काठमाडौँ — पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक मंगलबार सार्वजनिक भएको छ ।
पुस्तक पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा थापाले भोगे–बेहोरेका अनुभव र यो अवधिको शासन सत्तासँग जोडिएको छ ।
पुस्तकका लेखक थापा, सहलेखक पत्रकार हरिबहादुर थापा, संघीय सासदद्वय स्वर्णिम वाग्ले र सुमना श्रेष्ठ तथा पत्रकार/लेखक सुधीर शर्माले मंगलबार संयुक्त रुपमा लोकार्पण गरे ।
थापाको पुस्तकमा २०१७ सालको पञ्चायती व्यवस्थादेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को दोस्रो जनआन्दोलन, संविधानसभा र नयाँ संविधान जारी भएपछिका शासन व्यवस्था तथा यो अवधिका कूटनीतिक घटनाक्रमलाई समेत सुक्ष्म रुपमा केलाइएको छ ।
थापा स्वयं तत्कालीन योजना परिषद्को सदस्यसचिव, नेपाल राष्ट्र बैंकको गर्भनर, अर्थ सचिव, भारत र अमेरिकाको लागि राजदूत हुँदै पछि परराष्ट्रमन्त्री पनि बने । साथै, नयाँ संविधान जारी भएपछि नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को नेपालतर्फका संयोजकसमेत रहे । उनले करिब २० वर्ष आन्तरिक प्रशासन र व्यवस्थामा काम गरे भने थप २० वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राजदूतदेखि परराष्ट्रमन्त्रीसम्म रहेर काम गरे ।
नेपालको शासन व्यवस्थामा आन्तरिक र बाह्य रुपमा रहेर पूरा गरेका जिम्मेवारीका घटनाक्रमलाई पुस्तकमा थापाले समेटेका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा पढिरहेका २४ वर्षीय थापालाई तत्कालीन राजा महेन्द्रले २०१७ सालको पुसमा योजना परिषद्को सदस्यसचिव नियुक्त गर्दै नेपालमा बोलाएका थिए । त्यसपछि उनको शासकीय जिम्मेवारीको यात्रा प्रारम्भ भएको थियो ।
लोकर्पण कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री तथा लेखक थापाले यो पुस्तक लेख्ने कल्पना पनि नगरेको बताए । ‘तर परिवार र सद्भाव राख्ने मित्रहरुको निरन्तर प्रेरणाको आधारमा यो पुस्तक जन्मिएको हो,’ उनले भने । यो पुस्तकमा राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यासको अनुभव उल्लेख गरिएको थापाले बताए ।
‘यो पुस्तकमा आफ्नो व्यक्तिगत धारणा नभई आफ्नो व्यवहारिक जीवनमा राष्ट्रको लागि महत्त्वपूर्ण घटना र मुद्दाहरुलाई समेत समेट्ने प्रयास गरेको छु । हाम्रो पुस्ताले गरिएका यी प्रयासहरुले नेपालको भविष्य निर्माण गर्नलाई आधार सिर्जना गरेको छ भन्ने मेरो मान्यता छ,’ थापाले भने, ‘विगतका ती अनुभवले आजका भावी पुस्तालाई भविष्य निर्माण गर्ने सहयोग होला भन्ने आशा पनि गरेको छु ।’
टिप्पणी गर्दै सांसद वाग्लेले पुस्तकलाई तीवटा मुद्दाको आधारमा हेर्नुपर्ने उल्लेख गरे । उनले पुस्तकलाई परिवेश, पेसा र पात्रहरुको आधारमा हेर्नुपर्ने बताए । वाग्लेले लेखक थापाले आधुनिक अर्थतन्त्रको जग हाल्ने काम गरेको टिप्पणी गरे । ‘उहाँमा आफ्नो जिम्मेवारी र व्यक्तिगत इच्छालाई कसरी मिलाउने भन्ने कुरा रहेको देखिन्छ । उहाँमा अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको हितमा कसरी प्रयोग गर्ने भन्ने पनि देखिन्छ,’ वाग्ले भने, ‘उहाँले आफू छँदै यो दस्तावेज लेखेर महत्त्वपूर्ण योगदान गर्नु भएको छ ।’
सांसद श्रेष्ठले थापाको किताब पढ्दा एक्सन फिल्म हेर्दा जस्तो छिटो-छिटो अघि बढेको उल्लेख गरिन् । उनले किताबको अर्को भाग पनि निकाल्न अनुरोध गरिन् । ‘यो किताबबाट मेरो पुस्ताले सिक्ने धेरै कुरा पाएको छु,’ उनले भनिन् । थापाले किताबमा प्रस्तुत गरेको कूटनीतिक हौसलताको प्रशंसा गर्दै श्रेष्ठले पुस्तक सन् २०१५ मै आएको भए नाकाबन्दीको बेलामा कूटनीति सहजताको लागि सहयोग पुग्ने पनि बताइन् ।
पत्रकार/लेखक शर्माले लेखक थापालाई अर्थशास्त्री भने पनि कूटनीतिज्ञकै रुपमा उनको छवि रहेको बताए । शर्माले थापाले नेपालमा काम सुरुआत गर्दादेखि नै कुनै न कुनै हिसाबमा वैदेशिक मामिलासँग समन्वय गरेर काम गर्ने जिम्मेवारी पाएको व्याख्या पनि गरे । ‘उहाँ ६५ वर्षदेखि नै कूटनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । अहिले पनि ईपीजी प्रतिवेदन बुझाउन बाँकी छ,’ उनले भने, ‘उहाँलाई महेन्द्रले लिएर आएका हुन् । तर उहाँलाई त्यसपछि विभिन्न शासन व्यवस्था र नेताहरुले पनि विश्वास गरेका छन् । किनकि उहाँले संधै राज्यको लागि काम गर्दै आएकोले होला ।’ शर्माले यो खालको पुस्तकले किताबले इतिहासको खाडल पुर्नलाई योगदान गर्ने उल्लेख गरे ।
सहलेखक हरिबहादुर थापाले पुस्तक २०७० सालको साउनमा सुरुआत गरे पनि बीचमा केही समय अघि बढ्न नसकेको बताए । उनले भने, ‘बीचमा पारिवारिक वियोगका कारणले रोकियो । पछि मन्जश्री (लेखक थापाकी छोरी) को सक्रियतामा पुस्तक लेखकलाई अघि बढाइयो ।’ पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।
प्रकाशित : मंसिर ५, २०८० १७:१६