कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिरहामा माओवादी पहिलो

सिरहा — जिल्लाका १७ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले सबैभन्दा बढीमा जित हासिल गरेको छ । आइतबार सम्पन्न मतपरिणामअनुसार पार्टीले चार नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व पक्का गरेको छ ।

 सिरहामा माओवादी पहिलो

साबिक क्षेत्र नम्बर ५ वामपन्थी पकड क्षेत्रका रूपमा चिनिन्छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल यहींबाट विजयी भएका हुन् । यहाँ कर्जन्हा, मिर्चैया र गोलबजार गरी तीन नगर मात्र छन्, गाउँपालिका छैनन् । स्थानीय निर्वाचनमा यी तीनै तहमा माओवादी केन्द्रले वर्चस्व कायम गरेको छ । 
कर्जन्हाको मेयरमा गंगा पासवान र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ, मिर्चैयामा मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछीदेवी र गोलबजार नगरपालिकामा मेयर देवनाथ साह र उपमयेरमा रेशमकुमारी थापा निर्वाचित भए । जिल्लामा ८ नगरपालिका र ९ गाउँपालिका छन् । 

फड्को मार्दै गोलबजार
पूर्व–पश्चिम राजमार्गले दुई भागमा छुट्टयाएको गोलबजार जिल्लामै व्यवस्थित र बढ्दो सहरीकरण उन्मुख नगरपालिकाका रूपमा चिनिन्छ । पञ्चायत कालसम्म गोलबजारले बजारको रूप लिन सकेको थिएन । बहुदल स्थापनापछि भने गोलबजार धीमा गतिमा भए पनि बामे सर्न थाल्यो । 

२००७ सालमा जन्मिएका देवनाथ साहले गोलबजारलाई व्यापारिक केन्द्र बनाउने लक्ष्य लिएर व्यापारीलाई संगठित गरी २०४७ सालमा गोलबजार उद्योग व्यापार संघ गठन गरे । संस्थागत अध्यक्ष रहेका उनले संघलाई २०५१ सालमा विधिवत् रूपमा दर्ता गरी बजारसँगै व्यापार विस्तारको कामलाई २०६४ सालसम्म निरन्तर अघि बढाए । उनै देवनाथ साह माओवादी केन्द्रबाट अहिले गोलबजार नगरपालिकाको मेयर निर्वाचित छन् । 

व्यापार संघको पहलमा २०५२ सालमा पहिलो पटक उनले भीएचएफ टेलिफोन जडान गरी गोलबजारवासीलाई सञ्चार सुविधाको पहुँचमा पुर्‍याएका थिए । भीएचएफ टेलिफोनबाट आम्दानी भएको ८० हजार रुपैयाँ उनले गोलबजारमा क्याम्पस स्थापनाका लागि विद्यालयलाई हस्तान्तरण गरिदिए । 
व्यापार संघको खातामा चार लाख रुपैयाँ जम्मा भएपछि उनले अतिथि सदन निर्माण सुरु गरे । त्यही धर्मशाला गोलबजारको कार्यक्रम, विवाह बटुललगायत विभिन्न संघसंस्थालाई तालिम, गोष्ठी गर्ने थलो बनेको छ । 

गोलबजारका ८ सय घरधुरीलाई खानेपानी पुर्‍याए । साहकै उनकै अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन गरिएको हो । व्यापार समितिमा २ करोडभन्दा बढी आम्दानी रकम खातामा जम्मा भएपछि २०६४ सालबाट नेतृत्व अरूलाई सुम्पिए । 

२०७१ मंसिर १६ मा साबिक असनपुर, जमदह, मुक्सार, लालपुर, चन्द्रलालपुर, चन्द्रोदयपुर, बल्कावा, बेतौना, दुर्गापुरसहित ९ गाविस जोडेर गोलबजार नगरपालिकामा परिणत भएको थियो । १ सय ११ दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गोलबजार नगरपालिका १३ वडामा विस्तार भएको छ । मेयर साहले गोलबजारमा जिल्लामै नभएको स्टेडियम निर्माण, हरित पार्क, एक घर एक बिरुवा अभियान, आर्थिक विकास नै नगरको समृद्धिलगायत काममा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?