कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौँ — नेपाली वाङ्मयका अथक् साधक भाषासेवी प्राज्ञ आरडी प्रभास चटौतबारे लेखिएको ‘आरडी प्रभास चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ । एनडी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र वरिष्ठ साहित्यकारले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गरेका हुन् । 

आरडी प्रभास चटौतको अभिनन्दन ग्रन्थ लोकार्पण

पुस्तकमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा चटौतले पुर्‍याएको योगदान र व्यक्तित्वबारे समाजका विभिन्न विधामा ख्याति कमाएका विद्वान् विदुषिका धारणा समेटिएको छ । पुस्तकमा वरिष्ठ कवि एवं साहित्यकार केदारनाथ व्यथित, माधवप्रसाद घिमिरे, मोहन कोइराला, ईश्वर बल्लभ, चुडामणि बन्धु, तारानाथ शर्मा, भुवन ढुंगाना, प्राध्यापक आनन्ददेव भट्ट, प्रा खगेन्द्र लुइँटेल, प्रा माधवप्रसाद पोखरेल, प्रा महादेव अवस्थी, सिद्धिचरण श्रेष्ठ, प्रा शिवगोपाल रिसाल, सूर्यविक्रम ज्ञावली र रमा शर्माबाट विभिन्न अवसरमा प्रदान गरेको शुभकामना सन्देश तथा धारणा समावेश छन् ।

विसं २००६ बाट नेपाली साहित्यको उन्नयनमा निरन्तर अतुलनीय योगदान दिँदै आएका स्रष्टा चटौत आजै ८८ वर्ष प्रवेश गरेकाले उनलाई कार्यक्रममा अभिनन्दनसमेत गरियो । पुस्तकमा उनले सुदूरपश्चिमको डोटी क्षेत्रका चारपुस्ता अघिदेखिका भाषा, साहित्य र संस्कृतिसम्बन्धी संकलन गरिएका तथ्य एवं तथ्यांक प्रस्तुत गरेका छन् ।

पुष्पराज भट्ट प्रधान सम्पादक रहेको कृतिमा एक सय ७८ लेख समेटिएका छन् । पुस्तक लोकार्पण गर्दै आयोगका अध्यक्ष मगरले अहिलेको भौतिकवादी संसारमा हराइरहेका भाषा, साहित्य, संस्कृति र शब्दको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश पुस्तकबाट प्राप्त भएको बताए ।

वरिष्ठ साहित्यकार तुलसी दिवसले चटौतले डोटेली भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन तथा दुर्गम क्षेत्रमा रही नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले आरडी चटौतले नेपाली वाङ्मयको विकास र विस्तार एवं गुणस्तरीय तुल्याउने विषयमा इतिहास रचेको बताए ।

प्रतिष्ठानका पूर्वकूलपति वैरागी काइँलाले एक देश, एक भाषाको लहर चलिरहेका बेला श्रष्टा चटौतले मातृभाषाप्रतिको चिन्ता र जागरणले डोटेली भाषालाई सुगम बनाउने कार्यमा ठूलो योगदान भएको बताए ।

पुस्तकका लेखक चटौतले शारीरिक अवस्था र स्वास्थ्यले निकै चुनौती खडा गरिहेको अवस्थामा पुस्तकलाई निष्कर्षमा पुर्‍याउने हुटुहुटीले सफलता पाएकामा निकै हर्ष व्यक्त गरे । एनडी प्रकाशन स्मृति प्रतिष्ठान महेन्द्रनगर प्रकाशक रहेको उक्त कृति सात सय ७८ पृष्ठको छ भने मूल्य नौ सय ९९ रुपैयाँ रहेको छ ।

प्रकाशित : जेष्ठ २०, २०८० २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?