रैथाने कला-साहित्य प्रवर्द्धनका लागि वाङमय विमर्श

काठमाडौँ — रुकुमका रैथाने साहित्य, संस्कृति, संगीतलाई प्रवर्द्धन गर्ने विषयमा राजधानीमा विमर्श भएको छ । रुकुमेली वाङमय अधिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा ओझेल पर्दै गएका रैथाने साहित्य, संस्कृतिको जगेर्ना आवश्यक रहेको चर्चा गरिएको थियो ।

उक्त विमर्शले साहित्य, संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । साहित्य, कला, संस्कृति, संगीतलाई जोड्न निरन्तर विमर्श आवश्यक भएको सरोकारवालाहरूको भनाइ थियो ।
‘जो जहाँ भए पनि जिल्लाको रैथाने संस्कृति प्रवर्द्धनमा लाग्नुपर्ने अहिलेको आवश्यकता हो,’ उनीहरुको भनाइ छ, ‘यो वाङमय विमर्श निरन्तर हुनुपर्छ ।’ काठमाडौं बस्दै आएका लेखक, साहित्यकार, कलाकार र संस्कृतिकर्मीको पहलमा गठन भएको अधिष्ठानले पहिलोपटक यस्तो विमर्श गरेको हो ।
अधिष्ठानका अध्यक्ष भुपेन्द्रा मल्लले जिल्लाको साहित्य, संस्कृतिको प्रवर्द्धनका लागि सुरुवात भएको उल्लेख गर्दै आफ्नो जन्मभूमिसँग जोडिएका कलासंस्कृति भुल्नै नसकिने भएकाले यसलाई जोगाउनु पर्ने बताइन् । ‘हाम्रा स्थानीय कला संस्कृति अमूल्य छन्, त्यसकै जगर्नेनाका लागि हाम्रो प्रयास हो,’ उनले भनिन् ।
सचिव पूर्ण ओलीले जिल्लाको साहित्य, संस्कृति, संगीत, कलालाई दीर्घकालीन रुपमा संरक्षण गर्ने विमर्शको थालनी भएको उल्लेख गर्दै आगामी दिनमा चौमासिक रुपमा प्रकाशन सुरु गर्ने जानकारी दिए । ‘हाम्रो मन मस्तिस्कसँग प्रेमपूर्वक जोडिएका हाम्रा कला, संस्कृति, साहित्य जोडिएका छन् । यसलाई जिल्लादेखि काठमाडौं मात्र होइन, देशभर फैलाउने अभियान हो,’ उनले भने, ‘यो जिल्लाको कला, संस्कृतिको प्रवर्द्धनका लागि गैरराजनीतिक संस्था हो ।’
वरिष्ठ कलाकार निर शाहले रुकुमसँग आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको उल्लेख गर्दै आफ्नो आमाले रुकुमसित परिचय गराएको स्मरण गरे । ‘तेरो पहिलेको घर रुकुम हो भन्दा मलाई अचम्म लागेको थियो । त्यसपछि म राप्ती, भेरीसँग भावनात्मक रुपमा नजिकएको हुँ,’ उनले भने ।
रैथाने साहित्य, संस्कृतिको विमर्शका अवसरमा दिंवगत गायक, लेखक प्रेम प्रकश मल्ल, वरिष्ठ कलाकार निर शाहलाई सम्मान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सांसद नारायणी शर्मा, पूर्व सांसद गोपालजीजङ्ग शाह, साहित्यकार युवराज नयाँघरे, संगीतकार सन्तोष श्रेष्ठलगायतले रैथाने साहित्य संस्कृतिका लागि वाङमय विमर्श थप योगदान गर्ने बताए । कार्यक्रममा स्थानीय गीत, संगीत प्रस्तुत गरिएको थियो ।
प्रकाशित : जेष्ठ ६, २०८० २१:१४