कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

प्राध्यापक लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यान्मार बर्माकी ८० वर्षीया प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार प्रदान गरिएको छ । 

प्राध्यापक लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार

किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्तीको अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेनले लिम्बुनीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

बर्मामा सन् १९४४ सेप्टेम्बरमा जन्मिएकी लिम्बुनी ‘भाषा र संस्कृति हराए जाति हराउँछ’ भन्ने मूल नारासहित नेपाली जातिको हितमा काम गर्दै आएकी छिन् । उनी अखिल म्यामा देशीय किरात (गोर्खा) साहित्यिक एवं सांस्कृतिक संघ, म्यामा र किरात (गोर्खा) साहित्यिक एवं सांस्कृतिक संघ, थाइल्यान्डको संस्थापक तथा संरक्षक हुन् ।

‘लिम्बुवान भूमिभन्दा कोसौं टाढा बर्मामा जन्म भएर पनि लिम्बू र लिम्बुवानको सभ्यता, भाषा, संस्कृति, साहित्य, इतिहास, मुन्धुमलगायतको संरक्षण, विकास, अभ्यास, विस्तार र पुस्तान्तरणका लागि आजीवन समर्पित भई बर्मा र थाइल्यान्डमा रहेका नेपाली समुदायमा अभिभावकत्व प्रदान गर्दै,’ चार दशकदेखि विश्वविद्यालय प्राध्यापनमा संलग्न लिम्बुनीबारे पुरस्कार छनोट समितिकी संयोजक डा. चेतना लक्समले भनिन्, ‘त्यहाँका लिम्बू र नेपालको लिम्बूहरूको साझा संस्था किरात याक्थुङ चुम्लुङसँग संस्थागत विकास सम्बन्ध जोड्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’

दोस्रो विश्वयुद्धमा होमिएका बाजे पुस्ता बर्मामै अल्झिएपछि भारती ओख्राबो लिम्बुनी पुस्ता पुर्खाको थलो खोज्ने क्रममा एक दशकअघि नेपालसँग जोडिएकी हुन् । उनी थाइल्यान्डको एसम्पसन युनिभर्सिटबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।

‘मेरो पितृ देशमा जति मान सम्मान पाएँ, इज्जत पाएँ, पुरस्कार पाएँ,’ सम्मान ग्रहणपछि प्राध्यापक लिम्बुनीले भनिन्, ‘त्यो चाहिँ म जन्मेकै बर्मामा, मेरो कर्मभूमि थाइल्यान्डमा तीस वर्षमा आधा पनि पाएको छैन । उहाँको सरकारले सुने पनि केही फरक पर्दैन, यो सत्य कुरा हो । मेरो पितृभूमिमा यसअघि पनि सम्मान पाएको थिएँ । आज महागुरु फाल्गुनन्दका सम्मानमा पनि सम्मान पाएँ ।’

प्रकाशित : कार्तिक २५, २०८० २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?