‘गरिबका पक्षमा लड्छु’

कान्तिपुर संवाददाता

सुर्खेत — भेरीगंगा नगरपालिका १० मदाइनचौरकी ३४ वर्षीया चन्द्रकला बादीले उपमेयर पदमा उम्मेदवारी दिएकी छन् । सामान्य आर्थिक अवस्थाकी उनी बिहानदेखि साँझसम्म घरघरै पुगेर भोट मागिरहेकी छन् । ‘वर्षौंसम्म हामी बादी हेपियौं, चेपियौं । यसपटक एउटा भोटलाई नाइँ नभन्दिनुहोला भन्छु,’ उनले मतदाता फकाउने शैली सुनाउँदै भनिन्, ‘चिनेजानेका सबैले सहयोग गर्छु भनेका छन् । अरूले विचार गरम्ला भन्छन् ।’



राप्रपाले चन्द्रकलालाई उम्मेदवार बनाएको हो । ‘बादीकी छोरीले पहिलोपल्ट यति ठूलो पदमा टिकट पाएकी छु,’ चन्द्रकलाले भनिन्, ‘यो नै म र मेरो समुदायका लागि खुसीको कुरा हो । अब उपमेयर जित्नु छ ।’ मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओबादी केन्द्रले दलित महिलालाई मेयर/उपमेयर नउठाएकाले गरिबदु:खी र दलितको प्रतिनिधित्व गर्न आफूले जित्नुपर्ने उनले बताउने गरेकी छन् ।

मतदातालाई उति ठूला सपना देखाएकी छैनन् चन्द्रकलाले । नगरपालिकालाई जातीय भेदभाव मुक्त बनाउने, विपन्न समुदायको हितमा काम गर्ने, विपन्न समुदायलाई नि:शुल्क शिक्षा दिलाउन लागि पर्ने योजना सुनाउँछिन् । ‘स्कुलले केके नाममा पैसा उठाउँछ थाहा छैन, गरिबका छोराछोरी ५/६ कक्षा पढेर छाड्नुपर्छ,’ उनले भनिन्, ‘मैले जितें भने गरिबका पक्षमा लड्छु ।’

प्रकाशित : वैशाख २५, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्

‘चुनावमा सधैं उपयोग मात्र गरियो’

बादी समुदायको गुनासो
दुर्गालाल केसी, भीमबहादुर सिंह

रावतगाउँ (जाजरकोट) — हरेक निर्वाचनमा पिछडिएको बादी समुदायले राम्रै आश्वासन पाउँछन् तर निर्वाचनपछि भने उनीहरू पुरानै अवस्थामा हुन्छन् । त्यति मात्र होइन समुदायबीचमै विभाजन ल्याएर राजनीतिक स्वार्थमा प्रयोग गरिन्छ । यो निर्वाचनमा पनि रावतगाउँमा त्यस्तै भएको छ ।

पत्नी सूर्यकुमारीका साथ भारत पुगेका भेरी नगरपालिका–१ रावतगाउँका ३८ वर्षीय धने बादी स्थानीय तहको निर्वाचनमा भोट हाल्न हतारहतार घर फर्किए । कले बादी दम्पती पनि बाटोमा छन् । उनीजस्ता दर्जनभन्दा बढी बादी परिवार अझै उतै छन् । भेरी किनारमा बसेका बादी समुदाय माछापाइन छाडेपछि भारतको हिमाञ्चल र गडवालमा माछा मार्न जान्छन् । वर्षौंदेखि माछा मारेरै जीवन चलाउँदै आएका उनीहरूको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन । तर, पनि उनीहरूले निर्वाचनलाई महत्त्वका साथ लिएका छन् । रोजिरोटी छाडेर भोट हाल्न आइरहेका छन् । वादीको जीवनमा परिवर्तन गर्नसक्ने नेता छान्ने रहरका साथ गाउँ फर्किरहेका बादी समुदाय नेताहरूको पुरानै चुनावी शैली देखेर दिक्क छन् । राजनीतिक दलहरूले बादी समुदायलाई चुनावका लागि उपयोग मात्रै गरेको देखेर उनीहरू निराश भएका हुन् ।

वादी समुदायबाट दुई जनाले वडा तहको उमेदार हुने अवसर पनि पाएका छन् । त्यही समुदायभित्र विभिन्न पार्टी पसेर बादी समुदायलाई नै विभाजित गरिदिएका छन् । एउटै घरमा थरीथरीका झन्डा टाँगिएका छन् । कोही एउटा पार्टीको प्रचारमा हिँडेका छन् त कोही अर्कोमा । बादी समुदायको उमेदारलाई जिताउनेभन्दा बादीको भोट कसरी तान्ने भन्नेमा सबै दलका नेताहरू लागिरहेका छन् । यस कुराले चुनावको उत्साह बोकेर भारतबाट फर्केका बादीहरू निराश छन् ।

भोट माग्न आउने हरेक नेताको कुरा भने उही छ, सबै कुरा पूरा गर्छौं । ‘यसअघिका हरेक चुनावमा नेताहरू त्यही भन्थे । अहिले पनि त्यस्तै भन्छन् । चुनावमा भनेका केही कुरा पूरा भएनन्,’ ३७ वर्षीया सूर्यकुमारी बादीले भनिन्, ‘माछा मारेर जीविका चलाउन भारत पुगेका थियौं । चुनाव भनेपछि उत्साहका साथ गाउँ फर्कियौं तर उपलब्धि केही देखिँदैन । बादी समुदाय नै एक ठाउँमा छैनन् । कोही कता हिँडेको छ, कोही कता ।’

स्थानीय ७० वर्षीय मर्दवीर बादीको जीवन माछा मारेर बित्यो । बादी समुदायको मुख्य पेसा माछा मार्ने र बेच्ने थियो । अहिले अरूले पनि माछा मार्ने पेसा अपनाउन थालेकाले नदीमा माछा पाइन छाड्यो । यसले मर्दवीरको जीवन निर्वाहको स्रोत कमजोर बनायो, माछा मार्ने पेसा नै धरापमा पर्‍यो । त्यही कारण उनीजस्तै अधिकांश बादीहरू माछा मार्ने पेसाकै लागि भारत जान्छन् । देशमा आउने राजनीतिक परिवर्तनसँगै उनको जीवनशैलीमा पनि परिवर्तन आउने आशा थियो । त्यस्तो भएन । ‘जीवनमा माछा मार्ने बाहेक अरू केही सिकिएन । अहिले यहाँ माछा पाइन छाडेपछि पेसालाई निरन्तरता दिन भारतका नदीहरू खोज्दै हिँडिरहेका छौं,’ उनले भने, ‘यहीं गरिखाने केही उपाय भए हामी त्यता दौडनुपर्ने थिएन । चुनावबाट जित्ने उमेदारले हाम्रो जीवनमा केही परिवर्तन ल्याइदेओस् भन्ने चाहना छ तर त्यस्तो हुने केही लक्षण छैन ।’

हरेक निर्वाचनमा नेताहरूले सबै माग पूरा गर्ने बाचा गरे पनि चुनावपछि केही नगरेको २९ वर्षीया शान्ता बादीले बताइन् । ‘हरेक निर्वाचनमा नेताहरू गाउँ आउँछन्, बादी समुदायका लागि विशेष कार्यक्रम ल्याउँछौं भन्छन् तर चुनावपछि कार्यक्रम त के नेता नै यता आउँदैनन्,’ उनले भनिन्, ‘अब त नेताहरूलाई मागहरू सुनाउन पनि मन लाग्दैन । भोट माग्दा सबै पूरा गर्छौं भन्छन्, जितेपछि केही गर्दैनन् ।’

रावतगाउँमा ३१ घर बादी छन् । उनीहरू अधिकांशको आफ्नो जग्गा छैन । बालबालिकाले पढ्न पाएका छैनन् । महिलाहरू कामविहिन छन् । खानेपानी, बिजुली केही सुबिधा छैन । गाउँमा धारा बनेका छन्, बिजुलीका पोल र तार टाँगिएका छन् । न धारामापानी आउँछ न तारमा बिजुली । ‘यी बिजुलीका तार र धारा हेरेर चित्त बुझाउनुपरेको छ । पानी लिन भेरी नदीमै पुग्नुपर्छ,’ सुशीला बादीले भनिन्,‘नेताहरूले भोट पाउन केही गरेजस्तो गर्छन् तर चुनावपछि सबै बिर्सन्छन् । बनेका विकास पनि विनाश भएर जान्छन् ।’

बादी महिलालाई सीपमूलक तालिम, व्यवसायमा सहायता र रोजगारको व्यवस्था हुनुपर्ने २७ वर्षीया विन्दु बादीले बताइन् । ‘बादी महिलाहरू खाली बस्नुपरेको छ । कुनै इलम छैन । केही सीपमूलक तालिम पाएर व्यवसाय गर्न सहज हुन्थ्यो,’ उनले भनिन्, ‘पुरुषहरूले माछा मार्दैमा जीवन बिताए । महिलाहरूले केही गर्न सकेका छैनन् ।’ हालसम्मका चुनावमा कुनै पनि नेताले बादीको जीवनस्तर उकास्न केही नगरेको उनलेगुनासो गरिन् ।

आमाबुवा भारतमा माछा मार्न जाने भएकाले बालबालिकाले पढ्न नपाएको २३ वर्षीया कल्पना बादीले बताइन् । ‘घरमा बालबच्चा हेर्ने कोही हुँदैनन् । बालबालिकाले पढ्नै पाएका छैनन्,’ उनले भनिन्, ‘नि:शुल्क शिक्षा भन्छन् तर भर्ना गर्दादेखि नै पैसा तिर्न सुरु हुन्छ । हामीले कसरी पढाउनु ? अब जित्ने नेताले हाम्रा बालबालिकालाई छात्रावासमा राखेर नि:शुल्क शिक्षा दिने व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित : वैशाख २५, २०७४ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्