१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पुनको पुस्तक ‘लाहुरेको सङ्घर्ष’ सार्वजनिक

काठमाडौँ — मौलिक संस्कृति जोगाउने काममा सक्रिय म्याग्दीका सामाजिक अभियन्ता चामबहादुर पुनको पुस्तक ‘लाहुरेको सङ्घर्ष’ सार्वजनिक भएको छ । पूर्वगोर्खा सैनिक पुनले आफ्नो व्यक्तिगत अनुभव र मौलिक संस्कृतिको क्षेत्रमा गरेको संघर्षको कथा पुस्तकमा समेटेका छन् ।

पुनको पुस्तक ‘लाहुरेको सङ्घर्ष’ सार्वजनिक

लेखक तथा पत्रकार शेखर खरेल, कवि भोजराज न्यौपाने र सञ्चारकर्मी रीता लिम्बुले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । पुनको उक्त पुस्तकबारे आइतबार काठमाडौंमा विमर्श पनि गरिएको थियो । ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’ शीर्षकमा लेखक पुनसहित शेखर खरेल, भोजराज न्यौपाने र रिता लिम्बुले विमर्श गरेका हुन् ।

कन्सेप्ट नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले पुनको जीवनकथा प्रेरणादायी भएको टिप्पणी गरे । एक लाहुरेले सेवा निबृत्तिपछि जन्मथलो र मौलिक संस्कृतिका लागि गरेको योगदानको उदाहरणको रुपमा पुनको कामको चर्चा गरिएको थियो ।

वक्ताहरूले उनको व्यक्तिगत संघर्ष र सांस्कृतिक अभियानको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले करबाकेली क्षेत्र पर्यटनधामका रुपमा स्थापित भइसकेको भन्दै त्यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने प्रमुख व्यक्ति चामबहादुर पुन नै रहेको बताएका थिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडाका चामबहादुरले १५ वर्ष बेलायती सेनामा काम गर्नुका साथै त्यसपछि १० वर्ष ब्रुनाइका सुल्तानको सेवा गरे । त्यसपछिका दिनमा भने काफलडाँडामा फर्केर सामाजिक काममा सक्रिय रहँदै आएका छन् ।

पुनले कारबाकेली बाबाको अनुसन्धान, पाहुनाघर, पुन सामुदायिक संग्रहालय निर्माणको परिकल्पना र अगुवाइ गरे । साथै उनले पुनहिलदेखि बेनीबजार झर्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रूपमा परिचित गराएका हुन् । यस्तै नयाँ पुस्तक ‘लाहुरेको सङ्घर्ष’ को बिक्रीबाट आउने सबै रकम सामाजिक काममा खर्च गर्ने पुनले घोषणा गेरका छन् ।

प्रकाशित : जेष्ठ १६, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?