भोजपुरेलाई वासु शशी साहित्य सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक एवं लेखक हिरण्य भोजपुरेलाई २०७९ सालको वासु शशी साहित्य सम्मान प्रदान गरिएको छ ।

कवि एवं नाटककार वासु शशीको ८७औं जन्मजयन्तीका अवसरमा मंगलबार आयोजित समारोहमा संस्कृतिविद् तुलसी दिवसले भोजपुरेलाई सम्मान गरेका थिए । समारोहमा कवि श्यामललाई वासु शशी साहित्य पुरस्कार र शशीका नाटकको नाट्यतत्त्व विषयमा विद्यावारिधि गरेका अनुसन्धाता गोपीकृष्ण खतिवडालाई वासुशशी शोध पुरस्कार प्रदान गरिएको थियो । यसमध्ये पुरस्कारको राशि २५ हजार र सोधका निम्ति २१ हजार रुपैयाँको सम्मान थैली पैदान गरिएको थियो ।


समारोहमा लेखक रमेश रेग्मीको ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रहको विमोचन गरिएको थियो । वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्यको उपस्थितिमा आयोजित समारोहमा परिषद् अध्यक्ष गणेश रसिक, कवि विश्वविमोहन श्रेष्ठ, सुमन वर्षा, प्रद्युम्न जोशीलगायतले मन्तव्य राखेका थिए ।

सम्मानित ८० वर्षीय स्रष्टा भोजपुरे ६ दशकयता गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन् । पुरस्कृत प्रतीभा श्यामल करिब ३ दशकयता कविता लेखनमा सक्रिय छन् ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

असारभित्र तीन कम्पनीको २२८ मेगावाट बिजुली थपिँदै

१०२ मेगावाटको मध्य भोटेकोशी, १११ मेगावाटको रसुवागढी र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा
कमल धिताल

काठमाडौँ — चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन तीन कम्पनीबाट २२८ मेगावाट बिजुली यसै आर्थिक वर्षमा उत्पादन हुने भएको छ । रसुवागढी, मध्यभोटेकोशी र माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाबाट २२७.८ मेगावाट बिजुली असारमा उत्पादन थाल्ने गरी तयारी भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी, रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाबाट असारमा उत्पादन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । चिलिमेले तीन आयोजनाका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरी आयोजना निर्माण गरिरहेको छ, जसमा रसुवागढी ९० प्रतिशतभन्दा बढी र मध्य भोटेकोशीको तथा माथिल्लो साञ्जेनको काम ९५ प्रतिशत सकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवासकुमार मिश्रले जनाए ।

भूकम्प तथा कोभिडको समस्याले निर्माणमा केही ढिलाइ भए पनि हाल तीन ओटै आयोजनाको काम तीव्र गतिमा भइरहेको हुँदा निर्माण कार्य यसै आर्थिक वर्षमा सकिने उनको भनाइ छ । मध्य भोटेकोशी जलविद्युत्लाई ०७१ साउनमा आएको जुरे पहिरोले निकै असर गरेका कारण पनि निर्माणमा ढिलाइ भएको उनले बताए । ०७२ वैशाखको विनाशकारी भूकम्प, ०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमामा भएको अवरोध, ०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड महामारीका कारण आयोजना निर्माणमा असर परेको कम्पनीले जनाएको छ । तीन आयोजनाको कुल लागत करिब ३८ अर्ब १० करोड रहेको कम्पनीले बताएको छ ।

मध्य भोटेकोशी आयोजनाको अनुमानित लागत १५ अर्ब ५ करोड, रसुवागढी जलविद्युत् २१ अर्ब र माथिल्लो साञ्जेनको दुई साढे २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । रसुवागढीको अन्तिम चरणको काम सकिएको रसुवागढी जलविद्युत् कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेको भनाइ छ । मध्य भोटेकोशीको पनि अन्तिम चरणको काम भइरहेको आयोजना प्रमुख रामगोपाल शिवाकोटीले बताए । कम्पनीले मध्य भोटेकोशी जलविद्युत् आयोजनालाई तीन चरणमा विभाजन गरी काम गरिरहेको छ, जसमा सुरुङको काम भइरहेको शिवाकोटीले जनाए ।

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन असारमा सक्न निर्देशन

१०२ मेगावाटको मध्य भोटेकोशीको बिजुली प्रसारणका लागि अत्यावश्यक नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न नेपाल विद्युत् प्राधिकरण प्राधिकरणले निर्देशन दिएको छ । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण भइरहेको छ । मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रसारण लाइन अभावमा खेर नजाओस् भनेर प्राधिकरणले प्रसारण लाइनलाई समयमा सक्न भनेको हो ।

बिजुली खेर जान नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ खिम्तीमा ४ सय केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभीए क्षमताको थप पावर ट्रान्सफर्मर जडान जारी रहेको प्राधिकरणको भनाइ छ । कामको प्रगतिबारे जानकारी लिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले शनिबार उक्त क्षेत्रको निरीक्षण गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित टोलीले स्थलगत अनुगमन गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिबारे छलफल गरेको छ । टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम छिटो सक्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दियो ।

‘आयोजना समयमै सकिए मध्यभोटेकोशीको बिजुली सिधै जोड्न सकिने विकल्प देखिएको छ । निर्माण छिटो सक्न आयोजनाका दातृ निकायबाट पनि बारम्बार ताकेता आइरहेको छ, वर्षायाम सुरु हुनुअघि नै जनशक्ति तथा उपकरण थप गरी निर्माणमा तीव्रता दिनुहोस्,’ घिसिङले भने, ‘स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सकौं ।’ रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किमि छ ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×