कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ नेपालीमा

काठमाडौँ — विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको रचना ‘द डिसइन्टिग्रेसन अफ पर्सनालिटी’को नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । निनु चापागाईंद्वारा अनूदित पुस्तकका बारेमा समीक्षक–समालोचकहरुले परिचर्चा गरेका छन् ।

गोर्कीको प्रसिद्ध रचना ‘व्यक्तित्वको विघटन’ नेपालीमा

‘इतिहासका निर्माता जनता हुन् भन्ने मार्क्सवादको प्रस्थापनालाई पुष्टि गर्ने गरी यो पुस्तकले दर्शन, सौन्दर्यशास्त्र, ज्ञान, काव्य, कलाका सम्पूर्ण उपलब्धिहरुको स्रोत जनता नै हुन् भन्ने उदाहरणहरु पेश गरेको छ,’ पुस्तकबारे बोल्दै मार्क्सवादी समालोचक मोहन वैद्यले भने, ‘आदिम साम्यवाद अर्थात् जनता (सामूहिकता) प्रधान भएको युग, शोषणमूलक व्यवस्थाहरु अर्थात् व्यक्तिप्रधान हुने युग र समष्टि प्रधान हुने समाज अर्थात् समाजवाद हुँदै साम्यवादतिर जाने प्रक्रिया के–कसरी विकास हुँदै आयो भन्ने बुझ्न यो रचना अत्यन्त महत्त्वपूर्ण छ ।’

पुँजीवादी युग व्यक्तिवादको चरम उत्कर्षको समय भएको र त्यसको विघटनले समष्टि नै निर्णायक हुने समाजवादमा लैजाने विचारलाई सुन्दर ढंगले पुस्तकमा विवेचना गरिएको पनि किरणले उल्लेख गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका वैद्यले परिचर्चा कार्यक्रममा अनुवादक निनु चापागाईंको व्यक्तित्व र अनुवादको प्रशंसा गर्दै अगाडि भने, ‘निनुजी राजनीति, समालोचना, सौन्दर्यचिन्तन, सम्पादन र अनुवादका क्षेत्रमा निरन्तर सक्रिय र यी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका एकजना बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । विशेषतः अनुवादमा उहाँले ध्यान किन दिइरहेको देखिन्छ भने दुनियाँ बुझ्ने र बदल्ने काममा लागेका मानिसहरुका लागि संसारका उत्कृष्ट बौद्धिक खुराकहरु जरुरी हुन्छ, तर सबै पाठकको भाषाका कारण त्यस्ता सामग्रीमा पहुँच हुँदैन । उहाँको अनुवादले त्यस्ता महत्त्वपूर्ण खुराक पाठकहरुले सहज रुपमा पाएका छन् ।’

लेखक तथा सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले गोर्कीको प्रस्तुत रचनाले मानव सभ्यताको आदिमकाल कसरी सामूहिक थियो भन्ने उदाहरणहरु पेश गर्दै त्यसलाई सैद्धान्तिकृत गरेको चर्चा गरे । चाम्लिङले सबैतिरको आदिम समाजमा गाथाहरु, कविताहरु, विश्वासहरु सबै सामूहिक थिए भन्ने पुष्टि हुने बताउँदै भने, ‘गोर्कीको यो किताब पढ्दै गर्दा म हाम्रो किराती समाजको आदिम युगमा पुगें, मुन्दुम अध्ययन गर्दा थाहा लाग्छ– हाम्रो किराती समाज पनि जति पुरानोतिर गयो, त्यति सामूहिक प्रणालीमा थियो भन्ने नै पुष्टि हुन्छ ।’ व्यक्तिको उदय धेरैपछि मात्रै हुन थालेको मुन्दुम अध्ययनले पनि थाहा दिने चाम्लिङले उल्लेख गरे । यो पुस्तक अंग्रेजीमा धेरै वर्षअघि पढ्दा केही नबुझेको तर अहिले पढ्दा भने आफ्नै समाजको विकासक्रमको कथा पढेजस्तो सरल लागेको उनले बताए ।

आजको विकृत पुँजीवादी समाजलाई बुझ्न र बदल्नका लागि गोर्कीको ‘व्यक्तित्वको विघटन’ पुस्तक निकै उपयोगी र सान्दर्भिक रहेको अधिवक्ता तथा लेखक करुणा पराजुलीले चर्चा गरिन् । ‘आजको पुँजीवादी व्यवस्थाले मानवलाई मानवका रुपमा व्यवहार गर्दैन, मुनाफा कमाउने कच्चापदार्थका रुपमा व्यवहार गर्छ,’ पराजुलीले भनिन्, ‘हिजो पनि पुँजीवादको मूल चरित्र त्यही थियो, आज पनि पुँजीवादको चरित्र उही छ अर्थात् नाफा, नाफा र फेरि पनि नाफा ! तसर्थ, आजभन्दा सय वर्षअघि रुसमा बसेर लेखिएको भए पनि यो रचनाले आजको नेपाली समाजको चरित्रलाई पनि गजबले उद्घाटन गरिदिन्छ । त्यसकारण, सामाजिक रुपान्तरणको अभियानमा लागेका, क्रान्तिका पक्षधर जोकोहीले पनि यो किताब पढ्नु अनिवार्य छ ।’

पुस्तकका अनुवादक तथा मार्क्सवादी समालोचक निनु चापागाईंले विख्यात साहित्यकार गोर्कीसFग आफू स्कुले उमेरदेखि नै परिचित भएको र राल्फाकालमा गोर्कीका १०–११ वटा कथा अनुवाद गरेको स्मरण गरे । ‘मैले अनुवाद गरेका कथाको हस्तलिखित पाण्डुलिपि केही साथीले पढ्न भनेर लैजानुभएको थियो, कहिल्यै फिर्ता आएन’, चापागाईंले भने, ‘पछि त ती कथा त्यसरी लैजाने साथीमध्येले आफ्नै नाम अनुवादक राखेर प्रकाशित पनि गर्नुभयो ।’ चापागाईंले गोर्कीको ‘साहित्यबारे’ (अन लिटरेचर) भन्ने पुस्तकमा संकलित रचनाहरुमध्ये अधिकांश आफूले यसअघि नै अनुवाद गरिसकेको पनि स्मरण गरे । ‘गोर्कीको अरु रचनाभन्दा जटिल र दार्शनिक प्रकृतिको रचना हो, ‘व्यक्तित्वको विघटन’,’ अनुवादक चापागाईंले अनुवादको रचनागर्भ सुनाउँदै भने, ‘गाह्रो रचना भएकाले मैले केही समय जाँगर पनि चलाइन । तर, यो रचना नेपाली पाठकले पनि पढ्नैपर्ने र छाप्नैपर्ने खालको हो भन्ने लागिरहृयो । तसर्थ, मैले पछि फेरि यसमा काम गर्न थालें । अनुवादको काम सकिएको पनि दुई वर्षजति पछि यो पुस्तक अहिले पाठकबीच आइपुगेको छ ।’

पुस्तकलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

प्रकाशित : आश्विन १, २०८० ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×