रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अनुसन्धानमूलक कृति सार्वजनिक भएको छ । अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिक राई डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक मानिन्छन् । गोर्खा बुक्सले प्रकाशित गरेको उक्त कृति काठमाडौंमा सार्वजनिक गरिएको हो ।

राईको यसअघि ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’, ‘पोयट इन किलिङ जोन’ (अंग्रेजी) कवितासंग्रह, ‘सहिदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ र ‘पल्टनेको फोटो’ कथासंग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा ‘नवचेतनाग्रह’ र ‘डायास्पोरा सिद्वान्तः रचना र समालोचना’ नामक ग्रन्थ प्रकाशित छन् । खोटाङको बुइापामा जन्मे हुर्केका राई हाल बेलायतमा बस्दै आएका छन् ।

कृतिबारे बोल्दै समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्त्वपूर्ण ग्रन्थका रूपमा आएको बताए । उनले लेखक राईले युद्धलाई सकारात्मक दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गरे ।

यसैगरी प्राध्यापक विष्णु एस राईले नेपाली वाङ्मयमा नयाँ र महत्त्वपूर्ण युद्धआयाम समेटिएको कृति आएको बताए । ‘अनुसन्धानमूलक यो कृति पीएचडीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘पीएचडी गर्नका लागि चाहिने सबै कुराहरू यस कृतिभित्र छन् । विषय नयाँ र महत्त्वपूर्ण छ ।’ संस्कृतिविद् डा. भक्त राईले कृतिभित्र युद्ध विध्वंश मात्रै नभएर सृजना पनि भएको बताए ।

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथि सुरक्षाविद् सुरेश शर्माले युद्ध कुरुप मात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताए । उनले नेपाली वाङ्मय यस प्रकारको पुस्तक अहिलेसम्म आफूले नपढेको भन्दै पुस्तक अत्यन्तै महत्त्वपूर्ण रहेको विचार व्यक्त गरे ।

प्रकाशित : चैत्र १२, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा ८ को जाँच दिँदै वडाध्यक्ष

रुपा गहतराज

नेपालगन्ज — पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन्– बाँकेको खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरिबे शेष । गत स्थानीय तहको चुनावमा उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी अहिले ४४ वर्षका भए । उनलाई पढ्ने कुतकुतीले छाडेको छैन । समयमा पढ्न नपाएका उनी गएको शैक्षिक सत्रदेखि ज्ञानोदय माविमा कक्षा ८ मा भर्ना भएका हुन् । अहिले खजुरा आदर्श मावि केन्द्रबाट जिल्लास्तरीय परीक्षा दिइरहेका छन् ।

शेषले शिक्षा लिनका लागि उमेर बाधक नहुने भन्दै आफूले पुनः पढ्न थालेको बताए । तीन छोराछोरीसँगसँगै उनी विद्यालय जान्छन् । जेठो छोराले पढ्नमा आफूलाई सघाउने गरेको उनले बताए । परीक्षा आउनुभन्दा एक महिनाअघि घरमा शिक्षक राखेर ट्युसन पढेको उनले सुनाए । ‘त्यही तयारीपछि परीक्षा दिन तम्सिएको छु,’ यो उमेरमा पढ्न कुनै अप्ठ्यारो नलागेको बताउँदै उनले भने, ‘हेरौं, कत्तिको सफल हुन्छु ।’

उनले वैदेशिक रोजगारीका क्रममा कतारमा ११ वर्ष बिताए । विदेशी भूमिमा पढाइलेखाइ नभएकैले धेरै हण्डर खेपे । ‘पढाइ नहुँदा मैले जीवनमा धेरै पटक पछुताउनु परेको छ । विदेश जाँदा झनै खल्लो महसुस गरेको उल्लेख गर्दै उनले भने, ‘सानो हुँदा पढ्न पाइएन । घरपरिवारमा वातावरण मिलेन, अब कक्षा १२ सम्म पढाइ पूरा गर्ने सोचमा छु ।’

अहिले उनी परीक्षा अवधिभरिका निम्ति वडा सदस्यलाई वडाध्यक्षको जिम्मेवारी सुम्पिएका छन् । वडाध्यक्षको कार्यवाहक जिम्मेवारी सुम्पिए पनि बिहान ८ बजेदेखि साढे १० बजेसम्म विद्यालयमा परीक्षा दिएपछि कार्यालय पुग्छन् ।

उनले आफूलाई नेपाली र अंग्रेजीमा समस्या नरहेको बताए । ‘तर, अंकको कुरा आउँदा प्रस्टसँग पढ्न अझै अकमकाउँछु,’ उनले भने, ‘त्यसैले पनि पढ्ने निधो गरेको हुँ । घरमा छोराछोरीले पनि पढ्न सघाउँछन् । त्यसले पनि उत्साह थपेको छ ।’ उनका निम्ति विज्ञान र गणित सबैभन्दा गाह्रो विषय हुन् ।

जनप्रतिनिधि हुन पढाइको कुनै मापदण्ड नभए पनि सरकार चलाउने व्यक्तिका लागि पढाइ जरुरी रहेको अधिवक्ता लोकबहादुर शाहले बताए । ‘जनप्रतिनिधिले आफैं कानुन निर्माण गर्ने भएकाले नीतिगत कुरा बुझ्नका लागि पनि पढाइ आवश्यक छ,’ उनले भने, ‘अरूको भरमा कहिले काहीं गलत निर्णयमा पनि फस्न सकिन्छ । स्थानीय तहमा नागरितादेखि धेरै संवेदनशील विषय हुन्छन्, त्यसैले पनि पढाइ आवश्यक छ ।’

खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले वडाध्यक्षको पढाइप्रतिको मोह देखेर खुसी लागेको बताए । ‘यो पनि एउटा साहस हो, उमेर जति भए पनि पढ्छु, ज्ञान बढाउँछु भन्नु उत्साहप्रद पक्ष हो,’ उनले भने, ‘उहाँ (वडाध्यक्ष शेष) पढ्न चाहेर पनि पढ्न नपाएकाहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।’

प्रकाशित : चैत्र १२, २०७९ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×