कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
समीक्षा

हङकङका किरात राई जातिको इतिहास

गणेश राई

काठमाडौँ — ‘हङकङमा सामूहिक चुलाघरको स्थापनाका लागि नेपालको किरातेश्वर बुढानीलकण्ठमा चढाएको फूलपाती र किरातहरूको धार्मिकस्थल हात्तीवनको माटो ल्याइएको थियो । हामी किरात राईहरू विश्वको जुनसुकै कुनामा बसे पनि हाम्रो माटो एउटै हो । हामीहरू एउटै चुलाका हौं । एउटै चुलामा रहौं ।’

हङकङका किरात राई जातिको इतिहास

हो, पुर्ख्यौली सम्पत्ति तीनचुला र मातृभूमि नेपालको माटो लिएर हङकङ पुगेका किरात राई जाति संस्थागत रूपमा गोलबद्ध छन् । त्यही संस्थागत कामलाई लिएर ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ (सन् १९९८–२०२१) पुस्तक बजारमा आएको छ । नरजित राईले अभिलेखनको काम गरेका छन् । लेखक राईका यसअघि ‘आकाश खोज्दै जाादा’, ‘समुद्रमाथिको सहर’ र ‘नसकिने बाटो’ नियात्रा संस्मरण तथा ‘मनोबिम्ब’ र ‘मनका नदीहरू’ कवितासंग्रह कृति प्रकाशित छन् । रमरम बैंसको बेला मातृभूमिको माटो बोकेर पुर्खाले लडाइँ लडेको मुलुक हङकङ पुगेका लेखक राईले इतिहास निर्माणदेखि दस्तावेजीकरण गर्ने सम्मको सशक्त भूमिका निर्वाह गरेका छन् । यो पुस्तक किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले प्रकाशित गरेको हो ।

एक सय ५६ वर्षसम्म हङकङ बेलायतको उपनिवेश थियो । ब्रिटिस गोर्खा सैनिकका रूपमा फौजी जीवनभरि हङकङमा नेपाली बस्न पाउँथे । बेलायतले सन् १९९० को उत्तरार्द्धदेखि जन्मका आधारमा आवासीय अधिकार दिएपछि ‘ब्रिटिस लाहुरे’का छोराछोरीले हङकङ बसोबास गर्न पाएका हुन् । नेपाली समाजमा ‘हङकङ आईडी’को प्रभाव अविष्मरणीय छ । हङकङमा सन् २०२१ सम्ममा स्थायी परिचयपत्र वाहक २० हजार ४ सय ९८, आश्रित परिवार १० हजार २ सय ५८, घरेलु कामदार ६ सय ७७ गरी ३५ हजार जति नेपाली रहेको पुस्तकमा उल्लेख छ । त्यसमा किरात राई जातिको संख्या ५ हजार जति रहेको छ । हङकङमा बसोबास गर्ने नेपालीमध्ये पहिलो जनसंख्या गुरुङ, दोस्रो मगर, तेस्रो राई र चौथोमा लिम्बूको रहेको छ ।

सन् १९९८ अप्रिल २० मा किरात राई यायोक्खा हङकङ (अंग्रेजीमा किरात राई एसोसिएसन हङकङ) वैधानिक रूपमा दर्ता भएको हो । संस्थाका मुख्य उद्देश्य हङकङमा नेपालीभाषी बालबालिकाका लागि नेपाली स्कुलको स्थापना गर्नु र त्यहाँ बस्ने नेपालीलाई हङकङको कानुनबारे अवगत गराउनु थियो । प्रतिष्ठानका कुलपति शशीमदन राईले भूमिकामा लेखेका छन्– ‘आफ्ना पुर्खाको गर्वशील इतिहासबाट यशशाली यो हङकङ ससम्मान बसोबासको अनुमति पाएका ब्रिटिस गोरखा सैनिक तथा परिवारका केही अग्रजहरूले आफ्नोपन, आफ्नो पहिचान र आफ्ना सन्ततिको सांस्कृतिक एकतापूर्ण भविष्यको सुनिश्चितताका खातिर सन् १९९८ जनवरी २८ मा यस संस्था जन्म गराएका हुन् ।’ सोही साल मे १७ मा हङकङमा पहिलोपटक साकेला सिली (नाच) ताई मो शान कन्ट्री पार्कमा प्रदर्शन भएको थियो । सांस्कृतिक रूपमा एकताबद्ध हुनु र ‘हङकङको आधारभूत कानुन’ नेपाली भाषामा रुपान्तरण गरी सहज तुल्याउनु संस्थाको प्रारम्भिक उद्देश्य थियो । यायोक्खा हङकङले वार्षिकरूपमा ‘यलम्बर’ पत्रिका अहिलेसम्म २० अंक प्रकाशित गरेको छ भने किरातराई डट ओआरजी वेबसाइट सञ्चालनमा छ ।

२०४५ साउन २२ गते शनिबार (तदानुसार ६ अगस्ट, १९८८) मा ‘किरात राई साँस्कृतिक तदर्थ समिति, काठमाडौं’ गठन भएको थियो । त्यही समितिको प्रथम राष्ट्रिय सम्मेलन २०४७ भदौ २३ र २४ गते काठमाडौंमा सम्पन्न भयो र सम्मेलनले संस्थालाई ‘किरात राई यायोक्खा’ नामकरण गर्‍यो । अहिले किरात राई यायोक्खा २५ जिल्ला कार्यसमिति तथा हङकङसहित १९ देशमा विदेश संगठन र सम्बन्धन संस्था छन् । नेपाल सरकारले सूचीकृत गरेको ६० आदिवासी जनजातिमध्ये राई एक जातिमा पर्दछ । राईभित्र २६ भाषा बोल्ने समुदाय छन् । तिनै समुदाय साझा छाता संस्थाका रूपमा किरात राई यायोक्खा चिनिन्छ ।

‘पुर्खाले छोडेको प्राचीन किरात राई संस्कार–संस्कृति महान्, चुला संस्कार–संस्कृति किरात राईहरूको एकता र पहिचान’ नारासहित हङकङमा चुलाघर खरिद अभियान चलाएर २५ सय स्क्वायरफिट क्षेत्रफलमा किरात राई यायोक्खाको घर–जग्गा किनेको छ । चुलाघरलाई ‘सुप्तुलुङ खिम’ नामकरण गरिएको छ । सामूहिक चुलाघर स्थापना गर्नुको उद्देश्य २८ भाषी (यसअघि ३६ भाषी राई भनिएकोमा केही भाषा लोप भएर हाल २६ भाषामात्र व्यवहारमा रहेको) किरात राईहरूभित्र विवाह गरे ल्याइएको बुहारी चुलामा भित्र्याउने र बिहे गरी कुटुम्बको हातमा सुम्पिनुअघि चेलीलाई चुलाबाट निकालेर थमाउनु हो । यस्तै, बाटो बिराएर अन्य धर्ममा प्रवेश गरेका राईहरूलाई मूलघरमा फर्काउनु, जन्मदेखि मृत्युसम्मको संस्कारलाई व्यवस्थापन गर्दै सेवा प्रदान गर्नु उल्लेख छ ।

अर्काको देशमा पुगेर नेपालमा विकास भएको किराती परम्परालाई पुनःस्मरण र पुनःउत्थान गर्नु सजिलो छैन । रोजीरोटीका निम्ति व्यस्त कार्यतालिका हुँदाहुँदै सामाजिक संस्था स्थापना गरेर, आफ्नै श्रमबाट आर्जे पाईपाई रकम र समय जोगाएर सामाजिक कार्य गर्नु, गर्न प्रेरित तुल्याउनु, दिनदुःखीहरूको सेवा गर्नु, स्वदेशमा रहेका वंशहरूको उत्थानमा सहयोग गर्नु ‘भगवानले भन्छन् रे ता चिता म पुर्‍याउँछु’ भन्ने कथनबाट आफैंलाई सान्त्वना दिंदै अघि बढ्ने काम हङकङमा स्थायी बसोबास गर्न पुगेका पहिलो पुस्ताले गर्दै आएका छन् । पुस्तान्तरण प्रक्रियालाई प्रभावकारी तुल्याउने प्रयास पनि जारी छ । वार्षिक क्यालेन्डरअनुसार सामूहिक भेटघाटदेखि चाडवाड मनाउँदछन् । उभौली र उधौलीमा सामूहिक चुलापूजासहित साकेला सिली नाच्ने, साकेला सिली प्रतियोगिता गर्ने किरात राईहरूको मुख्य तालिका नै हो, जुन हङकङमा पनि गर्छन् । ताई मो शान कन्ट्री पार्क नजिकै विश्वयुद्ध र अन्य युद्धमा ज्यान गुमाएका बहादुर गोर्खाहरू समाधिस्थल (सेमेन्ट्री) छन् र पुर्खा दिवसमा सम्झिने गरिन्छ ।

हङकङमा नेपालका केही चाडवाड मनाउँदै आएका छन् । पुर्खाले भन्दै आएका ‘यो चाडपछि बा मरिन्छ कि बाँचिन्छ’ भनेर माघेसंक्रान्ति मनाइँदो रहेछ । किरात राईहरूको आदिम जीवन निर्वाहको झल्को देखाउन वनतरुल, घरतरुल, गिठा, भ्याकुरजस्ता कन्दमुल खाने गरिन्छ । माघ १ गते किरात येले संवत्‌को पहिलो दिन ‘यलम्बर दिवस’ पनि मनाउँदा रहेछन् ।

यसैगरी पुर्खाले ‘अब त बाँचियो है भनेर’ मनाएका साउने संक्रान्ति मनाउने गरिएको छ । यो चाडमा लेकको टिमुरलाई मासुमा मसलाको रूपमा लगाएर र कागुनोको भातसँग खाने गरिन्छ । किरात राजा बलिहाङको सम्झनामा तिहारमा देउसी–भैलो खेलेर दीपावली मनाउने गर्दारहेछन् । संस्थाको वार्षिकोत्सव मनाउनु छँदैछ, साँस्कृतिक रूपमा नेपालबाट कलाकारसमेतलाई निम्तो दिएर ‘यलम्बर साँझ’ मनाउने गरिएको छ । यलम्बर भलिबल कप, ब्याडमिन्टन, धनुर्वाण प्रतियोगिता, सभ्यताको प्रवर्तक पुर्खा तयमा–खियमा दिवस मनाउने गरिएको छ ।

जन्मसँगै मृत्यु अस्वंभावी छ । त्यसैले किरात राईहरूको हङकङ (प्रवास)मा मृत्यु भएमा कसरी मृत्यु संस्कार गर्ने ? कागजातको तयारी गरेर शवलाई नेपाल लैजाने वा सद्गत हङकङमै गर्ने ? मृतकलाई श्रद्धाञ्जलीका लागि फनेरल हल बुकिङ र अन्त्येष्टिका लागि क्रेमाटरी हल बुकिङ गर्ने । मलामी आउजाउ गर्न बसको व्यवस्था, मलामी चोख्याउने, मृतकका आफन्तको इच्छा भए चुलामा मृत्यु संस्कार गरिदिने, काजक्रिया (नुनतेल, ढोगभेट फुकाउने) विधि गरिदिने जस्ता पक्षमा संस्थाले भूमिका खेल्दै आएको पुस्तक उल्लेख छ ।

यायोक्खा हङकङमा किरात राई चाम्लिङ खाम्बातिम, किरात दुमी राई फन्सिकिम, किरात साम्पाङ राई जुम्लेखा, किरात बान्तावा यायोक्खा, किरात पुमा राई तुप्खाबाङ्खाला, किरात राई थुलुङ सामा, किरात बाहिङ/बायुङ राई मुलुखिम, किरात राई सोदेल कोयी/कोयू किमजस्ता भाषागत संस्था आबद्ध छन् । यिनै संस्थामार्फत मातृभाषा प्रशिक्षण दिने गरिएको छ । सांस्कृतिक रूपान्तरणका निम्ति नयाँ पुस्तालाई साकेला सिली (नाच) प्रशिक्षण र प्रतियोगिता गराउने गरिएको छ । ती सिलीलाई भिडियो डकुमेन्ट्री निर्माण गरी प्रदर्शन गर्ने गरिएको छ । सामाजिक कार्यका यावत पक्ष किरात राई यायोक्खाले सम्हाल्ने र प्राज्ञिक पक्ष किरात राई प्रज्ञा प्रतिष्ठानले लेखाजोखा राख्ने स्पष्ट पारिएको छ । हङकङवासी राई जातिको निम्ति स्थापित संस्थाका माध्यमबाट आफ्नो गाास काटेर जुटाएको अर्थव्यवस्थाले मातृभूमि नेपाल र नेपालीको सेवामा समर्पित हुने गरेको पुस्तकमा उल्लेखित बुँदाले स्पष्ट पार्छ ।

बेलायतले हङकङ उपनिवेशलाई सन् १९९७ मा जनवादी गणतन्त्र चीनलाई हस्तान्तरण गर्‍यो । उसले ब्रिटिस गोर्खा परिवारलाई बेलायतमै आवासीय अधिकार प्रदान गर्‍यो । त्यसपछि हङकङमा बसोबास गर्दै आएका ब्रिटिस गोर्खा परिवार बेलायत स्थानान्तरण हुन पुगे । हङकङमा जति नेपाली छन्, उनीहरूले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार परम्परालाई निरन्तर राख्ने अब्बल प्रयास जारी राखेका छन् । त्यही दस्तावेज हो ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ पुस्तक । यो पुस्तकमा समेटिएका सामग्रीलाई पाँच खण्डमा विभाजित छन् ।

पहिलो खण्ड पूर्वअध्यक्षका सम्झनामा किराया हङकङ, दोस्रो खण्डमा ‘किराया हङकङका उपलब्धि’, तेस्रो खण्डमा ‘चुलाघर खरिदका लागि दाताहरूको नामावली’, चौथो खण्डमा फोटो फिचर र पाँचौ खण्डमा पुराना कार्यसमिति र सन्दर्भ सामग्री रहेका छन् । यसमा केही खड्किएका पक्ष भनेको मुद्राराक्षस केलाउने र नेपाली मानक लेखनको पालना पर्याप्त हुनसकेन । पुस्तक अनुसन्धानात्मक पद्धति र ढाँचा अपनाइएको तथा सन्दर्भ सामग्री पर्याप्त उल्लेख गरिएका भए अझ राम्रो हुन्थ्यो । यायोक्खामा आबद्ध एकै व्यक्तिको नाम फरक–फरक हुनु, एउटै प्रसंग पटक दोहोरिएका छन् ।

फोटो खण्डमा पर्याप्त तस्बिर नसमेट्न कन्जुस्याइँ भएको भान हुन्छ । आवरणमा कलालाकार दीपेन्द्र राईको सांस्कृतिक रेखाचित्रले हङकङभन्दा पनि किरातको आदिमभूमि नेपालको बिम्ब बोकेको छ । पुस्तकमा एउटा खण्डचाहिं हङकङमा ब्रिटिस–गोर्खाको इतिहास संक्षिप्त समेटिएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लाग्छ । यद्यपि लेखक नरजित राईको सत्प्रयास स्तुत्य छ ।

प्रकाशित : चैत्र १८, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?