कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सालबारीमा गुञ्जिए कवि थाम्सुहाङ

सिलिगुडी — इलामेली कवि प्रकाश थाम्सुहाङ शुक्रबार भारत, सिलिगुडी नजिकैको नेपालीभाषी वाहुल्य क्षेत्र सालबारीमा आफ्ना सिर्जनामार्फत गुञ्जिए ।

सालबारीमा गुञ्जिए कवि थाम्सुहाङ

मेची तरेर यहाँ आइपुगेका उनले यहाँका स्थापित सर्जकहरुमाझ नेपाली साहित्यका विविध आयामबारे अनुभव पनि साट्न पाए ।

यहाँको बुकएन्ट प्रकाश गृहले आयोजना गरेको ‘रचना, रचनागर्भ र संवाद’ शीर्षकको एकल सिरिजमा उनले आफ्ना चर्चित कविता मात्रै सुनाएनन् । कविता सिर्जनाका रचनागर्भको पनि बेलिविस्तार लगाए । ‘आफ्नो भाषा, संस्कृति र मौलिकताको कुरा गर्दा हामीलाई अराजक भनिन्छ’, पहिचानवादी सर्जकको छवि बनाएका कवि थाम्सुहाङले थपे,‘पहिचानवादी लेखनमाथि लाग्ने गरेको अनावश्यक एकपाखे आरोपको उनले तार्किक जवाफ दिए ।

सहजकर्ता मिरिकका युवा कवि अजित वियोगीले तेर्स्याएको एक प्रश्नको जवाफमा कवि थाम्सुहाङले थपे,‘नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने परिपाटीको विकास नभएसम्म नेपाली साहित्यको समग्र विकास हुन सक्दैन । कवि थाम्सुहाङले पछिल्लो नेपाली साहित्यमा पहिचानवादी लेखन कमजोर बन्दै गएको स्वीकार्दै त्यसलाई अझ बलियो बनाउन पहिचानवादी साहित्यकहरू एक ढिक्का हुनुपर्ने जनाए ।

आधा दर्जन कविता सुनाएपछि उनले कविताका रचनागर्भ बेलिविस्तार लगाए, ‘सानामा आमाले सुनाएका लोककथाहरु मेरा सिर्जनाका मूल श्रोत हुन् ।’

मानिसको अन्तिम सत्य दुःख नै हुने गरेको आत्मस्वीकृति गर्दै लेखकले सिर्जिएको दुखवोध नै बजारमा बिक्री हुने उनले दाबी गरे । ‘इन्द्रबहादुर राईका सुरुआती कथाहरू रातभरि हुरी चल्यो, जयमाया आफू मात्र लिखापानी आइपुगी र प्रकाश कोविदका प्रेमिल दु:खान्त उपन्यासहरू यही सत्यका उदाहरण हुन्’, उनले थपे। थाम्सुहाङले दर्शकदीर्घाबाट आएका प्रश्नहरूको पनि सामना गरे ।

प्रकाशित : जेष्ठ ५, २०८० २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?