मतदान उल्लासपूर्ण, गणना रातिबाटै

काठमाडौं — दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ का मतदाताले बुधबार उत्साहजनक रूपमा मतदान गरेका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिकूल मौसम भए पनि ७०.५ प्रतिशत मतदान भएको बताए । बिहानको वर्षाका कारण कतिपय स्थानमा मतदान ढिला सुरु भए पनि साँझ अबेरसम्मै भएको थियो । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ प्रतिस्पर्धी छन् । पहिलो चरणमा वैशाख ३१ गते भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

मतदान उल्लासपूर्ण, गणना रातिबाटै

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ का मतदाताले बुधबार उत्साहजनक रूपमा मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिकूल मौसम भए पनि ७०.५ प्रतिशत मतदान भएको बताए । बिहानको वर्षाका कारण कतिपय स्थानमा मतदान ढिला सुरु भए पनि साँझ अबेरसम्मै भएको थियो । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ प्रतिस्पर्धी छन् । पहिलो चरणमा वैशाख ३१ गते भएको प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।

दोस्रो चरणका ८ हजार ३ सय ६४ मतदान केन्द्रमध्ये बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु माविको क र ख मतदान केन्द्रको मतदान स्थगन भएको छ । वृद्धले लगेको सहयोगीका विषयलाई लिएर विवाद भएपछि त्यहाँ मतदान हुन नसकेको हो । सोलुको नेचासल्यान गाउँपालिकाको वडा– ६ मा र नवलपरासीको सरावल गाउँपालिका–६ को जनता मावि मतदान केन्द्रमा मतदान बहिष्कार भयो । ती दुवै स्थानका मतदाताले स्थानीय तह पुन:संरचनाको सीमांकनप्रति असन्तुष्टि जनाउँदै बहिष्कार गरेका हुन् ।

नेचासल्यानका निर्वाचन अधिकृत आनन्दराज पन्तले वडा नम्बर ६ मा २ हजार ४ सय ७६ मतदाताका लागि ५ वटा मतदान केन्द्र तोकिएकोमा कुनै पनि केन्द्रमा मतदान नभएको बताए । मत बहिष्कार गरिएको परासीको सरावलको जनता मावि मतदान केन्द्रमा ५ सय २ मतदाता रहेकोमा २ मत मात्रै खसेको छ । प्रमुख आयुक्त यादवले कर्मचारीहरू मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म बसे पनि ती दुई स्थानमा मतदाता सहभागी नभएको बताए ।

सबैभन्दा बढी बाजुरामा ८० र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मतदान भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक भएकोमा आम मतदातालाई धन्यवाद दिएका छन् । उनले तेस्रो चरणको निर्वाचन पनि तोकिएको समयमै सम्पन्न हुने बताएका छन् । मतपेटिका निर्वाचन अधिकृतले तोकेको स्थानमा संकलन भइसकेपछि बुधबार रातिबाटै मतगणना हुने आयोगले जनाएको छ । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बढी मतदाता रहेका महानगर, उपमहानगरको परिणाम ७ दिनभित्र र अन्तको ३ दिनभित्र आउने गरी गणनाको व्यवस्थापन गर्न निर्देशन दिइएको बताए ।

७०.५% खस्यो, कहाँ कति ?

८०% बाजुरा

७७% दाङ

७५% रुकुम, दार्चुला, डडेलधुरा

७३% गुल्मी, बर्दिया

७२% इलाम, धनकुटा, पाल्पा, प्यूठान, बाँके

७१% बझाङ

७०% ताप्लेजुङ, पाँचथर, झापा, संखुवासभा, तेह्रथुम, खोटाङ, सो लुखुम्बु, ओखलढुंगा, मोरङ, सुनसरी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, डोटी, अछाम, बैतडी

६९% रोल्पा

६७% उदयपुर

६५% नवलपरासी, कञ्चनपुर, कैलाली

६१% भोजपुर

प्रकाशित : असार १५, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?