कोपिला किताबका ५ बालपुस्तक एकसाथ लोकार्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रकाशन गृह कोपिला किताबले ५ बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका ५ बालपुस्तक (बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा बुधबार आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरियो । 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा. घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताए । यहाँ कथाका लागि अनगन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उनको भनाइ छ । चित्रमा माध्यमबाट प्रस्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको उनले जनाए ।

कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए । यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रिय स्तरको रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको यसले प्रस्ट्याएको उनको भनाइ छ ।

अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने उनले जनाए । यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको उनको भनाइ छ ।

बालबालिकालाई विशेषगरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले जनाए । उनीहरुलाई जब पुस्तकको पंक्तिले तान्छ, त्यसपछि उनीहरु पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उनको भनाइ छ । कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उनले जनाए ।

जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न । त्यसैले बालबालिकालाई उपयोगी हुने किसिमले आएका यी पुस्तकले साहित्यका पाठक बढाउन सकिने गरी बालबालिकालाई आकर्षित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राखेकी थिइन् । उनले बालसाहित्यका विविध विषयमा प्रकाश पारेकी उनले कोपिला किताबले प्रकाशन गरेका बाल पुस्तक अन्तर्राष्ट्रिय स्तरका भएको बताइन् ।

कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गरे । शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उनको भनाइ छ ।

‘बेखामान र राक्षस’ पुस्तक बिक्रम भक्त जोशीले लेखेका हुन् । यसमा चित्रकार शोभितमान बनियाले चित्राङ्कन गरेका छन् । अर्काे बालपुस्तक ‘जन्तर मन्तर’की लेखक बिन्दु शर्मा हुन् । उनको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन छ । साथै ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका हुन् । यसमा चित्रकार प्रकाश रञ्जितको चित्राङ्कन छ ।

अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन् । यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गरेका छन् । अर्काे पुस्तक ‘साङ्केनको खुलदुली’का लेखक सृजना राई हुन् । यस पुस्तकमा चित्रकार सुरज राईले चित्राङ्कन गरेका छन् । सबै पुस्तकको सम्पादकमा बाल कथाकार अनुराधा रहेकी छन् ।

बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए । ‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं । उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझून् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं ।’

बालसाहित्यकार कृष्णदीप सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उनले बालसाहित्यका विविध पक्षमाथि आफ्ना धारणा राखेका थिए । कार्यक्रममा लेखकहरुले समेत आआफ्ना लेखन अनुभूति साटेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८० २०:२२
प्रतिक्रिया
पठाउनुहोस्

बजारमा बेलाकोका दुई वासिङ मेसिन

कान्तिपुर संवाददाता

काठमाडौँ — आईकेबीएच ग्रुप प्रालि (यूके) ले नेपाली बजारमा होम अप्लायन्सेस सेगमेन्टअन्तर्गत दुईथरी वासिङ मेसिन ल्याएको छ । ट्विन सेमी अटोमेटिक ७ केजी र अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन ८ केजी क्षमताका हुन् ।

यी दुवै वासिङ मेसिनमा वासर टाइमर र स्पिन टाइमर रहेको कम्पनीले जनाएको छ । यसले लुगा धूने समय र स्पिन समयलाई निश्चित गर्छ । बजारमा सेमी अटोमेटिक ७ केजी क्षमताको वासिङ मेसिनको मूल्य २६ हजार २ सय रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

आठ केजी क्षमताको अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन ग्याल्भनाइज्ड प्रविधिबाट बनेको कम्पनीले बताएको छ । यसको भित्री भाग स्टेनलेस स्टिलले बनेको छ ।

ओभर हिटिङ कन्ट्रोल, ओभर फ्लो कन्ट्रोल, फल्ट चेक डिस्प्ले, प्रोग्रेस इन्डिकेटर, चाइल्ड लक, अटो स्टार्ट र एन्टी ट्विस्टिङ यसका विशेषता रहेको कम्पनीले जनाएको छ ।

यो वासिङ मेसिन विद्युत् किफायतीसमेत भएको कम्पनीको दाबी छ । बजारमा यसको मूल्य ७० हजार ९ सय रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८० २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×