन्य दललाई मत गएको पाइएको छ । १४ स्थानीय तह रहेको पर्सामा महानगर वाहेक ३ नगर र १० गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ ।

पर्सागढी र बहुदरमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । पोखरिया नगरपालिकामा नेपाली जनता दलले जित हासिल गरेको छ । संघीय समाजवादी फोरम र माओवादी केन्द्रले तीन/तीन गाउँपालिका, एमाले दुई र नेपाली जनता दल र कांग्रेसले एक/एक गाउँपालिकामा जीत हासिल गरेका छन् । 

राष्ट्रिय जनता पार्टी (राजपा) ले पर्सामा एउटा तह पनि जित्न सकेन् । मत परिणाम आउन बाँकी रहेको महानगरमा पनि राजपाका उम्मेदवार तेस्रो नम्बरमा छन् । राजपाका प्रभावशाली नेताहरूको जिल्ला भएपनि १४ मध्ये एक तहमा पनि पार्टी विजयी हुन नसकेको हो । पार्टीका केन्द्रीय सदस्य तथा सांसद रमेश पटेलको वडामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय कोषाध्यक्ष तथा सांसद आशा चतुर्वेदी पनि सोही वडा निवासी हुन् । 

राजपाका अर्का केन्द्रीय सदस्य नेजामुद्दिन समानी पोखरिया नगरपालिकाको मेयरमा पराजित भएका छन् । नेपाली जनता दलका मन्टु रौनियार विजय भएको उक्त नगरपालिकामा समानी पाचौं स्थानमा थिए । राजपा महासचिव शिव पटेल बहुदरमाई नगरपालिकामा कांग्रेसका नितेन्द्र साहसँग फराकिलो मतले हारेका छन् । पार्टीका अर्का महानमन्त्री राजेशमान सिंह वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार हुन् । जारी मतगणनामा हालसम्म उनी तेस्रो स्थानमा छन् । राजपाका सहअध्यक्ष लक्ष्मण लाल कर्णको जगरनाथपुर गाउँपालिकामा माओवादी केन्द्र र वीरगन्ज महानगरमा उनी बस्ने वडा ९ मा संघीय समाजवादी फोरमका उम्मेदवारले जितेका छन् । 

राजविराजमा मतगणना जारी
राजविराज – सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको मतगणना सोमवार पनि जारी छ । सोमवार साँझ सम्मको गणनामा मेयर पदमा राजपा नेपालका शम्भु यादव र उपमेयरमा राजपाकै साधना झाले अग्रता कायम राखेका छन् । उनीहरूलाई संघिय समाजवादी फोरम नेपालका उम्मेदवारहरूले पछयाइरहेका छन् । राजविराज नगरपालिकाको चारवटा वडाको मतगणना भने सकिएको छ । वडा नम्बर १ मा राजपाका चन्द्रशेखर चौधरी, ३ मा स्वतन्त्र उम्मेदवार सुर्दसन सिंह, ४ मा माओवादी केन्द्रका अख्तर अली र ५ नम्बर वडामा कांग्रेसका समिर झा वडाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?