'सिन्का पाउँरु'मा अस्तित्वको खोजी

आश गुरुङ

पोखरा — ९० सालमा गएको भूकम्पले गोरखा बारपाकको पहाड चर्किन्छ । ९१ सालमा पहिरो खस्दा एकै परिवारका ३ सन्तानको मृत्यु हुन्छ । पहिरो गएको ६ महिनाअघि परिवारका एक सदस्य १३ वर्षीया छोरीको विवाह भइसक्छ । बुबाआमा र एउटा छोरा बाँच्न सफल हुन्छन् । जमिन्दार परिवार चितवन पाङ्गाढेमा बसाइँ सर्छ । १६ वर्षीय छोराको बारपाक माथि लाप्राकी किशोरीसँग विवाह हुन्छ । किशोर बेलायती सेनामा भर्ती हुन्छन् ।

पुर्ख्यौली गाउँ गएको बेला बुबाआमाको पुनः पहिरोमा परेर मृत्यु हुन्छ । बुहारी मात्रै रहन्छिन् । छोरा बेलायती सेनामै । उनी एक वर्षपछि फर्कन्छन् । ५ वटा सन्तान भइसकेकी बुहारीले अरुको गर्भ बोक्छिन् । छोरी जन्माउँछिन् । उनको नाम फूलमाया हुन्छ । आमाले उनलाई बाबाकै घर पठाउँछिन् । सौतेनी आमासँग बस्न नसकी उनी नेपालगञ्ज फुपूको घर जान्छिन् । फुपूले उनको नाम मौसमी राखिदिन्छ ।

यही सेरोफेरोमा गीत गजलकार शितल कादम्बिनी गुरुङको उपन्यास ‘सिन्का पाउँरु’ बग्छ । यसलाई पोखरामा शनिबार गुरुङ साहित्यिक मञ्च नेपाल र गुरुङका युवालाई अध्ययनमा सहयोग पुर्‍याउने संस्था टेकानेटले विमर्श गराएको छ ।

सिन्का नेपाली भाषामा सिन्का नै हो । पाउँरुलाई नेपालीमा पाङ्ग्रा वा अन्य नामले पनि चिनिन्छ । उपन्यासमा सिन्का पाउँरु भेट्न कथाको उत्तरार्द्धमा पुग्नुपर्छ ।

माध्यमिक शिक्षाको उत्तरार्द्धमा नेपालगञ्ज पढ्दा मौसमीको भेट सँगै पढ्ने दीपकसँग हुन्छ । मेला हेर्न गएका उनलाई फुपूले लाठी हान्न खोजेपछि 'फुपूको लाठी खाने कि मसँग बाइकमा जाने ?' भन्ने दीपकको भनाइमा उनले दीपकसँग जाने निधो गर्छिन् । घरमा सौता हुन्छिन् । त्यतिमात्र नभएर दीपकले घरकै कामदार र अरुसँग पनि सम्बन्ध राखेको थाह हुन्छ । दीपकलाई गर्भ रहेको मन पर्दैन । उल्टै मौसमीसँग झगडा गर्छ । श्रीमान् नसच्चिएपछि अलग भएर बस्ने निर्णय गर्दै उनी काठमाडौं फुपूको छोराको घरमा पुग्छ । उनले दीपकसँग कुनै सम्पत्ति दाबी गर्दैन । काठमाडौं एक जना पात्र कुवेरसँग भेट हुन्छ । गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङले मौसमी र कुवेर पात्रलाई प्रत्यक्ष भेटेको दाबी गर्छिन् । मौसमी नागरिकतामा दीपकको नाम रहेको नागरिकता बोकेर हिँड्छिन् । ‘जो मान्छे मनमा छैन, उसैलाई बोकेर हिँड्नुपर्ने बाध्यता महिलामा हुन्छ’ गौरी थप्छिन्, ‘यो कृति नेपाली महिलाको अनुहार हो । जो आफ्नो पहिचान खोज्न बाउ र श्रीमान्‌बाट चिनिनुपर्छ ।’

पञ्च भलाद्मी बसेर दीपक र मौसमीबीचको पारपाचुके (सम्बन्ध बिच्छेद) गरिएको हुन्छ । यसमा पुरुषको प्रतीकको रुपमा सिन्का र महिलाको प्रतीकको रुपमा पाउँरुको प्रयोग हुन्छ । पञ्च भलाद्मीले सिन्का भाँचिदिन्छ, पाउँरु फुटाउँछ । ‘सदियौंदेखि मान्दै आएको संस्कार, जहाँ अदालत र प्रहरी चाहिँदैन’ अध्यक्ष गुरुङ थप्छन्, ‘सिन्का पाउँरु सम्मुख फर्किएमा फेरि मिलन हुने सम्भावना र नफर्किएमा सधैंको बिछोड हुने मान्यता पनि छ । नत्र दिदीबहिनी सरह नै ।’

कथाको सार लगभग टुंगिन्छ । यसमा गुरुङ समुदायको जन्म, विवाह, बसाइासराइँ, सम्बन्धविच्छेद र मृत्यु अर्थात् नेपालीमा पञ्जिकरणका सबै उदाहरण देखाइएका छन् । ‘सम्भवत यो गुरुङ समुदायको सबै खाले संस्कार समेटिएको पहिलो कृति हो । संस्कार सबै समेटिए पनि अपूर्ण हुन सक्छ । यसलाई लेखकले अर्को संस्करणमा सच्याउनु हुनेछ’ साहित्यकार रोशनी गुरुङले भनिन् ।

नेपालका विभिन्न ठाउँ हुँदै भारतसम्म पुगेको ‘सिन्का पाउँरु’ ले पहिचान र अस्तित्व बोकेको साहित्यकार गनेस पौडेको बुझाइ छ । पोखरामा शनिबार आयोजित ‘सिन्का पाउँरु’ उपन्यासमाथि विमर्शमा उनले थपे, ‘सांस्कृतिक पहिचान र अस्तित्वको लागि संघर्ष गरेको कथाले कृतिलाई जीवन्त दिएको छ । गुरुङलगायत आदिवासी समुदायको मातृसत्ता झल्किन्छ । घटना, पीडा र संघर्ष सत्यमा आधारित छन् ।’ उनका अनुसार सिन्का पाउँरुलाई मौसमीले डोर्‍याएको छ । मौसमीको मन मौसमजस्तै चञ्चल छ । बाध्यताको दलदलमा फसेर पनि उनी जीवनदेखि हार्दैनन् । ‘यो कृतिले पाठकलाई गुरुङसँग साक्षात्कार गराउँछ,’ उनले थपे ।

वातावरण तथा संरक्षण विद्समेत रहेका टेकानेटका संस्थापक डा. हुमबहादुर गुरुङले नेपाली साहित्यमा गुरुङ समुदायको संस्कारले स्थान पाउन थालेको दाबी गरे । ‘चाहे फिल्म हुन्, चाहे साहित्य । यसमा गुरुङ र गुरुङपनाले स्थान लिन खोज्दैछ,’ उनले थपे, ‘गुरुङ साहित्यलाई अन्तराट्रिय करण गर्न जरुरी छ, सिन्का पाउँरु अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्नलायक छ ।’

गत पुस १५ गते ल्होसारको दिन काठमाडौं टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहालले विमोचन गरेको कृति सिन्का पाउँरुलाई तमू हृयूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले उक्त दिन नै पुरस्कार प्राप्त गरेको हो । गुरुङ समुदायको वर्गचक्र अनुसार तो ल्हो (बाघ वर्ग) मा प्रकाशित १ सय ७३ पुस्तकमध्येबाट छानिएर शितल कादम्बिनीको उपन्यास ‘सिन्का पाउँरु’ ले ‘तमू वर्ष पुस्तक पुरस्कार–२०२२’ प्राप्त गरेको थियो । परिषद्‌ले गुरुङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृति अभिवृद्धि गर्ने उद्देश्य राखेर सन् २०२० देखि हरेक वर्ष तमू ल्होसारमा प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको छ । मूल्य ४९९ रुपैयाँ रहेको यो उपन्यास यात्रा पब्लिसिङ हाउसले प्रकाशन गरेको हो । लेखक कादम्बिनीका ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’, ‘ओए झुमा, झुमा झुम्कावाली’ लगायतका गीत गजल चर्चित छन् । तमु धींका अध्यक्ष हुमबहादुर गुरुङले गुरुङ संस्कृतिलाई साहित्यमार्फत सार्वजनिक गरेको भन्दै पछ्यौरा ओढाएर शितल कादम्बिनी गुरुङलाई सम्मान गरिएको बताए ।

प्रकाशित : जेष्ठ १, २०८० १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

हुम्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा

जनकबहादुर शाही

हुम्ला — हुम्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । नेपाल सरकारले तोकिएको मापदण्ड र सूचक पूरा भएपछि शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हुम्ला पूर्ण खोपयुक्त जिल्ला घोषित गरिएको हो ।

हुम्लाका ७ वटै गाउँपालिकामा रहेका जन्मेदेखि २३ महिना समूहमा बालबालिकाहरुलाई सहज रूपमा खोपका पहुँचमा ल्याउन जिल्लाभरि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरी तीन महिने अभियान सञ्चालन पछि हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले सहज रूपमा खोपको पहुँचमा ल्याइएसँगै हुम्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

उक्त उमेर समूहका बालबालिकालाई सबै पालिकाले घरघरमै भेटेर १३ प्रकारका खोप लगाउने कार्य पूरा भएको हो । सो कार्य भए नभएको अनुगमन गर्न स्वास्थ्य सेवा कार्यालयले ७ वटै गाउँपालिकामा अनुगमन टोली पठाएर पालिकाका गाउँगाउँमा खोपको पहुँचको अवस्थाको लेखाजोखा गरी पहिला जिल्लाका ७ वटै गाउँपालिकालाई पूर्णखोप पालिका घोषणा गरेपछि शनिबार एक कार्यक्रमकाबीच हुम्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । उक्त घोषणा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लालाई ७१ औं पूर्ण खोपयुक्त जिल्लाका रुपमा शनिबार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर बहुमखी क्याम्पसको प्रांगणमा आयोजित कार्यक्रममा घोषणा गरेका हुन् ।


राष्ट्रिय खोप तालिका अनुसार जिल्लाका सबै बालबालिकाले एक वर्ष भित्रमा लगाई सक्नु पर्ने खोप लगाइसकेकाले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । हुम्लामा रहेका ७ वटा गाउँपालिका र ४४ वटा वडाका जन्मेदेखि २३ महिना भित्रका सबै बालबालिकाहरुले एक वर्षभित्र नै पूर्णखोप लगाएको हुँदा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताए ।

२०७५ असार २५ गते जिल्लाको खार्पुनाथ गाउँपालिकाबाट सुरु भएर यही वैशाख २२ गते चंखेली गाउँपालिका अन्तिम पालिकाका रुपमा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भए पछि शनिबार हुम्ला जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका ७ वटै स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष शिवराज शर्माको अध्यक्षतामा भएको पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रमको कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्य विजय बोहरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुखलगायत सिमकोटका स्थानीयको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

प्रकाशित : जेष्ठ १, २०८० १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×