काठमाडौँ — यसवर्षको हेमबहादुर मल्ल सम्मान कूटनीतिज्ञ भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन संघद्धारा प्रदान गरिँदै आएका उक्त दुई लाख रुपैयाँ राशीको पूर्वराजदूत थापालाई प्रदान गरिएको छ ।
२०६० सालबाट प्रदान गर्न थालिएको उक्त पुरस्कारको २०७९ सालको सम्मान स्वरुप नेपाल सरकारका पूर्वसचिव थापालाई दिइएको हो । थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रसंशा पत्र सहित सम्मान गरेका हुन् ।
‘जीवनको लामो यात्रामा यो प्रकारको स्नेह र सद्भाव मेरो कल्पानामा थिएन । यसले मलाई स्नेह, सद्भाव र गहिरोपनको अनुभूमि दिएको छ,’ सम्मानपछि थापाले भने । उनले आफूले प्राप्त सम्मानको रकम आमाको सम्झनामा महिला कार्यक्रमको लागि सहयोग गर्ने पनि घोषणा गरे ।
यस्तै, कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने सम्बैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गरे ।
उनले भने,‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पुर्याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ साधै क्रियाशील रहोस् ।’ उनले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको सम्वृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरे ।
उनले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन संघले महत्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गरे ।
प्रकाशित : श्रावण २३, २०८१ २०:३२