काठमाडौँ — ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्राध्यापक विन्दु पोखरेल, पूर्वमन्त्री हिसिला यमी, त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभाग प्रमुख सुदीपसिंह नकर्मी र द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेल र लेखकहरुले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।
नकर्मीले पुस्तक महिलावादी दृष्टिकोणका साथै नेपाली महिला इतिहासको दस्ताबेजीकरणमा महत्त्वपूर्ण भूमिका रहने बताए । उनले भने ‘पितृसत्तात्मक प्रभुत्वबाट निर्देशित एकपक्षीय ज्ञान निर्माण र प्रसारको विभेदकारी प्रचलनलाई तोड्ने अभियानमा प्राय लैङ्गिक विभागको महत्त्वपूर्ण अध्ययन हुन्छ, यस पुस्तक विभागका लागि मात्र नभई अन्य विश्वविद्यालय र आमपाठकका लागि संङ्ग्रहणीय छ ।’
कार्यक्रममा पुस्तकबारे जानकारी दिँदै समाजशास्त्री मीना पौडेलले यस पुस्तकमा महिलाका हरेक कोणबाट विषयवस्तु समावेश भएकाले पुस्तकले दस्तावेजका रूपमा काम गर्ने बताइन् । द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेललले यो पुस्तक महिलावादी दृष्टिकोणबाट इतिहास लेखनका लागि सुरुवात गरेको बताइन् । उनले भनिन् ‘महिलावादी दृष्टिकोणबाट इतिहास लेख्नका पुस्तक लेखन सुरुवाती प्रयास हो, यसमा महिलावादी विषय धेरै छुटेका छन् यसलाई पूर्णता दिने काममा सचेत र सक्रिय रहने छौं । ’
पुस्तक द स्टोरी किचन, सन्धानको आयोजना र त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन विभागको सहकार्यमा प्रकाशित भएको हो । पुस्तकमा २१ जना पत्रकारहरूका २२ वटा विभिन्न विषयका लेखहरु समावेश गरिएको छ ।
कार्यक्रममा लेखक तथा पत्रकार अमृता अनमोल, उन्नती चौधरी, चाँदनी आचार्य, कैलाश राई, गगनशिला खड्का, दिलमाया शाही, निरासी धामी, प्रकृति दाहाल, प्रणेता, प्रतिमा सिलवाल, मनिका विक, मन्दिरा अधिकारी, माधुरी महतो, मानमती पाण्डे, विद्या राई, विवेका थापा, सविता श्रेष्ठ, सम्झना विक, सरिता सापकोटा, सीता विके, सुजाता ढुंगाना तथा मेन्टरहरू रीता शाह, प्रतिमा गुरुङ, डा. अरुणा उप्रेती, सीमा खान, सरु जोशीलगायतलाई सम्मान गरिएको थियो ।