१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुका प्रथम

काठमाडौँ — किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मारेकी हुन् ।

वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुका प्रथम

संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) कविता शीर्षकमा कविता आह्वान गरेको थियो । वाम्रास सुनसरी जिल्ला कार्यसमितिको व्यवस्थापन रहेको प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ–३ का कवि कमल किराती द्वितीय भएका छन् । यसैगरी मानेभन्ज्याङ–५ का कवि श्याम वाम्बुले राई तृतीय भएका छन् । साथै, धरान–५ का कवि जगतधन राई र विराटनगरकी कवि शुभकुमारी राईले सान्त्वना पुरस्कार पाएका छन् ।

विजयी कविलाई क्रमशः प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार तथा दुई जनालाई २–२ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दर्जनभन्दा बढी कविले प्रतियोगी र देश–विदेशबाट अप्रतियोगीसहित ६५ कविका कविता वाचन गरेका थिए ।

समारोहका प्रमुख अतिथि भाषाशास्त्री प्राध्यापक टंकप्रसाद न्यौपाने, वाम्रास केन्द्रीय अध्यक्ष तथा पत्रकार गजुरधन राई, वाम्रास सुनसरी अध्यक्ष लाखमान राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्राध्यापक न्यौपानले मातृभाषामा कविता गोष्ठीमात्र पर्याप्त नहुने उल्लेख गरे । ‘कविता लेखेरमात्रै हुँदैन, कथा, निबन्ध, मुन्धुमका अनेक पक्षबारे विधागत लेखन प्रतियोगिता हुन जरुरी छ,’ भाषाशास्त्री न्यौपानेले भने, ‘वाम्बुले भाषा, साहित्य, संस्कृतिको उन्नतिमा औपचारिक पठनपाठनसमेत हुन आवश्यक छ ।’ साथै पछिल्लो समय अन्तरभाषी विवाह, सहरीकरणलगायत विभिन्न कारण भाषा, संस्कृति संकटतर्फ धकेलिएको उल्लेख गरे ।

वाम्रास केन्द्रीय अध्यक्ष राईले ऐतिहासिक किरातभूमिको अस्तित्व संरक्षणका निम्ति वाम्बुले साहित्यमा ‘इक किरात प्रदेश’ (हाम्रो किरात प्रदेश) शीर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले यस्ता रचनात्मक कार्य गरेर थुप्रै कविहरू जन्मायौ,’ गाउँघरदेखि सहरसम्मै भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्दै आएको उल्लेख गर्दै अध्यक्ष राईले भने, ‘पुर्खाले आर्जेका कला, संस्कृतिको रुपान्तरणका निम्ति साहित्य गोष्ठी र प्रतियोगिता निरन्तर राखेका छौं ।’

२०५५ देखि वाम्बुले राई भाषाको कविता प्रतियोगिता ओखलढुंगा, खोटाङ र उदयपुर जिल्लामा भौतिक उपस्थितिमा आयोजना गरिँदै आएको थियो । कोभिड–१९ महामारीले ०७७ र ०७८ सालमा अनलाइन (भर्चुअल) माध्यमबाट कविता प्रतियोगिता भएको थियो भने ०७९ सालमा डेंगु महामारीको कारण प्रतियोगिता रोकिएको थियो ।

प्रकाशित : मंसिर २०, २०८० २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?