२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

११ औं नेपाल लिटरेचर फेस्टिभल : अर्थतन्त्र, महजोडी र गाउँ

 पोखरामा जारी फेस्टिभलको दोस्रो दिन स्वदेशमै सम्भावना, अर्थतन्त्रका पछिल्ला सूचक, कुसुन्डा भाषा र गाउाको खबरलगायत विषयमा बहस 
दीपक परियार

पोखरा — दैनिक तीन हजार नेपाली युवा ‘देशमा भविष्य नभएको’ भन्दै बाहिरिँदै गर्दा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरी पूर्वमिस नेपाल शृंखला खतिवडा स्वदेश फर्किइन् । अर्थशास्त्री स्वर्णिम वाग्ले नेपाल फर्किएर राजनीतिमा होमिए ।

११ औं नेपाल लिटरेचर फेस्टिभल : अर्थतन्त्र, महजोडी र गाउँ

पोखरामा जारी पाँचदिने ११ औं नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन शुक्रबार दुवैलाई सोधियो, ‘नेपाल फर्किन केले प्रेरित गर्‍यो ?’ दुवैको साझा जवाफ थियो, ‘स्वदेशमा सम्भावना देखेर फर्कियौं ।’

‘ब्रेन गेन : फर्केर के गर्ने ?’ सेसनमा शृंखला र स्वर्णिमसँग पत्रकार सोनिया अवालेले संवाद गरेकी थिइन् । शृंखलाले आफ्ना लागि नेपालमै अवसर भएका कारण फर्किएको बताइन् । ‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ,’ उनले भनिन्, ‘नेपालमा एक हिसाबको उचाइ पाइसकेपछि ग्लोबल्ली केही गरौं भन्ने थियो । ग्लोबल एरिनामा मैले केही गर्नु छ भने नेपाललाई नै लन्चप्याड बनाउँदा सबभन्दा भ्यालुएबल र सुनौलो अवसर थियो ।’ नेपालका युवामाझ आफूले कमाएको चर्चाका कारण पनि फर्किएको उनले सुनाइन् । सार्वजनिक व्यक्ति भइसकेपछि नेपालमा नफर्किंदा यसले युवामा निराशा जगाउने सम्भावना रहेका कारण पनि नेपाल आएको उनको भनाइ छ । निजी क्षेत्रलाई बलियो बनाएर स्वदेशमै सम्भावना रहेको सन्देश दिने वातावरण सरकारले बनाउनुपर्ने उनको धारणा थियो ।

सांसद स्वर्णिमले बाध्यता र आवश्यकताका कारण विदेश होमिएका नेपालीलाई फर्काउन समस्या नरहेको बताए । नेपाल फर्किसकेपछि उनीहरूलाई अड्याइराख्न ‘ग्लोबल सिटिजन’ को अवधारणा ल्याउनुपर्ने उल्लेख गरे । ‘विदेशलाई कर्मथलो बनाएका निजी व्यवसायी वा नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सहज बनाउनुपर्छ,’ उनले भने, ‘नेपालमा रहेका व्यवसायीले पनि विदेशमा लगानी गर्ने सम्भावनालाई खुला गर्नुपर्छ ।’

कान्तिपुरकर्मी यज्ञ बञ्जाडेले व्यवसायी निरञ्जन श्रेष्ठ, अर्थमन्त्रीका आर्थिक सल्लाहकार गुणाकर भट्ट र स्वतन्त्र विज्ञ भुवन दाहालसँग ‘अर्थतन्त्र ः तंग्रिन्छ कि लड्छ ?’ शीर्षकमा छलफल चलाए । छलफलमा सहभागीको साझा धारणा थियो, ‘अर्थतन्त्र तंग्रिन राजनीति स्थिर हुनुपर्छ । पाँच वर्ष स्थिर सरकार हुने व्यवस्था हुनुपर्छ ।’

गुणाकरले अर्थतन्त्रमा सुधार भइरहेको बताए । २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितिमा दबाब रहेको उनी सम्झन्छन् । ‘गत वर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिति १० अर्ब २८ करोड डलर थियो । अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिति छ । त्यसले १२.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ,’ उनले भने, ‘२ वर्षअगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो, नेपाल कतै श्रीलंका त बन्दैन भनेर । हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्त्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’ स्वतन्त्र विज्ञ भुवन दाहालले अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको बताए । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने उनको तर्क थियो । व्यवसायी निरञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउँदै तंग्रिरहेको बताए । अहिले भने निजी क्षेत्र निकै निराश रहेको उनको भनाइ थियो ।

‘जीवनको अन्त्यसम्म महजोडीको नाम’

‘महतन्त्र’ सत्रमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग पत्रकार वसन्त बस्नेतले लामो समयको मित्रताको सूत्रबारे उधिने । स्वभावअनुरूप ठट्यौली शैलीमा प्रस्तुत भएका हरिवंशले आफू बिरालो र मदनकृष्ण दूध भएको बताए । ‘मदन दाईलाई बिरालो भनौं भने चित्त दुखाउनुहुन्छ होला । मदन दाइ दूध हो । म बिरालो हो । अनि दूधको साक्षी बिरालो,’ उनले भने ।

कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एकअर्काको सम्मानमा शब्द खर्चिए । मदनकृष्ण र हरिवंशको सहकार्य ४ दशक लामो भइसकेको छ । तर, हालसम्म उनीहरूबीच न खोट देखिन्छ न खटपट नै । उनीहरूले एकै स्वरमा भने, ‘महजोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने हो ।’

फेवाताल किनारमा गाफिँदै मदनकृष्णले हरिवंशलाई बदलाको भावना नलिने गरेको बताए । मदनकृष्ण र हरिवंश दुवैले आफूहरू दुवै अध्यक्ष जस्तो भएको बताउँदै आएका छन् ।

आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले पनि धेरैको मित्रता नटिक्ने गरेको हरिवंश बताउँछन् । तर, आफूहरूमा सात पुस्तालाई कमाउने प्रवृत्ति नभएको उनले सुनाए ।

नेपालमा कुसुन्डा तेस्रो भाषा समूह

‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा नेदरल्यान्ड्सका भाषाशास्त्री जर्ज भ्यान ड्रिमले भोट बर्मेली र भारोपेली भाषाबाहेक पनि नेपालमा कुसुन्डा भाषाको छुट्टै इतिहास रहेको बताए । अध्येता यादव देवकोटासँगको संवादमा उनले भने, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’ लिम्बू भाषामा पीएचडी गरेका उनी ‘सुरेश दाइ’ नामले पनि परिचित छन् । पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा नेपालमा छन् ।

‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयक सेसनका वक्ताले राजनीतिमा महिलाको संख्या कम हुनुमा सामाजिक, सांस्कृतिक पाटो मात्रै नभएर आर्थिक कारण पनि भएको बताए । सञ्चारकर्मी समा थापाले सहजीकरण गरेको उक्त सत्रमा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, युवा नेतृ मानुषी यमी भट्टराई, कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिना र व्यवसायी शोभा ज्ञवालीले चर्चा गरेका थिए ।

‘संगीतको जातशास्त्र’ सत्रमा लोकगायक बद्री पंगेनी, देउडा गायिका डिक्रा बादी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलीप गायकसँग अधिकारकर्मी शिवहरि ज्ञवालीले छलफल चलाए । उनीहरूले संगीत क्षेत्रमा जातका आधारमा हुँदै आएका विभेदका विषयमा छलफल गरे । जातीय विभेदलाई हटाउन अझैं पनि पर्याप्त मात्रामा नेपाली गीत संगीत उत्पादन नभएको छलफलमा सहभागी वक्ताले बताए ।

‘विद्यार्थीका कविता कुरा’ सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीले विमर्श गरे । उक्त सत्रमा विद्यार्थीहरू बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अञ्जना सुवेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र सहारा खतिवडाले सहजकर्ता अव्यग्र अस्मितसँग आफ्ना कविता अनुभव सुनाए । साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरूको भनाइ थियो ।

‘कथा भन्ने सारंगी’ सत्रमा पोखरा हेमजाकी १२ वर्षीया सारंगीवादक प्रकृति गन्धर्व, गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्व सँगै स्टेजमा उभिए । लोक संस्कृतिसम्बन्धी अध्येता डा.कुसुमाकर न्यौपानेले सहजीकरण गरेको सत्रमा उनीहरूले लोकबाजा सारंगीलाई लोप हुन दिन नहुने विचार राखे ।

अर्को सत्रमा लेखक कुमार नगरकोटीले आफूद्वारा लिखित ग्राफिक उपन्यास ‘जे थर्टी–थ्री’ को स्नेक प्रिभ्यु गरे । उनले उक्त पुस्तकमा समेटिएको पृष्ठभूमि, समावेश विषयवस्तुका बारेमा पाठकलाई जानकारी दिएका थिए । ‘के छ गाउँको खबर ?’ सत्रमा प्रतिनिधिसभा सदस्य सन्तोष परियार, सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र अनुसन्धानकर्ता डा.सबिन निङेलेखुसँग पत्रकार वासुदेव मिश्रले गाउँको विषयमा मन्थन गरे ।

प्रकाशित : फाल्गुन ५, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?