कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डा. नवराज केसीको 'शून्यको मूल्य' लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ — डा. नवराज केसीको कृति 'शून्यको मूल्य' ले  २०७९ सालको 'उत्तम शान्ति पुरस्कार' पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति 'शून्यको मूल्य'लाई  पुरस्कार दिने घोषणा गरेको हो ।    

डा. नवराज केसीको 'शून्यको मूल्य' लाई उत्तम शान्ति पुरस्कार

पुस्तकमार्फत 'अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत' साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ । उत्तम शान्ति पुरस्कारमा ताम्रपत्रसहित १ लाख रुपैयाँ प्रदान गरिन्छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

२०७९ सालमा प्रकाशित 'शून्यको मूल्य' लाई डा. केसीले 'सिर्जनात्मक गैरआख्यान' पुस्तक भन्ने गरेका छन् । उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै पुस्तको लेखेको उनको भनाइ छ । केही रूपान्तरणकारी प्राध्यापकहरूसँगको भेटले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको समेत उनको भनाइ छ । अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको छ ।

डा. केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारिएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले 'शून्यको मूल्य'मा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रूपमा उतारेका छन् ।

गत वर्ष पत्रकार गिरीश गिरीले लेखेको संस्कृतिविद्‍ सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०८० ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?