पत्रकार दाहालको कालपात्रा पुस्तक बजारमा


काठमाडौँ — पत्रकार पुरुषोत्तम दाहालको ‘कालपात्र’ उपन्यास सार्वजनिक भएको छ । उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार दाहालको बाह्रौं कृति ‘कालपात्र’ सार्वजनिक गरेका हुन् ।


लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको बताएका छन् । मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उहाँले बताए । ‘अनियमितता र अपराध सबैतिर छ । हिजो मात्रै प्रेस विरोधी बजेट आएको छ । प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ, सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन,’ दाहालले भने, ‘देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले कालपात्र उपन्यास पढ्नुपर्ने गरि लेखेको छु ।’ गत वर्ष छ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको उनले बताए ।
पुस्तक विमोचन गर्दै उप–प्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा बताए । ‘अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन् । यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ । पार्टी र नेता नबदलिई देश बदलिादैन । पुस्तकमा लेखकको आशय पनि यही छ,’ उनले भने । पूर्वसांसद शोभाकर पराजुलीले उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण रहेको बताए । ‘राजनीतिमा छरपस्ट यौनको प्रभाव पनि उपन्यासमा आएको छ, रुपको प्रभावले राजनीतिमा के गर्छ भन्ने स्वरुप उपन्यासमा पढ्न पाइन्छ, राजनीतिले धर्म छोडेको कुरा पनि उपन्यासले व्यक्त गरेको छ,’ पराजुलीले भने ।
उपन्यासमाथि प्राध्यापक ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यासका कथानक अघि बढेको बताइन् । उपन्यासको आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन आएको उको भनाई छ । दाहालको उपन्यास ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हो । लेखक दाहालका यसअघि शान्ता उपन्यासको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ । लेखकको यो दोस्रो उपन्यास हो ।
प्रकाशित : जेष्ठ १६, २०८० २२:२३