सिएमआर नेपालको अध्यक्षमा अर्याल

काठमाडौँ — सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन भएका छन् । सिएमआरको ११औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अर्याल पत्रकारिता प्राध्यापन गर्नुका साथै मिडिया, इतिहास र समाजशास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न छन् । उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नविन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन भएका छन् ।
साधारणसभामा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सरहानीय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंगले बुझ्न नसकेको भन्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्न काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष अर्यालले विगतमा गरेका कार्यहरुलाई निरन्तरता दिँदै आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यवहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन अनुसन्धान गर्नुका साथै मिडियासम्बन्धी बहसलाई अघि बढाउने बताए । निवर्तमान अध्यक्ष तृष्णा आचार्यले आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
प्रकाशित : कार्तिक १६, २०८० १८:१७