मोति जयन्तीमा नारायणगढमा गजल साँझ


चितवन — मोति जयन्तीका सन्दर्भ पारेर बिहीबार साँझ नारायणगढमा संगीतसहितको गजल वाचन र गाायन कार्यक्रम सम्पन्न भएको छ । गजल मञ्च चितवनले साँझ सात बज्दै गर्दा सुरू गरेको कार्यक्रम १० बजेतिर सकिएको थियो । ६ जना गजलकारहरूले तीन/तीनवटाका दरले १८ वटा गजल गाएका थिए ।


रहरले रहरलाई सेरिरहेछ
अझै जिम्मेवारीले घेरिरहेछ
ए हावा ! यहाँ सास फेरेर जाऊ
त्यहाँ मान्छेले सास फेरिरहेछ ।
नारायणगढ बाह्रघरेको 'द ग्रिनपार्क रेस्टुरेन्ट'मा गजलकार परिविक्रमले तबलाका तालमा यी शेर सुनाउँदै गर्दा भर्खर दर्के पानी परेर आकाश उज्यालिएको थियो । बाहिर आँगनमा गजल सुनाउने तयारी गर रहेका आयोजकहरू पानी ह्वार्रै वर्षेपछि आत्तिँदै हलभित्र कार्यक्रम गर्ने चाँजोपाँजो मिलाउन लागे ।
तर क्षणभर पानी दर्केर आकाश सफा बनेको देखेपछि फेरि बाहिरै कार्यक्रम गर्ने भए । पानीको छिटाले कतै तबला बिगार्छ कि भन्ने संशय राखे पनि गजल कार्यक्रम चलेसम्म पानी परेन । विष्णु तिवारी उषा, निर्दोष जीवन, अपेक्षा गिरी, प्रमिला सानु, सपना रैला अर्याल र परिविक्रमले लगालग गजल गाउँदै सुनाउँदै गए ।
मैले तिमीलाई मन पराएँ भन के बिराएँ
लेखें प्रेमपत्र अनि पठाएँ भन के बिराएँ
चकमन्न रातमा जब देख्छु मेरै परिधिमा
समीप आई हात समाएँ भन के बिराएँ
गजल मञ्च चितवनका अध्यक्ष लेखाराप सापकोटाले लेखेको यो गजल निर्दोष जीवनले सुनाउँदा चकमन्न रात भइसकेको थियो । तर दर्शक स्रोता गजल सुन्नै मग्न देखिन्थे । अन्त्यमा अपेक्षा गिरीले संगीत ट्य्राकमा शीतल कादिम्बिनीको गजल सुनाएसँगै कार्यक्रम समापन भएको थियो ।
प्रकाशित : भाद्र २९, २०८० १२:२३