नेपाली लेखकको ‘शेर्पा’ पुस्तक इटालियन भाषामा

काठमाडौँ — नेपाली लेखकहरू अंकितबाबु अधिकारी र प्रदीप बस्यालको पुस्तक ‘शेर्पा: स्टोरिज अफ लाइफ एन्ड डेथ फ्रम द फ्रगटन गार्डियन अफ एभरेस्ट’ इटालियन भाषामा प्रकाशित भएको छ ।

नेपाली लेखकको ‘शेर्पा’ पुस्तक इटालियन भाषामा

सगरमाथाको सेरोफेरोमा रहेर शेर्पाहरूको साहस, सङ्घर्ष, त्याग र सफलता समेटिएको उक्त गैरआख्यानलाई मिलानस्थित कोर्बासो प्रकाशन गृहले बजारमा ल्याएको हो ।

गत वर्ष साउनमा बेलायतको ह्याचेट प्रकाशन समूहअन्तर्गतको अक्टोपस प्रकाशनले मूल अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकलाई बजारमा ल्याएको थियो ।

प्रकाशनले ‘शेर्पा’ लाई विश्वमण्डलका झन्डै ६ दर्जन देश तथा भूभागमा प्रकाशन तथा वितरणको लागि सम्झौता गरेको थियो ।

‘शेर्पा’का प्रकाशकले यस पुस्तक सर्वोच्च शिखरको चुचुरोसम्म पुग्ने क्रममा हुने साहसिक कर्म र जीवनयापनको कथा रहेको भन्दै त्यसले शेर्पा संस्कृतिसँग मात्र नभएर जीवन र मृत्युको धारमा उनीहरूको अस्तित्वको कथा पनि बताएको जनाएका छन् ।

नेपालमा दुई लाख भन्दा कम जनसङ्ख्या भएका शेर्पाहरूको मूल बसोबास रहेको रोल्वालिङ, खुम्बु र मकालु उपत्यकासहित भारतको दार्जिलिङको सेरोफेरो लगायतका सन्दर्भ र प्रसंग 'शेर्पा' पुस्तकमा समेटिएको छ ।

इटालियन भाषामा प्रकाशन भएपछि लेखकद्वय बस्याल र अधिकारीले पर्वतारोहणमा निकै चाख राख्ने इटालियन भाषी समूहमा उनीहरूकै भाषामा सगरमाथाका काखका कथा पुग्नु निकै खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । साथै यस पुस्तक शेर्पाहरूको एउटा सजीव धारणा बनाउन सकिने गहिरो कथाहरूको सँगालो भएको लेखकद्वयको भनाइ छ ।

'हामी पाठकलाई शेर्पाको मन-मस्तिष्क र घरसम्म पुर्‍याउन सक्नेगरी कथा भन्ने प्रयास गरेका छौँ । त्यसैले यो पुस्तक पढिरहँदा पाठकहरूले शेर्पा जीवन र उनीहरूसँगै हिमाल चढेको अनुभव गर्न सक्नुहुनेछ,' सहलेखक अंकित बाबु अधिकारीले भनेका छन् । 'शेर्पा' छिट्टै नेपालीसहितका अन्य भाषामा प्रकाशन हुने बताइएको छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?