कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हर्षभन्दा बढी चिन्ता’

सन्तोष सिंह

धनुषा — जनकपुर उपमहानगरपालिका–४ बाट दलित महिला सदस्यमा निर्वाचित कांग्रेसकी रामपरीदेवी चमार शपथग्रहण कार्यक्रममा सहभागी हुँदा हर्षभन्दा बढी चिन्तामा थिइन् ।

‘हर्षभन्दा बढी चिन्ता’

लेखपढ गर्न नसक्ने भएकाले उनको शपथपत्रमा जनकपुर २३ बाट निर्वाचित महिला सदस्य गीता ठाकुरले हात समाएर हस्ताक्षर गराउँदै थिइन् । रामपरी आफूले प्राप्त गरेको मत, पद र अब गर्नुपर्ने काम तथा जिम्मेवारीबारे अनभिज्ञ छिन् । 
स्थानीय निकायमा उम्मेदवार हुने सोचसमेत नभएकी गीता कांग्रेसबाट जनप्रतिनिधि चुनिएकी हुन् । ७ कक्षा मात्र पढेकी २५ वर्षीया गीताको विवाह भएको १० वर्ष भयो । २ सन्तानकी आमा उनी चुनावअघि चुलोचौकोमै व्यस्त थिइन् । ससुरा महेन्द्र ठाकुर पार्टी कार्यकर्ता भएकै कारण उनले चुनावमा टिकट पाइन् र विजयी पनि भइन् । 
चुनावमा भएको खर्च, आफूले पाएको मतबारे जानकारी नभए पनि उनले भनिन्, ‘टोलमा सरसफाइ, महिलालाई सीपमूलक तालिम, अधुरो मन्दिर निर्माण पूरा गर्ने योजना छ ।’ उनले गाउँको उब्जाउ फाँटमा बोरिङ निर्माण गर्ने योजना पनि सुनाइन् ।
२५ नम्बर वडाबाट निर्वाचित दलित सदस्य शैलोदेवी पासवान चुनावताका गाउँमा घुमेर मत माग्दा खुसी देखिन्थिइन् । अहिले निर्वाचित भइसकेपछि भने खुसीभन्दा झन्झट महसुस गरेकी छन् । सभा–गोष्ठीमा सहभागी हुने बानी नभएको र अध्ययन नहुँदा शपथग्रहण कार्यक्रममा सरिक भए पनि केही उच्चारण गर्न भने सकिनन् ।
स्थानीय तह चुनावमा राजनीतिक दलले दलित महिला सदस्य र महिला सदस्यलाई उम्मेदवार बनाएर जिताएका छन् । मधेसमा विकास योजनाका लागि बनाइने उपभोक्ता समितिमा कागजात पूरा गर्न मात्रै महिलालाई सदस्यमा राख्ने चलन छ । स्थानीय तहमा पनि त्यस्तै हुने अनुमान  स्थानीयको छ । मधेसमा महिलाहरू आफ्नो मताधिकारको स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्ने अवस्थामा छैनन । राजनीतिमा महिलाको पहुँच छैन । घरका अगुवा वा पतिले भनेकै ठाउँमा मतदान गर्ने महिला जनप्रतिनिधि स्थानीय तहमा कसरी काम गर्ने चुनौती थपिएको जनकपुरकी इन्दु सिंहले बताइन । 

प्राथमिकतामा सडक र विद्यालय
रौतहट– जिल्लाका १८ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गाउँ तथा नगर क्षेत्रको सडक र विद्यालयको शैक्षिक सुधारमा जोड दिएका छन् । 
गौर नगरपालिकामा निर्वाचित मेयर अजय गुप्ताले अव्यवस्थित सहर सफा बनाउन नागरिक समाज, नगरवासी, सञ्चारकर्मीलाई सघाउन आग्रह गरे । ‘म एक्लै सफल हुन सक्दिनँ,’ उनले भने, ‘सबैले सघाउनु पर्छ ।’ यस्तै अस्तव्यस्त रहेको माधवनारायण नगरपालिकालाई पनि नमुना नगरपालिका बनाउन आफूहरू लागिपरेको नवनिर्वाचित उपमेयर सिमलकुमारी साहले बताइन् । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?