सिक्किम रानीपुलमा ‘जीवन काँटा या फूल’

‘नेपाली भाषा–साहित्यलाई ‘गोर्खा’ किन भन्ने ?’

गान्तोक — भारतीय प्रहरी–प्रशासनमा जीवनको उर्वर समय बिताएका चन्द्रप्रकाश (सीपी) गिरी सुरुका दिनमा नेपाली भाषा–साहित्यमा त्यति भिजेका पाठक वा लेखक थिएनन् । फाटफुट कथा, कविता लेख्ने र बिरलै साहित्यिक संगतमा मिसिने गिरी एकाएक नेपाली र हिन्दी साहित्यमाझ चिनिएका छन्— ‘जीवन काँटा या फूल’ मार्फत ।

सिक्किम रानीपुलमा ‘जीवन काँटा या फूल’

‘नेपालको प्रतिष्ठित पुरस्कार पाएको लेखक झमक घिमिरेको ‘जीवन : काँडा कि फूल’ कृतिबारे निकै सुनेको थिएँ, संयोगले यसको अंग्रेजी अनुवाद आएपछि मात्रै पढ्न पाएँ,’ सिक्किमको रानीपुल बस्तीमा भेटिएका गिरीले सुनाए—‘लेखक नगेन्द्र शर्माले गरेको अंग्रेजी अनुवाद (अ फ्लावर इन द मिड्स्ट अफ थ्रोन्स) सिलिगुडीमा भेटेको थिएँ, त्यही पढेर निकै प्रभावित भएपछि यसलाई हिन्दीमा अनुवाद गरेको हुँ ।’ अझ अर्को संयोगमा गिरीले गरेको अनुवाद ‘जीवन काँटा या फूल’ भारतको सरकारी प्रकाशन गृह नेशनल बुक ट्रष्टले प्रकाशनमा ल्याएपछि अनुवाद गिरीको पहिचान अर्कै बनेको थियो ।

‘सिलिगुडी बस्ने लेखक मुक्ति उपाध्यायसँगको संगतले ‘म कसरी भनुँ ?’ नामको नेपाली फिल्म पनि बनाएको थिएँ, मुक्तिकै पटकथामा बिनोद बिष्ट(मणिपुर)को निर्देशनमा फिल्म बनिएको थियो,’७५ बर्षिय गिरीले सम्झिए—‘गुवाहटीबाट निस्कने ‘सयपत्री’, दार्जिलिङको ‘दियालो’ र नेपालको ‘पारिजात’ पत्रिकामा पनि केही कथाहरु प्रकाशित गराएको थिएँ । तर, यसरी हुने छिटफुटका सृजनाभन्दा सिंगो कृति अनुवाद गर्नुले योगदान र पहिचान भिन्न बन्न सक्छ भनेर अनुवादमा लागेको थिएँ ।’

सन् १९७४ मा भारतीय प्रहरीमा भर्ती भएका गिरी नागाल्याण्ड राज्यमा गृह सचिव समेत भएका थिए । सन् २००८ मा सेवाबाट अवकाश भएपछि भाषा–साहित्य र पहिचानको मानकीकरणमा बढी जोडिएका गिरी भारतमा रहेको नेपालीको पहिचान ‘गोर्खा’ हो कि ‘नेपाली’ भन्ने बहसको केन्द्रमा पनि जोडिएका छन् । ‘भारतीय संविधानको अनुसुचीले मान्यता दिएको नेपाली भाषालाई हो, गोर्खालाई होइन,’उनले थपे—‘यो त एउटा तलको तहमा चलेको ‘नेपाली बहादुर’को थेगोलाई काट्न मात्रै गोर्खा भनिएको हो कि झैं लाग्छ । अर्कातिर, देहरादूनमा चलेको गोर्खाली सुधार संघ, सिलोङको गोरखा संस्था, मनिपुरमा गोरखा वेलफेयर युनियन र अरु केही गोरखा पंचायतजस्ता नामका कारण नेपाली नभएर गोर्खा पो रहेछ भन्ने भ्रम फैलिएको हुन सक्छ ।’

जातजाती र पहिचानको मुद्धामा बहस भैरहेका बेला ३ महिनाअघि सिक्किममा रहेका नेपाली ‘बाहिरबाट आएका हुन्’ भनेर एउटा अदालती फैसला आएपछि बहस बरालिन थालेको गिरीको बुझाइ छ । ‘यो मुद्धा पनि अहिले सुल्टिसकेको छ,’उनले थपे—‘बरु योभन्दा पनि नेपाली र गोर्खाको भिन्न ब्याख्यान तथा पहिचानको कुरामा भने धेरै काम गर्न बाँकी छ । अहिले पनि हामी भारतीय नेपाली र नेपालीभाषीको पहिचानमा अडिग भएर यो भेगमा हामी बहस र चेतनाका अभियान चलाइरहेकै छौं ।’

प्रकाशित : जेष्ठ १६, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?