इलाममा साहित्य महोत्सव सुरु

विप्लव भट्टराई

इलाम — साहित्यमार्फत इलामको पर्यटकिय गतिविधिलाई बढावा दिने उद्देश्यले आइतबार इलाममा अन्तर्राष्ट्रिय साहित्य महोत्सव सुरु भएको छ । नेपाल र भारतका साहित्यकार सम्मिलित महोत्सव सोमबारसम्म चल्नेछ । महोत्सवमा साहित्य, राजनीति, पर्यटन सिनेमालगायत १४ विधामा छलफल हुँदै छ । 

इलाममा साहित्य महोत्सव सुरु

पहिलो दिन ‘अंक अर्थ र अध्यात्म’ विषयमा विश्व पौडेलले सम्भाषण प्रस्तुत गरेका छन् । उनले अंकले अर्थशास्त्रलाई विश्वासिलो बनाएको तर्क गर्दै आध्यात्म र गणितबीचको अन्तरसम्बन्धका विषयमा विचार राखे । ‘जसले गािणतका विषयमा गहन खोज गरे उनीहरू महान् बने,’ उनले भने, ‘उनीहरूले गणितका अपत्यारिला तथ्यलाई पुष्टि गरेर देखाए ।’

‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षकमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, नेपाली कांग्रेसका गुरुराज घिमिरे र लेखक खगेन्द्र संग्रौलासँग पत्रकार/लेखक वसन्त बस्नेतले बहस गरे ।

त्यस्तै ‘लेखन सफल कि सार्थक’ मा युवराज अधिकारी, विश्व विमोहन श्रेष्ठ र सविता गौतम दाहालले विचार मन्थन गरे भने राजु सेङतेनसँग विचार मन्थनमा उत्रिएका तीर्थ श्रेष्ठ, लिला अनमोल र भूपिनले ‘कवितामा स्थानीय चेत’ को चर्चा गरे ।

झन्डै आधा नेपाली विदेसिएको अवस्थामा स्थानीय चेतको अर्थ र सान्दर्भिकताका विषयमा उनीहरूले विचार राखे । स्थानीय चेत पहिचानसँग पनि जोडिएको चर्चा गर्दै सहाभागीले स्थानीय चेतलाई भूगोल मात्र नभएर पहिचान, सामाजिक अवस्था, परम्परालगायत विषयसँग पनि जोडिएको सन्दर्भ प्रस्ट्याउने कोसिस गरे ।

‘कस्तो सिनेमा’ शीर्षकमा कलाकर्मीहरू उपेन्द्र सुब्बा र सुरक्षा पन्तसँग अन्वेश थुलुङले छलफल गरे भने ‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकमा वन्दना टेटे र भारतको झारखण्डका अश्विनीकुमार पंकजले राजा पनियानीसँग विचार राखे ।

अब सोमबार नेपालको पर्यटनमा पूर्वेली भाषा, समावेशी लेखन र समकालिनता, महाभारादेखि टिस्टाञ्चलसम्म, मातृभाषा साहित्यमा शिल्प चेतना, फिक्सन डिजाइनर इन पोएट्री, जनआकांक्षा विकास र पर्यावरण, नारी पर्या सहित्य र सत्ता, पहिचानको संषर्घलगायत विषयमा चर्चा हुनेछ ।

कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले राज्य सत्तासँग प्रश्न गर्ने साहित्य लामो समयसम्म टिक्ने बताउदै यस्तो साहित्य सिर्जनामा लाग्नुपर्ने बताए । इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम ऐतिहासिक रुपमा नै साहित्यमैत्री जिल्ला भएको बताउँदै साहित्यमार्फत पर्यटन प्रवर्द्धन गर्न पनि सकिने बताए ।

प्रकाशित : चैत्र २६, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?