३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टिसर्ट र झन्डामा प्रतिस्पर्धा

एउटै पसलबाट २२ लाखको टिसर्ट बिक्री

दैलेख — डुंगेश्वर गाउँपालिका १ स्थित चुप्रा बजारमा बिहीबार एमालेले चुनावी प्रचार र्‍याली र सभा गर्‍यो । भोलिपल्ट कांग्रेसले बाजागाजासहित त्यस्तै जुलुस निकाल्यो । माओवादी केन्द्र मात्र के कम ? उसले पनि प्रचारप्रसार अभियानलाई शनिबार चुप्रामा केन्द्रित गरेर दुई दललाई टक्कर दियो ।

टिसर्ट र झन्डामा प्रतिस्पर्धा

निर्वाचन आउन साता बाँकी रहँदा मुख्य दाबेदार दलले प्रचारप्रसार तीव्र पारेका छन् । उनीहरूको प्रतिस्पर्धा घरघरमा झन्डा गाड्न र पार्टीका चुनाव चिह्न अंंकित टि–सर्ट बाँड्नमा पनि देखिएको छ । सदरमुकामस्थित फेन्सी पसलमा सबैभन्दा धेरै टि–सर्ट बिकिरहेका छन् । त्यस्तै, फ्लेक्स प्रिन्टर्स, झन्डा सिलाउने र छाप्ने, चिह्न छाप्नेलाई भ्याइनभ्याइ छ । वीरेन्द्र आर्टका वीरेन्द्र श्रेष्ठ चुनावले बेफुर्सदी बनेको बताउँछन् । ‘चुनावले असाध्यै व्यस्त बनायो । अघिल्ला चुनावभन्दा धेरै फ्लेक्स र झन्डा छापिए’, उनले भने, ‘नगद कमाइ भने धेरै छैन । अधिकांशले उधारो लैजानुभएको छ ।’

दैलेखका ११ गाउँपालिका र नगरपालिकाका लागि पार्टीका स्थानीय कमिटीले टिसर्ट र झन्डामा ठूलो रकम खर्च गरिरहेका छन् । ‘सबैभन्दा धेरै टिसर्ट बिकेका छन्’, सेभेन स्टार फेसन सेन्टरका मनोज थापाले भने, ‘गर्मीमा त्यसै पनि टिसर्ट धेरै बिक्थ्यो । तर, यसपटक चुनावी टिसर्टले त्यो बजार लिएको छ । 

थापाले मात्र २२ लाख रुपैयाँको टिसर्ट बिक्री गरिसकेको बताए । ‘टिसर्टको माग हुन सक्छ भनेर कांग्रेस र एमालेका चुनाव चिह्नसहित काठमाडौंबाट छापेर ल्याएको हो’, उनले भने, ‘सुरुमा थोरै मगाएको थिएँ । माग बढेपछि अर्डर थपें । चुनावी टिसर्ट २ सय रुपैयाँमा बिक्री भइरहेका छन् । उनी एक्लैले ११ हजारभन्दा धेरै टिसर्ट बिक्री गरेका छन् । दैलेख बजार र वरपर थापाको जस्तै १० वटा फेन्सी पसलले टिसर्ट र झन्डा बिक्री गरेका छन् ।

नारायण नगरपालिकामा मात्र कांग्रेसले ७ हजार झन्डा बाँडेको छ । त्यतिले पनि नपुगेपछि थप छपाइ भइरहेको उपमयेर उम्मेदवार वासना थापाका पति रूपक खड्काले बताए । ‘प्रचारप्रसारका लागि कार्यकर्ता झन्डा र टिसर्ट माग्छन्’, उनले भने, ‘सुरुमा काठमाडौंबाट ७ हजार झन्डा ल्याएको हो । नपुगेर फेरि छाप्नुपर्‍यो ।’

कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष पूर्णबहादुर खत्री टिसर्ट खरिदमा चुनावी खर्च अत्यधिक रहेको बताउँछन् । टिसर्ट लिनकै लागि पार्टीपिच्छेका जुलुसमा हिँड्ने युवा पनि उत्तिकै छन् । एउटा गाउँपालिकामा प्रतिस्पर्धी दलले टिसर्ट खरिदमा मात्र ३ लाखभन्दा बढी खर्च गरिरहेको कोषाध्यक्ष खत्रीले बताए ।

एमाले जिल्ला अध्यक्ष रवीन्द्र शर्मा चुनाव यसरी नै खर्चिलो हुँदै जाने हो भने आर्थिक स्थिति कमजोर हुने नेताले चुनाव लड्न नसक्ने अवस्था आउने बताउँछन् । ‘स्थानीय तह निर्वाचन संविधानसभा चुनावभन्दा धेरै भडकलो र खर्चिलो भयो’, उनले भने, ‘चुनावबिना लोकतन्त्र सम्भव छैन । त्यसैले पनि तडकभडक र कम खर्चिलो बनाउनुपर्ने देखियो ।’ टिसर्ट तथा झन्डा खरिदको खर्च पार्टी कमिटी, निर्वाचन परिचालन समिति, शुभेच्छुक र उम्मेदवार स्वयंले बेहोर्ने गरेका छन् । उक्त खर्च निर्वाचन आचारसंहितामा तोकिएको भन्दा धेरै गुणा बढी छ । माओवादी केन्द्रबाट नारायण नगरपालिकामा उपमेयर उम्मेदवार रत्ना रेग्मी टिसर्ट र झन्डामा धेरै खर्च गर्नुपर्ने पार्टीहरूको बाध्यता बनेको बताउँछिन् । 

प्रकाशित : वैशाख २५, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?