झापामा कडा टक्कर

बहुमत स्थानीय तहमा विजयी हुन्छौं : कांग्रेस

असार १०, २०७४

लीलाबल्लभ घिमिरे, बलराम बानियाँ, अर्जुन राजवंशी

झापा — राजनीतिक रूपमा सचेत पूर्वी तराईको झापा जिल्लाका १५ वटा स्थानीय तहको चुनावमा प्रमुख चार पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीच चौपक्षीय प्रतिस्पर्धा देखिएको छ । तीन प्रदेशमा भएको पहिलो चरणको चुनावमा एक नगर र एक गाउँँपालिकाको मात्र नेतृत्व हात पारेको राप्रपाले यो जिल्लाका ८ नगरपालिका र ७ गाउँँपालिकामध्ये धेरैजसोमा एमाले, कांग्रेस र माओवादी केन्द्रलाई टक्कर दिने गरी प्रतिस्पर्धी बनेको छ ।

चारवटै पार्टीेले झापाको चुनावलाई प्रतिष्ठाको सवाल बनाइरहेका छन् । कांग्रेस, एमाले र राप्रपा गठबन्धन नगरी एक्लाएक्लै चुनावमा होमिएका छन् भने माओवादी केन्द्रले एउटा गाउँपालिकामा भने संघीय समाजवादी फोरमसित तालमेल गरेको छ । अप्रत्याशित रूपमा माओवादी केन्द्र र राप्रपाको पक्षमा चुनावी माहोल बन्दा आफ्नो पार्टीलाई फाइदा पुग्ने विश्लेषण कांग्रेसको छ । एमालेले भने आफ्नो मत ‘इन्ट्याक्ट’ रहेकाले माओवादी र राप्रपाको भोट बढ्दा कांग्रेसलाई घाटा हुने आकलन गरेको छ ।

चारवटै पार्टीले आ–आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन शीर्ष नेतृत्व ल्याएर प्रचार अभियान अघि बढाइरहेका छन् । सबैजसो स्थानीय तहमा एमालेले एकलौटी पार्टी अध्यक्ष केपी ओली पक्षका नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाएका कारण नेता माधव नेपाल पक्षधर असन्तुष्ट छन् । त्यही असन्तुष्टिले एउटा मेयर र केही वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । हल्दिबारी गाउँपालिकाबाहेक झापाका १५ मध्ये १४ वटा स्थानीय तहको प्रमुखमा ओली पक्षका उम्मेदवार छन् । हल्दिबारी गाउँपालिका प्रमुखकी उम्मेदवार मञ्जु सिटौलामात्र नेपाल पक्षकी हुन् । झापामा सांगठनिक स्थिति अरू पार्टीको भन्दा एमालेको मजबुत भए पनि नेपाल पक्षको असन्तुष्टिले ‘डिफेन्सिभ’ स्थिति निम्त्याएको छ । 

नेपाल पक्षको असन्तुष्टिले क्षति पुग्न नदिन र आफ्ना पार्टीका उम्मेदवारको पक्षमा माहोल बनाउन एमाले अध्यक्ष केपी ओली चार दिन गृहजिल्ला झापामा अडडै जमाएर बसे । उनले सबैजसो नगर र गाउँपालिकामा पुगी आफ्ना पार्टीका उम्मेदवारको पक्षमा मत मागे, एमालेको पक्षमा लहर नै ल्याउन भरमग्दुर प्रयास गरे । तर नेपाल पक्षका प्रमुखको उम्मेदवार भएको गाउँपालिका हल्दिबारीमा भने प्रचारमा गएनन् । यसलाई यहाँ सबै पार्टीले ‘अर्थपूर्ण’ रूपमा हेरेका छन् । ओली चार दिन गृहजिल्ला बसेर बिहीबारमात्र राजधानी फर्किए । झापामा एमालेका ओली पक्षधर सबैजसो नेता तथा कार्यकर्ता चुनावी मैदानमा खटिइरहेका छन् । चुनावी मैदानमा नेपाल पक्षधर नेता तथा कार्यकर्ता भने कमै देखिएका छन् ।

उम्मेदवारी चयनमा भएको कमजोरीले कांग्रेसभित्र समेत केही असन्तुष्टि देखिएको छ । कांग्रेसका पुराना कार्यकर्ता जगदीश काफ्लेले भद्रपुरमा विद्रोह गरेर उम्मेदवार दिएका छन् । तत्कालीन चन्द्रगढी गाविसमा ०५४ मा एमालेबाट अध्यक्ष जितेका दुर्गाप्रसाद भट्टराईले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । भद्रपुरमा कांग्रेसलाई काफ्ले र एमालेलाई भट्टराई टाउको दुखाइ बनेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला र युवा नेता विश्वप्रकाश शर्मा स्थानीय तहमा मनोनयन दर्ता भएको दिनदेखि गृहजिल्लामै छन् । उनीहरू मतदानको दिनसम्म यहीं बस्ने कार्यक्रम छ । जिल्लाका १५ वटै स्थानीय तहमा पुगेर पार्टीको पक्षमा मत मागिरहेका छन् । कांग्रेसका अर्का युवा नेता गगन थापासमेत पार्टी उम्मेदवारलाई जिताउने माहोल बनाउन शनिबारदेखि यहाँका धेरैजसो स्थानीय तहमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

पार्टीको पक्षमा एकाएक चुनावी माहोल बनेको देखेर माओवादी केन्द्रसमेत उत्साहित बनेको छ । अध्यक्ष पुष्पकमल दाहाल स्वयंले नै जिल्लामा पार्टीको पक्षमा देखिएको माहोललाई जितमा बदल्न यहाँका मुख्य–मुख्य स्थानीय तहहरूमा शनिबार हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

जिल्लामा आफ्नो पार्टीको पक्षमा देखिएको माहोलले राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनसमेत निकै उत्साहित छन् । जिल्लाका दक्षिणी गाउँ कचनकबलमा भेटिएका लिङदेन पार्टीलाई बढीभन्दा बढी स्थानीय तहमा जिताउन चुनावी अभियान हाँकिरहेका छन् । उनी सबैजसो नगर र गाउँपालिकामा पुगिरहेका छन् ।

गौरादह नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा एमाले अध्यक्ष ओलीले कान्तिपुरसित संक्षिप्त कुराकानीमा आफ्नो पार्टीमा कुनै असन्तुष्टि नरहेको र जिल्लाका १५ वटा स्थानीय तह नै एमालेले जित्ने दाबी गरे । ‘एमालेमा असन्तुष्टि छ भन्ने कुरा कथाकारले रचेको सुन्दर कथामात्र हो, कुनै आन्तरिक समस्या छैन,’ ओलीले भने, ‘पार्टीले विधिवत् ढंगले टिकट वितरण गरेको हो, एक ठाउँमा दुई जनालाई टिकट दिन मिल्दैन ।’ उनले कांग्रेससित नै प्रतिस्पर्धा हुने उल्लेख गर्दै भने, ‘यहाँ कांग्रेसले जित्नुपर्ने कारण र आधार छन् र ? एमालेबाहेक जित्ने अरू पार्टी र उम्मेदवार छन् र ?’ उनले एमालेको पक्षमा पहिलो चरणको चुनावमा भन्दा पनि राम्रो परिणाम दोस्रो चरणको चुनावमा आउने दाबीसमेत गरे ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले एमालेको असन्तुष्टिका कारण जिल्लामा आफ्नो पार्टीलाई फाइदा पुग्ने दाबी गरे । ‘ओलीजीले टिकट वितरणमा एकलौटी गरेकाले एमालेका स्थानीय नेताहरूको मनोबल घटेको छ, त्यसको बढी फाइदा कांग्रेसलाई हुन्छ,’ उनले भने । सिटौलाले कांग्रेसले १५ वटा स्थानीय तहमध्ये ५ वटामा आदिवासी जनजाति, राजवंशी र मधेसीलाई प्रमुखको उम्मेदवार बनाएकाले पार्टीको पक्षमा माहोल बनेको बताए । उनले जिल्लामा मुख्य प्रतिस्पर्धा एमालेसित हुने उल्लेख गर्दै बहुमत स्थानीय तह कांग्रेसले जित्ने दाबी गरे । उनले जिल्लामा यस पटक माओवादी केन्द्रको स्थितिसमेत मजबुत रहेको बताए ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष झलकसिंह दर्लामीले एमालेभित्र तीव्र आन्तरिक विवाद र वडासम्ममा बागी उम्मेदवारी परेको र कांग्रेसभित्र समेत असन्तुष्टि रहेकाले झापामा आफ्नो पार्टीको पक्षमा माहोल बनिरहेको दाबी गरे । दर्लामीले झापा गाउँपालिकामा संघीय समाजवादी फोरमसित तालमेल भएको जानकारी दिँदै बाँकी सबै स्थानीय तहमा पार्टी एक्लै लड्ने जानकारी दिए । उनले बहुमत स्थानीय तहमा माओवादी केन्द्र विजयी हुने दाबी गरे । ‘सबै ठाउँमा माओवादी केन्द्र प्रतिस्पर्धामा छ, बहुमत ठाउँमा जित्छ,’ उनले भने । राप्रपाका महामन्त्री लिङ्देनले झापामा आफूहरू राप्रपालाई पहिलो शक्ति बनाउने अभियानमा लागेको र त्यसको पक्षमा माहोल बनिरहेको दाबी गरे । उनले राप्रपाले दमक, बिर्तामोड, भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदसीसहित ७ वटा स्थानीय तह जित्ने दाबी गरे । ‘यस पटक राप्रपाको पक्षमा यहाँ राम्रो परिणाम आउनेछ । यी नगर र गाउँपालिकामा कहीं एमालेसित, कहीं कांग्रेससित प्रतिस्पर्धा हुनेछ,’ उनले भने ।

लीलाबल्लभ

बलराम

अर्जुन

Link copied successfully