कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

झापामा भुटानी लेखनबारे विमर्श

श्रावण २५, २०८१
झापामा भुटानी लेखनबारे विमर्श

काठमाडौँ — झापामा समकालीन नेपाली साहित्य र भुटानी साहित्यबारे विमर्श भएको छ । दि लिटरेरी सोसाइटी अफ भुटान, दमक–३ मा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले शिविरबाट तेस्रो मुलुकमा भुटानी शरणार्थी व्यवस्थापनपछिको लेखन, सिर्जना र प्रकाशन स्थितिमाथि अनेक कोणबाट आआफ्नो धारणा राखे ।

भुटान छोडेर नेपाल आएपछि संघर्षरत भुटानीलाई नेपाली पहिचान दिने र आधारभूत सुविधा दिएर मूल प्रवाहको लेखन, जीवनशैलीमा उभिने आधार दिनुपर्नेमा नियात्राकार एवं निबन्धकार युवराज नयाँघरेले जोड दिए । ‘संसारमा आफ्नो बेग्लै पहिचान बनाइरहेका नेपालीलाई राजनीतिक र भौगोलिक हेराइले विवेचना गर्न मिल्दैन,’ उनले भने, ‘भुटानी साहित्यलाई हामीले साँघुरो भावले हेर्नुहुन्न ।’

नेपाली साहित्यको उन्नतिमा शिविरमा रहेका भुटानी लेखकले स्वतन्त्रता , विद्रोह र परिवर्तनका नौला–नौला सिर्जनात्मक स्वाद पस्कन सक्षम भएको साहित्यकार धनकुटे कान्छाले बताए ।

भुटानी शरणार्थीलाई प्रारम्भिक दिनमा साहित्य लेखनमा अनेकौं प्रशिक्षण दिइएको शिक्षासेवी तथा लेखक जयबहादुर श्रेष्ठको भनाइ छ । ‘अत्यन्तै बलिया कलमजीवीलाई मैले शिविरमा भेटेको थिएँ,’ उनले भने, ‘अहिले भने त्यो उर्जा र गतिले शिथिलता पाएको छ ।’

धेरैजसो शरणार्थी तेस्रो मुलुक गएपछि भुटानी विचार, भावना र आन्दोलन नसेलाओस् भनी यो सोसाइटी निर्माण गरी आफ्नो सोच पोखिरहेको साहित्यकार तिलक राईले जनाए । देशको साहित्य भन्ने नारा सार्थक पार्न पनि यो सोसाइटी बनेको र त्यही दृष्टिकोणसहितको साहित्य लेखिरहेको साहित्यकार दिल भुटानीले बताए ।

‘हामी शरणार्थीले आफ्नो मौलिकता र पहिचान जोगाउने साहित्यको गतिशीलताक निम्ति यो संस्था निर्माणको लक्ष्य राखेका हौं,’ लेखक वीरेन मगरले भने, ‘नेपाली भाषामा लेखिए पनि भुटानी साहित्य पूर्णतः भिन्न छ, अलग छ ।’

बेलडाँगीको सिर्जना र बौद्धिक बहसमा कमी नहोस् भन्ने सोचले यो सोसाइटी बनेको र यसले कार्य गरिरहेको साहित्यकार थिरु घिमिरेको भनाइ छ। सोसाइटीमा आबद्ध सबै साहित्यकारले एक जना भुटानी शरणार्थी आफ्नो मुलुक नफर्केसम्म यो साहित्यिक आन्दोलन नरोकिने बताए ।

सन् २०२१ मा खोलिएको लिटेरेरी सोसाइटी र सन् २०२३ देखि पुस्तकालय सञ्चालनमा आएको कार्यक्रममा उल्लेख गरियो । करीब पाँच हजार पुस्तक रहेको पुस्तकालयमा हरेक अंग्रेजी महिनाको पहिलो शनिबार साहित्यिक कार्यक्रम हुने गरेको छ ।

प्रकाशित : श्रावण २५, २०८१ २२:११
x
×