गाउँजस्ता नगरपालिका

काठमाडौं — चनरमती रैदास नगरपालिकावासी भएको ४० वर्षभन्दा बढी भयो । कपिलवस्तु नगरपालिका–४, लौसाकी उनले जान्दैदेखि बर्खामा घरअगाडि घुँडाघुँडा साडी सारेर हिँड्नुपथ्र्यो, त्यो दिन अझै गएन । सानो झुपडीमा उनी र उनका पति भारत रैदासको जिन्दगी ढल्किँदै गयो ।

गाउँजस्ता नगरपालिका


 
सन्तान नभएकाले बहिनीकी छोरी सुन्दरीलाई आफ्नै बनाएका छन्, उनका लागि पढ्न जान नजिकमा स्कुल छैन । ९ वर्षकी भइन्, अक्षरै चिनेकी छैनन् । कपिलवस्तु सदरमुकामकै यो नगरमा यस्ता धेरै बस्ती छन्, जहाँ भौतिक पूर्वाधार अति पिछडिएका ठाउँकै सरह छन् । ‘नगरवासीको अनुभूति भएकै छैन, कहिले हुने हो, त्यो पनि थाहा छैन,’ लौसाकै गोविन्दलाल पालले भने, ‘२० वर्षअघि जस्तो थियो, अझै त्यस्तै छ । अबचाहिँ बनिहाल्छ भन्ने के ग्यारेन्टी ?’ 

नेपाली बृहत् शब्दकोशले स®सफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिका व्यवस्था भएको भौगोलिक क्षेत्रलाई नगरपालिकाका रूपमा अथ्र्याएको छ । अन्यत्र नगरपालिका भन्नेबित्तिकै सहरी सभ्यताका न्यूनतम मापदण्ड पूरा गरिएका हुन्छन् । नेपालमा भने हचुवामा नगरपालिका घोषणा गर्ने, घोषणाको वर्षौंसम्म पनि सुधारतर्फ नलाग्ने प्रचलन छ । त्यसकै उदाहरण हो कपिलवस्तु । यस जिल्लाका १० स्थानीय तहमध्ये ६ वटा नगरपालिका छन् । 

मधेसका पिछडिएका जिल्लामध्ये पर्ने यहाँ कुनै पनि नगरपालिकामा नगर विकासको सुरसारै छैन । सदरमुकामको मूल बजार अत्यन्त सानो र अव्यवस्थित छ । सडक मोटरसाइकल मात्र छिर्ने खालका छन् । जताततै फोहोरै फोहोर छ । 

मानव विकास सूचकांकमा यो जिल्ला ७५ जिल्लामध्ये ५२ औं नम्बरमा पर्छ । हरेक हिसाबले केलाउँदा औसत नेपालीको अवस्थाभन्दा यो तल पर्छ । नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार १ सय ६० अमेरिकी डलर छ । कपिलवस्तुलाई मात्र हेर्दा यो ९ सय ९० मात्र छ । औसत मानव विकास सूचकांक ०.४९० भएकामा यस जिल्लाको ०.४३२ छ । देशैभरिको औसत आयु ६८.८० वर्ष भएकामा यहाँको ६७.५६ वर्ष मात्र छ । अर्थात् पिछडिएका जिल्लाको पनि पिँधतिरै पर्छ यो ।

‘अशिक्षा र गरिबी चरम छ,’ स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले भने, ‘केन्द्रीयस्तरमा नेतृत्वको पहुँच अभावका कारण यो जिल्ला विकासमा पछि परेको हो । विशेषगरी २०६२÷६३ को जनआन्दोलनपछि यहाँ विकासका पूर्वाधार बन्न थालेका छन् । तीव्रता र पर्याप्तता भने छैन ।’ नगरपालिकाका अधिकांश नाम बुद्धसँग सम्बन्धित छन् । यो बुद्धधर्मको पवित्रस्थलसमेत हो । त्यसलाई उपयोग गरेर पर्यटन प्रबद्र्धन गर्ने हो भने सिंगै जिल्लाको कायापलट हुन सक्छ । ‘पर्यटनका कार्यक्रम ल्याउने हो भने हरेक नगरपालिका समृद्ध हुनुका साथै जिल्लाकै कायापलट हुन्छ,’ उनले भने ।

सर्वसाधारणलाई थामथुम पार्न नगरपालिका घोषणा गरिदिने तर विकास नदिने केन्द्रीय नीतिको यो जिल्ला सिकार बनेको यहाँका बुद्धिजीवीहरूको मत छ । ‘दक्षिण क्षेत्रका कोर मधेसमा सरकारको ध्यान कम जाने हुँदा विकासले गति लिन सकेन, पहुँच पनि जिल्लासम्म पुग्न नसक्दा समस्या भयो,’ कपिलवस्तु बहुमुखी क्याम्पसका प्रमुख विष्णुदेव यादवले भने, ‘दक्षिणमा अशिक्षा र गरिबी चुलाचौकाकै समस्या छ । त्यसैले पिछडिएको मधेसमा विकासका छुट्टै नीति ल्याउनुपर्छ । तब मात्र समृद्ध मधेस हुन सक्छ ।’ 

सबै नगर गाउँजस्ता
एक अध्ययनअनुसार सदरमुकामको कपिलवस्तुकै ६० प्रतिशतभन्दा बढी भूभाग ग्रामीण छ । ती गाउँमा राम्रो बाटो छैनन् । वडा २ सडवाका कृष्णकुमार कोहारले भने, ‘दिनमा दुईपल्ट कपडा फेर्नुपर्ने हालत छ । वर्षामा हिलैहिलो हुन्छ, हिउँदमा धुलैधुलो ।’ पुरानो नगरपालिका भएर पनि कपिलवस्तु निकै पछि परेको कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले पनि स्वीकारे । ‘भौतिक पूर्वाधारको अभाव छ, गाउँ बढी रहेकाले पिछडिएको छ,’ उनले भने, ‘अब अधिकारसहितको नगरपालिकाबाट विकासको लहर आउन सक्छ ।’

शिवराज नगरपालिका–३ मैनारका राधेश्याम चौधरी वर्षामा २ वटा खोलामा ज्यानको बाजी लगाएर बजार आउँछन् । चन्द्रौटाबाट १२ किमि उत्तर पर्ने २ गाउँका बासिन्दाले वर्षको ३÷४ महिना यस्तै सास्ती खेप्नुपर्छ । ‘गाविस हुँदा त्यस्तै थियो, अहिले नगरपालिकामा परेपछि पनि उस्तै छ,’ उनले भने, ‘ठेगाना मात्र परिवर्तन भयो । नगरवासी त भयौं, घरबाट निस्कनै सास्ती छ ।’ शिवराज नगरपालिका जवाभारीका अतिउल्ला मुसलमानलाई गाउँ हुँदा बरु सजिलो थियो । 

‘अब सरकारी सेवा लिन ६ किमि पर नगरपालिका जानुपर्छ । पहिले गाउँमै सचिव बस्थे,’ उनले भने, ‘विकास छैन, दुःख मात्रै थप्न किन नगरपालिका बनाइरहनुपर्थ्यो  ?’ ११ वडा रहेको शिवराज नगरपालिकाका २, ३ र ५ ले मात्र वडा कार्यालयबाट सेवा दिइरहेका छन् । आठवटा वडाको नागरिक नगरपालिकामै पुग्नुपर्छ । नगरपालिकाको आफ्नो भवन छैन । चन्द्रौटामा भाडामा लिइएको छ ।

कृष्णनगर नगरपालिकाको बजार क्षेत्रको अवस्था अझै दयनीय छ । एउटा बसपार्कसम्म छैन । बाटोमा बस रोकिन्छ । काँकडभिट्टा र काठमाडौंसम्म दैनिक बस सेवा भने छ । दिल्ली र पञ्जाबका लागि पनि यहींबाट बस छुटछन् । बाटोघाटो गएगुज्रेको छ । कतिपय ठाउँमा बजारमै धुलौटे बाटो छ । धुलो उठेर हैरानी हुन्छ । सीमा क्षेत्रलाई नै भारतको राष्ट्रिय रेल नेटवर्कले छोएको छ, यताका बासिन्दा त्यसलाई हेरेर चित्त बुझाउँछन् । सरसफाइको राम्रो प्रबन्ध नहुँदा दुर्गन्ध बढेको छ । ढल र नाली व्यवस्थित नहुँदा पानी बाटोसम्मै आउँछ । खाल्टो ठाउँमा पानी जम्छ । 

बजारबाट बाहिर निस्कनासाथ पश्चिमतिरको लक्ष्मीनगर र चैपुरवा गाउँ पुग्ने बाटो दयनीय छ । ‘बजार हैन,’ चैपुरवाका साजिद अलीले भने, ‘गाउँमा हुने आधारभूत सेवा पनि हाम्रो नगरमा छैन ।’
महराजगन्ज नगरपालिका पनि उस्तै कमजोर छ । ९ गाविस मिलाएर बनेको नगरपालिका पुरानो गाविसको ३ कोठामा सञ्चालित छ । बाटोघाटोको अवस्था दयनीय छ । 

डुमरा–महराजगन्ज–हर्दौना पुग्ने कालोपत्रे बाटोबाहेक सबै कच्ची छन् । नगरपालिकाबाट सदरमुकाम पुग्ने मुख्य महराजगन्ज–बगर्दीघाट–तौलिहवा सडक अझैसम्म कालोपत्रे हुन सकेको छैन् । ओभरहेड ट्यांकी बनेको २५ वर्ष भए पनि अझै सञ्चालन हुन सकेको छैन । उत्तरी क्षेत्रमा पर्ने दुई नगरपालिकाको आवस्था भने सामान्य हेर्न लायक मात्र छ । वाणगंगा र बुद्धभूमि नगरपालिकाका कार्यालय अझैसम्म छैनन् । पूर्वाधारको हिसाबले यी पनि कमजोर नै छन् । मानवीय जीवनस्तर भने केही सुधारोन्मुख छ । 

‘अब केही गरौं’
बीस वर्षमा स्थानीय चुनाव हुँदैछ । लामो समय स्थानीय निकाय (अब तह) जनप्रतिनिधिविहीन हुँदा लठिभद्रको दोष कसलाई दिने, ठाउँ पनि छैन । कपिलवस्तु–२ बर्दहवाका गम्माप्रसाद रैदास भन्छन्, ‘बेलैमा चुनाव भएको भए सायद केही राम्रो भइसक्ने थियो होला ।’ त्यसैले यो अवसर प्रयोग गरेर काम गर्न सक्ने नेतृत्व छान्नुपर्ने सर्वसाधारणको धारणा छ । तराईमा मुस्लिम र दलितको अधिकांश टोलमा बाहुल्य छ । उनीहरूकै बस्ती पिछडिएका हालतमा छन् । ‘वरपर विकास भए पनि अधिकांश दलित टोल छुटाइएका छन्,’ लौसाकै दिनदयाल रैदासले भने, ‘छुवाछूत केही हटे पनि पहिलादेखिको भेदभाव अझै हटेको छैन । जसको आवाज पुर्‍याइदिने कोही हुँदैन, उसले केही पाउन सक्दैन । हाम्रो हालत त्यही हो ।’ 

उनको समर्थन गर्दै उद्दनप्रसाद रैदासले भने, ‘अब हामी पनि कुरा राख्नुपर्छ । भोट माग्न आउनेलाई र्‍याखर्‍याख्ती पार्नुपर्छ । विकास नदिनेलाई भोट दिनु हुँदैन ।’

प्रकाशित : असार १२, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?