कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भोट हाल्न घर फर्किंदै

खगेन्द्र अवस्थी

बैतडी — बझाङको बुगल नगरपालिकाका नरेश बोहरासहित १२ जना शनिबार भारतको पिथौरागढबाट भोट हाल्न घर फर्किए । उनीसँगै बाजुरा डोगरीका हरिसिंह विक र बैतडीको थलाकाडाका धनवीर साउद पनि आए । रोजगारीका लागि भारत गएकाहरू स्थानीय तह निर्वाचनमा मतदान गर्नकै लागि घर फर्किन थालेका छन् ।

भोट हाल्न घर फर्किंदै

झुलाघाट सीमाबाट स्वदेश फर्कनेको भीड दिनहुँ बढेको छ । यो महिना कामको खोजीमा भारत गई खेतीपाती भित्र्याउन असोज–कात्तिकतिर फर्कने चलन रहे पनि अहिले धेरै जना चुनावकै कारण यतै अडिएका छन् । बरु उताबाट दैनिक ८०–९० जना फर्किरहेको सीमा क्षेत्रका यातायात व्यवसायीको भनाइ छ ।

फर्कनेहरूले गाउँका प्रतिनिधि चयन गर्ने निर्वाचन भएकाले भोट हाल्न आएको बताएका छन् । झुलाघाट सीमावारि पुग्दा बोहराले पार्टीका झन्डा र प्रचार सामग्री देख्दा २० वर्ष पुरानो झल्को आएको सुनाए ।

‘२० वर्षअघि युवा छँदा हामी यसरी नै प्रचारमा जान्थ्यौं, मेरो गाउँमा पनि यस्तै भएको होला,’ उनले भने, ‘यतिका वर्षपछि चुनाव हुन लागेकाले भोट नदिई बस्न मन लागेन ।’ उनीहरू भारत जाँदा स्थानीय तह पुनःसंरचनाको काम सुरु भएको थिएन । गाउँ–नगरपालिका बनेको र वडामै धेरै जना उम्मेदवार रहेको कुरा टेलिफोनबाट थाहा पाएको बोहराले बताए ।

घरमा सबै उम्मेदवार भोट माग्न आएको खबर पाए पनि कसलाई मत दिने भन्ने निर्णय गर्न नसकेको उनीहरूको भनाइ छ । तर, पार्टीभन्दा विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने सोच भने बनाइसकेका छन् । ‘गाउँको विकास गर्नेलाई वडाध्यक्षमा मत दिन्छु, नगरपालिकाका उम्मेदवार चिनेकै छैन,’ बाजुराको बडिमालिका नगरपालिकाका जयन्त थापाले भने, ‘सबैलाई मिलाएर विकास गर्न सक्नलाई भोट दिन्छौं ।’

भारतको पिथौरागढ जिल्लाका विभिन्न गाउँसहरमा मजदुरी गर्ने उनीहरू छुट्टी मिलाएर फर्केका हुन् । सडक निर्माणमा कार्यरत उनीहरू आउँदो शनिबार काममा फर्कने गरी एक साताका लागि आएका हुन् । भारतीय ठेकेदारले पनि चुनावमा भाग लिन ८/१० दिनको छुट्टी मिलाएर नेपाली कामदारलाई घर पठाउन सहयोग गरेको उनीहरू बताउँछन् । ‘वर्ष दिनमा एक पटक घर आउने गरेका थियौं, यसपालि गाउँमा नेता छान्न छिट्टै फर्कियौं,’ साउदले भने, ‘गाउँमै सबै अधिकार आएको सुनेका छौं, राम्रो उमेदवार जिताउन घर नआई भएन ।’

प्रकाशित : असार १२, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?