२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उम्मेदवार छनोट अप्ठ्यारोमा

पोखरा ब्युरो

स्थानीय तह चुनावमा सहकार्य गरी अघि बढ्ने सहमति गरेका गुल्मीका एमाले र माओवादीलाई उम्मेदवार चयनमा अप्ठयारो परेको छ । लामो चरणको छलफल र वार्तापछि दुवै पार्टी सहकार्य सहमत भएका थिए । कार्यकर्तास्तरबाट आएको सहकार्यको विरोध र आकांक्षी बढी भएकाले पनि दललाई सर्वसम्मत उम्मेदवार तयार गर्न हम्मे परेको हो ।

उम्मेदवार छनोट अप्ठ्यारोमा

‘हामी अन्तिम तयारीमा छौं,’ माओवादी केन्द्रीय सदस्य बुद्धि जीसीले भने, ‘सहकार्य भएका दुई गाउँपालिकामा प्रमुखको टुंगो लागेको छ, अर्कोमा छलफल जारी छ ।’ उनका अनुसार माओवादीले एमालेसँगको सहकार्यमा धुर्कोट गाउँपालिकामा भुपाल पोखरेल र चन्द्रकोट गाउँपालिका प्रमुखमा युवराज केसीलाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै मालिका गाउँपालिकामा आकांक्षी धेरै भएकाले छलफलमै रहेको उनले बताए । मालिकामा माओवादीका तर्फबाट देविराम अर्याल, वीरबहादुर कार्की र ज्ञानकुमार बुढाले प्रमुखमा दाबी गरेका छन् । प्रमुखकै टुंगो नलाग्दा वडा अध्यक्ष चयन सबै बाँकी छन् ।

एमालेले प्रमुखका लागि रेसुंगा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा सोमनाथ सापकोटा, कालीगण्डकी गाउँपालिकामा टीकाराम ढकाल, रुरुमा नीलकण्ठ गौतम, छत्रकोटमा मधुकृष्ण पन्त, गुल्मी दरबारमा कृष्णप्रसाद भुसालको नाम सिफारिसका लागि तयारी गरेको छ । त्यस्तै आकांक्षी धेरै हुँदा मदाने, सत्यवती र इश्मामा छलफलमै रहेको कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्तले बताए । २ वाम सहकार्यको विषयमा कार्यकर्ताबाट केही विरोध देखिए पनि जिल्लाको आवश्यकताका आधारमा सहकार्य गरिएको उनले बताए । जनमोर्चासँग पनि तालमेल प्रक्रिया टुंगिएको र राप्रपासँग छलफल जारी रहेको उनले बताए ।

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले माओवादीसँगको कुराकानीले अल्झाएकाले केही ढिलो भएको बताए । माओवादीसँग चुनावी सहकार्यका विषयमा आफ्नो तल्लो तहका कार्यकर्ताबीच विरोध देखिए पनि एमालेले भने राष्ट्रिय जनमोर्चा, नेकपा माले र राप्रपासँग पनि तालमेलका लागि अन्तिम छलफल भइरहेको जनाएको छ ।

२ नगर र १० गाउँपालिका रहेको जिल्लामा २ नगर सहित ७ गाउँपालिकामा एमाले र ३ गाउँपालिकामा माओवादीले प्रमुख पाउने गरी सहमति गरेका थिए । सहकार्यअनुसार १२ उपप्रमुखमध्ये १ नगरसहित ६ स्थानमा माओवादीले पाएको छ । त्यस्तै ९३ वडामध्ये २४ माओवादीले पाएको छ । वडा सदस्य आवश्यकताका आधारमा जित्ने गरी उम्मेदवारी दिने दुई दलबीच सहमति भएको छ ।

तालमेलले छनोट अन्योल
अर्घाखाँची– नगर र गाउँपालिकामा आकांक्षी उम्मेदवारको नामावलीको सिफारिस वडा तहबाट सबैले जिल्लामा पठाएका छन् । तर, जिल्ला नेतृत्वमा समकक्षी पार्टीसँग तालमेलको छलफल चलिरहेको छ ।

सानामा सहमति, ठूलालाई सकस
पर्वत– राप्रपाले कुश्मा नगरपालिकाको प्रमुखमा जिल्ला सदस्य प्रकाश पौडेललाई सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ । उपमेयरमा भने मानकुमारी गिरी सर्वसम्मत सिफारिस भइन् । जलजला गाउँपालिकामा धाइरिङका पुष्पराज उपाध्यायलाई मेयर र धर्मकुमारी जैसीलाई उपमेयरमा सिफारिस गरिएको छ । बिहादी गाउँपालिकाको प्रमुखमा नारायणदत्त भुसाल र उपप्रमुखमा उमादेवी भट्टराई सर्वसम्मत उम्मेदवार भएका छन् । पार्टीले पयुँमा हेमप्रताप सेनलाई प्रमुख र सुमित्रा थापालाई उपप्रमुखको टिकट दिएको छ । ‘कुश्मामा अलि समस्या हुन्छ कि भन्ने लागेको थियो,’ अध्यक्ष ईश्वर गिरीले भने, ‘सहजै समाधान भयो ।’ उनले सबै गाउँ/नगरपालिकामा सर्वसम्मत उम्मेदवार चयन भएको बताए । फलेबास, मोदी र महाशिलामा पनि सर्वसम्मत उम्मेदवार चयन गरिने उनले बताए । उम्मेदवारहरू पनि चुनावी अभियानमा गाउँ पस्न थालिसकेका छन् ।

नेकपा मालेले पनि जिल्लाका सबै गाउँ र नगरपालिकामा उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ । ‘आन्तरिक रूपमा सबै टुंगिएको छ,’ जिल्ला सचिव लालबहादुर हरिजनले भने । जिल्लामा सक्रिय अन्य साना दलहरूले पनि सहमतिमै उम्मेदवारको टुंगो लगाएको जनाएका छन् । कांग्रेस र एमालेमा उम्मेदवारका आकांक्षी धेरै भएपछि टुंगो लगाउन पार्टीका जिल्ला अगुवालाई गाह्रो परेको छ ।

योगदान कि क्षमता
स्याङ्जा– उम्मेदवारी दिन चाहने २ प्रकारका छन् । एकथरि लामो समयदेखिको पार्टीगत सक्रियताको मूल्यांकन गरी टिकट चाहन्छन्, अर्काथरि क्षमता हेरी उम्मेदवार बन्न दिइनुपर्ने बताउँछन् । ठूला पार्टीमा आकांक्षी धेरै भएकाले उम्मेदवारको टुंगो पनि लगाउन गाह्रो परेको छ । एमाले स्याङ्जाले पुतलीबजार नगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गरेका ३ मध्ये एक मतदाता नामावलीमा नाम नभएका परेका छन् । सीमा क्षत्री, अनन्तकुमार श्रेष्ठ र ध्रुवबन्धु अर्यालको नाम प्रमुखमा पार्टीले उठाउनुपर्ने अन्तिम सूचीमा परेको छ ।

काठमाडौं बस्दै आएका अर्यालको स्याङ्जाको मतदाता नामावलीमा नाम छैन । क्षत्री पूर्वशिक्षिका हुन् भने श्रेष्ठ जिल्ला पर्यटन विकास समिति उपाध्यक्ष तथा सामाजिक कार्यकर्ता हुन् । यस्तै चुनावको मिति नजिकिँदै गर्दा यहाँका मतदान अधिकृतहरू भने आफूहरू नै मतदाता शिक्षाबारे अनभिज्ञ रहेको बताएका छन् । प्रजिअ हरिप्रसाद पन्थी, मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश रमेशकान्त अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र दलका प्रतिनिधि सम्मिलित छलफलमा यहाँका ११ वटै स्थानीय निकायका निर्वाचन अधिकृतहरूले मतदाता शिक्षा तालिम आयोजना गर्नुपर्ने माग गरेका छन् ।

म्याग्दीमा आकांक्षीको नाम सिफारिस
म्याग्दी– दलहरूले जिल्ला तहमा टुंगो लगाउने अख्तियारी पाएका पदमा उम्मेदवार छनोट गरेका छन् । नगर र गाउँपालिका प्रमुख, उपप्रमुखमा आकांक्षी धेरै भएपछि दलहरूले उनीहरूको नाम माथिल्लो निकायमा सिफारिस गरेका छन् । जिल्लाका सबैजसो नगर र गाउँपालिकामा निर्वाचनको चटारो सुरु भइसक्दा रहुगंगा गाउँपालिकामा भने सुनसान छ । केन्द्र विवादले स्थानीय आन्दोलनमा उत्रेपछि दलहरूले समेत उम्मेदवारी छनोट गर्न सकेका छैनन् । सबै दलका स्थानीय कमिटीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि दलहरू गाउँ पस्न नसकेका हुन् । रहुगंगामा सेवा कार्यालयसमेत स्थापना भएको छैन । कर्मचारी सदरमुकाममै छन् ।

सदरमुकाम बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखमा हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की र नेत्रबहादुर महतको नाम सिफारिस भएको छ ।

गाउँगाउँमा मतदाता शिक्षा
मुस्ताङ– स्थानीय तह चुनावका लागि भोट दिने तरिका जानकारी दिन यहाँका सबै गाउँमा मतदाता शिक्षा दिन थालिएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले पाँचवटै गाउँपालिकामा कर्मचारी र स्वयंसेवक परिचालन गरेको छ ।

जिल्लाभरका ३७ बुथमा मतदाता शिक्षा दिनेहरू परिचालित छन् । मतदानको तरिका बताउन आयोजना हुने भेलामा गाउँका वृद्धवृद्धा, युवा उत्साहपूर्वक सहभागी भएका छन् । सबै बुथमा मतदाता शिक्षा सामग्री पुगेको छ ।

नियमित कर्मचारीका अतिरिक्त निर्वाचन कार्यालयले म्यादी कर्मचारीहरू पनि थप गरेको छ । साबिकको जिविसमा काम गर्ने सामाजिक परिचालकलाई भत्ताको व्यवस्था गरी मतदाता शिक्षामा परिचालन गरिएको छ ।

यसपटकको मतपत्रमा ७ उम्मेदवारलाई भोट दिनुपर्ने हुन्छ । नपढेका तथा वृद्धवृद्धालाई उनीहरूकै बुझ्ने भाषामा सिकाउने काम भएको कार्यालयले जनाएको छ । ‘स्थानीय भाषामै बुझाएर कर्मचारीले सबैलाई मतदाता शिक्षा दिएका छन्, ‘सुब्बा बालकृष्ण मिश्रले भने, छाप लगाउनेदेखि लिएर स्वतन्त्रपूर्वक आफ्नो मताधिकारबारे हामीले उनीहरूलाई सिकाएका छौं ।’ अघिल्ला चुनावभन्दा फरक प्रकारको मतपत्र भएकाले जिम्मेवारीपूर्वक मतदाता शिक्षा दिनुपरेको उनले बताए ।

चुनावलाई निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न सबै दलहरू र नागरिक समाजसँग छलफल गरिएको न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

प्रकाशित : वैशाख १६, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?