केरुङ गजल पुरस्कार बन्जारालाई


पाँचथर — ऐतराज केरुङ स्मृति गजल पुरस्कार यसपटक झापाका स्रष्टा लोकेन्द्र बन्जाराले पाएका छन् । मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत वितरण हुँदै आएको उक्त पुरस्कार बिहीबार फिदिममा आयोजित समारोहमा उनलाई दिइएको हो ।


कार्यक्रमका अतिथि रमेश शुभेच्छुक,पाँचथर गजल मञ्चका सस्थापक मधुराज केरुङ र अध्यक्ष सन्देश सुब्बालगायतले बन्जारालाई दोसल्ला र कदर पत्रसहित पुरस्कृत हस्तान्तरण गरे । पुरस्कार ८ हजार ८ सय ८८ रुपैयाँ राशिसहितको हो ।
बन्जाराका गजल संग्रह 'आँखाभरी सपना,' 'जैतुन' र 'पलक' प्रकाशित छन् । पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज र उनका दाजु सागर केरुङले दिवंगत पिताका नाममा पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार ७ वर्षदेखि वितरण गरिँदै आएको छ ।
समारोहमा 'अधिकारी विमलाका गजलहरु' कृति विमोचनसँगै एनवी अञ्जानको 'मौसम' गजल संग्रहको चर्चा पनि गरिएको थियो । समारोहमा गरिएको गजल वाचनमा दुई दर्जनले विभिन्न रचना सुनाएका थिए ।
प्रकाशित : भाद्र २८, २०८० १६:३९