कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जापान : सपना संघर्ष र सफलता सार्वजनिक 

श्रावण २६, २०८१
जापान : सपना संघर्ष र सफलता सार्वजनिक 

काठमाडौँ — जापानी भाषाका अनुवादक जिज्ञानकुमार थापाको पुस्तक 'जापानः सपना संघर्ष र सफलता' सार्वजनिक गरिएको छ । 

नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक थापाले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । किताब समय सान्दर्भिक भएको युताकाले बताए । 'किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल-जापान बीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ,' उनले भने, 'पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन् भन्ने लाग्छ । जापानमा युवा जनशक्तिको खाँचो छ । त्यो संख्या उपलब्ध गराएकोमा हामी नेपालप्रति आभारी छौं ।'

त्यसैगरी जापानका लागि नेपाली पूर्वराजदूत भट्टराईले जापानको सभ्यता, प्राकृतिक सौन्दर्य र जापानीहरुको मृदुभाषी बानीले लोभ्याउने गरेको र त्यो कुरा किताबमा आएको बताए ।' राजदूतको रुपमा पहिलोपटक पुग्दा जापानको सभ्यता, प्राकृतिक वातावरण र जापानका मृदुभाषी जनताले मलाई खुबै लोभ्यायो,' उनले भने, 'जापानको सपना संघर्ष र सफलताले यसलाई समेटेको छ ।'

लेखक थापाले जापानमा बसेर लामो समय दोभाषेको काम गरेको अनुभव सुनाए । उनले भने, 'यो किताब जापान जान चाहनेलाई समर्पित छ । मैले हाँसिल गरेको ज्ञान, अनुभव पस्किएको छु । जापान जान चाहनेका लागि यो पुस्तकले त्यहाँको समाज र संघर्षलाई कसरी आत्मसाथ गर्न सकिन्छ र सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्न सघाउने छ ।'

लेखक अधिकारीले किताबमाथि टिप्पणी गर्दै भने, 'भर्खरै जापान पुगेका, जापान जान लागेका, जापान जान सपना देखेका र जापानबारेमा जान्न चाहने सबैका लागि यो एक बहुउपयोगी पुस्तक हो ।' उनका अनुसार पुस्तकमा जापानी रहनसहन, खानपान, भाषा, संस्कृतिदेखि नेपालीहरुले जापानमा अवलम्बन गर्नुपर्ने हरेक विषयहरुलाई मिहिन ढंगले व्याख्या र विश्लेषण गरिएको छ ।

जापानः सपना संघर्ष र सफलता लाई चक डस्टर प्रकाशन गृहले बजारमा ल्याएको हो । किताबको मूल्य ५ सय रहेको छ ।


प्रकाशित : श्रावण २६, २०८१ १७:४१
x
×