१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

श्रेष्ठ, गुरुङ र घिमिरेलाई अन्तर्दृष्टि पुरस्कार

काठमाडौँ — डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेको ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ ।

श्रेष्ठ, गुरुङ र घिमिरेलाई अन्तर्दृष्टि पुरस्कार

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको अन्तर्दष्टि पुरस्कार समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअनुसार ‘अन्तर्दृष्टि नमुना शिक्षक’ गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठले पाएका छन् ।

‘शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ भने सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिने समितिले जनाएको छ । यसैबीच ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिने बताइएको छ ।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रहेको समितिको भनाइ छ ।

‘विद्यार्थी, शिक्षक र पत्रकारका माध्यमबाट समाज रूपान्तरणमा केही योगदान होस्, जहाँ कसैलाई नछुटाइयोस् भन्ने अपेक्षाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा यो पुरस्कार घोषणा गर्दै आएका छौं,’ पुरस्कारका संरक्षक लामिछानेले कान्तिपुरसँग भने ।

पुरस्कारहरू वषन्तपञ्चमीका दिन प्रदान गरिने जनाइएको छ । अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार समितिमा होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछाने रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर १७, २०८० १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?