नेपाल र भारतका सांस्कृतिक र आध्यात्मिक सर्किटलाई समेट्दै पुस्तक

पुस्तकमा नेपाल र भारतका शिव–शक्ति सर्किट, महाभारत सर्किट, रामायण सर्किट, बुद्धिस्ट सर्किट र सिख सर्किटलाई समावेश गरिएको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र भारतको सांस्कृतिक र आध्यात्मिक विभिन्न ५ सर्किटहरुलाई समेट्दै पुस्तक ल्याइएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघले ‘रिलिजियस एन्ड स्पिरिच्युअल सर्किट नेपाल एन्ड इन्डिया’ नामक कफी टेबल पुस्तक प्रकाशन गरी लोकार्पण गरेको हो ।

उक्त पुस्तकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती, संघकी अध्यक्ष श्रीमती सृजना राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र पराराष्ट्रसचिव भरतराज पौड्यालले संयुक्त रुपमा सोमबार लोकार्पण गरे ।

पुस्तकमा नेपाल र भारतका शिव–शक्ति सर्किट, महाभारत सर्किट, रामायण सर्किट, बुद्धिस्ट सर्किट र सिख सर्किटलाई सामेल गरिएको छ । पुस्तक नेपाल र भारतका ८ जना सम्बन्धित क्षेत्रका विज्ञहरु मिलेर लेखेका हुन् ।

पर्यटनमन्त्री सुदन किँरातीले नेपाल–भारतबीचको सम्बन्धको असाध्यै पुरानो, ऋषिमुनिहरुको पालादेखिको सम्बन्ध भएको र अत्यन्त घनिष्ठ सम्बन्ध रहेको बताए । उनले अहिले पनि यो व्यापार, सामाजिक सांस्कृतिक मात्रै नभइ पारिवारिक पनि भएको र नेपाल–भारत उद्योग वाणिज्य संघले प्रकाशनमा ल्याएको कफी टेबल पुस्तकले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पर्याउने बताए । पुस्तकमा उल्लेख गरेको सर्किटहरुले हामी दुई देशका नागरिकहरुलाई अझ नजिक बनाइदिएको महसुस भएको बताए ।

उक्त कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले संघको प्रकाशन यस पुस्तकले नेपाल र भारतबीचको सदियौंंदेखिको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए ।

संघकी अध्यक्ष सृजना राणाले नेपालमा सीताको जन्म भएको र भारतको अयोध्यामा जन्मेका रामसँग विवाह भएको, बुद्धको जन्म नेपालमा भएको र भारतमा ज्ञान प्राप्त गरेको, सतिदेवीले महादेवको हेला सहन गर्न नसकेर अग्नि कुण्डमा प्रवेश गरी प्राण त्याग गरेको र सतीदेवीको मृत शरीर बोकेर भगवान् शिव विभिन्न स्थानमा गएको बेला सतिदेवीको अंग पटन भएजति सबै स्थानमा शक्तिपीठ उत्पत्ति भएको जस्ता कुराहरु बच्चा बेलामा बज्यैहरुबाट सुन्ने गरेको बताइन् । उनले उक्त कुराहरु किंवदन्तीमै मात्र सीमित भएको जस्तो लागेर उक्त विषयलाई पुस्तकमा लिपीबद्ध गरी प्रकाशित गर्न सके नेपाल र भारतका तीर्थालुहरुका लागि अत्यन्त उपयोगी हुनुका साथै यसको प्रचार–प्रसारबाट नेपालको धार्मिक पर्यटनमा सहयोग पुग्ने भएकोले उक्त पुस्तक प्रकाशित गरेको बताइन् । उनले आफ्नो सपनाको रुपमा अघि बढाएको उक्त पुस्तक प्रकाशन साकार भएको बताइन् ।

संघका उपाध्यक्ष सुनिल केसीले उक्त पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण सदस्यलगायत सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित : चैत्र १५, २०७९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

जता पनि व्यापारीकै रजाइँ

पाठक पत्र

'कालीमाटीमा किसानलाई छुट्याइएका स्टल व्यापारीको कब्जामा’ समाचारमा facebook.com/eKantipur बाट लिइएका टिप्पणी :

कालीमाटीको तरकारी पसलहरूबाट महिनाको ८० हजार रुपैयाँसम्म भाडा उठाउने गरिएको छ, त्यही भएर तरकारी महँगो भएको हो । सरकारले अनुसन्धान गरेर अनैतिक रूपमा बसेका व्यापारीहरूलाई हटाउनुपर्छ ।
– आनन्द भट्ट

किसानले देशका लागि उत्पादन गर्छन्, व्यापारीले भने यसैको फाइदा उठाउँछन् । यत्ति हो सत्य ।
– सुरेन्द्रसिंह परियार

यी स्टलहरू वास्तविक किसानलाई दिनुपर्छ ।
– हेमन्त भुसाल

स्टल प्राप्त गर्नुभएकोमा सम्पूर्ण व्यवसायी साथीभाइलाई मुरीमुरी बधाई तथा सफल कार्यकालका लागि अनगिन्ती शुभकामना !
– सुनिल लुहान राई

लोकतन्त्रमा ‘लोक’ को अधिकार कागजमा मात्र छ । बिचौलियाहरूले राजनीति नै चलाउँछन् ।
– बिक्की लिम्बू

वास्तविक किसान सोझा हुन्छन् ।
– शेषराज भट्टराई

हरेक क्षेत्रमा माफियाहरूको राज छ ।
– विजय जी

हामीले रोजेको अनि खोजेको शासन व्यवस्थाको अर्को विशेषता हो यो । कोही कतै नरिसाउनुस् ल !
– सुवास खनाल

देश नै व्यापारीहरूको कब्जामा गइसक्यो अनि त्यो कालीमाटीमा रजाइँ गर्नु कुनचाहिँ ठूलो कुरा भयो र !
– लभ ताम्रकार

प्रकाशित : चैत्र १५, २०७९ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×